काठमाडौँ। नेपाली काँग्रेसका नेता एवं ललितपुर निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार प्रेमकृष्ण महर्जनले आगामी वैशाख २१ गते हुने निर्वाचनमा पार्टीको जित सुनिश्चित गर्न आन्तरिक एकता नै मुख्य बल भएको बताउनुभएको छ ।
ललितपुरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महर्जनले अन्य कुराहरूलाई थाँती राखेर सम्पूर्ण ध्यान आगामी निर्वाचनमा केन्द्रित गर्न आग्रह गर्नुभएको हो । उहँँले पार्टीभित्र बलियो एकता कायम हुनसके काँग्रेसले विगतको जस्तै शानदार सफलता हासिल गर्ने दाबी गर्नुभयो ।
उहाँले पार्टीका नेताहरु र महामन्त्री गगन थापाबीच भइरहेको संवादले देशभर सकारात्मक सन्देश प्रवाह गरेको र यसले कार्यकर्तामा उत्साह थपेको उल्लेख गर्नुभयो ।
कार्यकर्ताहरूलाई चुनावी अभियानमा सक्रिय हुन निर्देशन दिँदै उहाँले माहोल आउँदैमा निर्वाचन नजितिने बताउनु भयो । हरेक वडा र इकाइका साथीहरू घर–घर पुग्नुपर्ने र प्रत्येक मतदातालाई भेट्नुपर्ने बताउनु भयो ।
मतदाताको मन जित्नसके ललितपुरका १, २ र ३ नम्बर क्षेत्रमा काँग्रेसको जित सुनिश्चित रहेको बताउनु भयो । आफ्नो उम्मेदवारी र विकासका योजनाबारे चर्चा गर्दै महर्जनले ललितपुर महानगरपालिकाका मेयर र प्रदेश माननीयहरूले गरेका काम नै आफ्नो जितको मुख्य आधार भएको बताउन भयो ।
महर्जनले भन्नुभयो, ‘२०४८ सालमा कांग्रेसले बहुमत प्राप्त गर्दा होस् वा २०५६ सालमा किसुनजीलाई भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा होमिँदा, एकताकै कारण हामी सफल भएका थियौँ । २०७० सालमा पनि पार्टी एकढिक्का हुँदा हामीले बहुमत हासिल ग¥यौँ । अहिले फेरि देशभर र विशेषगरी ललितपुरमा २०७० सालकै जस्तो लहर आएको छ ।’
आफूलाई पार्टीको एउटा इमानदार ‘सिपाही’ को रूपमा चित्रण गर्दै महर्जनले वरिष्ठ नेताहरूको सद्भाव र कार्यकर्ताको भरोसामा आफू अगाडि बढेको बताउनु भयो । उहाँले भोलि जिम्मेवारी पाउँदा मतदाता र कार्यकर्ताको शिर उच्च राख्ने गरी काम गर्ने प्रतिवद्धता समेत जनाउनु भयो । –न्युज एजेन्सी नेपाल












