काठमाडौँ : लोकप्रिय गायिका रचना रिमाल आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिता प्रत्यक्ष रुपमा हेर्न यतिबेला भारतको मुम्बईस्थित वानखेडे रङ्गशाला पुगेकी छिन् ।
मेरो विश्वकप यात्रा सुरु भएको भन्दै रचनाले चर्चित कमेन्टेटर एन्ड्र्यु लियोनार्डलाई ढाकाटोपी उपहार दिएकी छिन् । रचनाले एन्ड्र्युलाइ केही थान टोपी दिँदै अरु कमेन्टेटरलाई पनि उपहारस्वरुप दिन आग्रह गरेकी छिन् । क्रिकेट मन पराउनेका लागि एन्ड्र्यु लियोनार्ड कुनै नयाँ नाम होइन । लामो समयदेखि कमेन्टेटरका रूपमा नेपाली क्रिकेटसँग एन्ड्र्यु कुनै न कुनै रूपमा जोडिँदै आएका छन् ।
क्रिकेटप्रतिको गहिरो मोह व्यक्त गर्दै उनले विश्वकपलाई केवल खेल मात्र नभई सांस्कृतिक र भावनात्मक सम्बन्धको माध्यमको रूपमा लिएको बताइन्।
विदेशी नागरिक भए पनि नेपालप्रति माया र अपनत्व देखाएका लियोनार्डप्रति आभार व्यक्त गर्दै रिमालले भनेकी छिन् “उहाँलाई भेट्दा आफ्नै देशको मान्छे भेटेझैँ अनुभूति भयो।” उनले विश्वकपको अवसरमा नेपाल र नेपाली संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन पाएकोमा खुसी व्यक्त गरिन्।
राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका अध्यक्ष एब राष्ट्रिय पोशाक घरका संञ्चालक राजानन्द माण्डव्यले रचना मार्फत टोपी उपहार स्वरुप पठाईएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “एन्ड्र्यु नेपालका लागि सद्भाब दुत हुन् उहाले नेपाल र नेपाली र क्रिकेट लगि बिश्व स्तरमा निकै सकारात्मक सन्देश प्रबाह गर्नुभएको छ ।”
लामो समयदेखि कमेन्टेटरका रूपमा नेपाली क्रिकेटसँग उनी कुनै न कुनै रूपमा जोडिँदै आएका छन् । नेपाल जस्ता एसोसिएट देशको क्रिकेटको विस्तार र प्रचारप्रसारमा उनी संलग्न रहँदै आएका छन् । उनी कम्तीमा ३० पल्ट नेपाल ओहोरदोहोर गरिसकेका छन् ।
आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा आज नेपाली राष्ट्रिय क्रिकेट टिमले इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा हुने खेल दिउँसो ३ः१५ बजे सुरु हुनेछ ।












