धनुषा। नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान र मैथिली विकास कोष जनकपुरधामको संयुक्त आयोजनामा ‘प्रादेशिक ललितकला प्रदर्शनी–२०८२’ आजदेखि औपचारिक रूपमा सुरु भएको छ । यसअघि प्राविधिक कारणले स्थगित गरिएको प्रदर्शनी आजदेखि सुरु भएको हो ।
प्रदर्शनीको उद्घाटन गर्दै मधेस प्रदेश प्रमुख डा सुरेन्द्रलाभ कर्णले मधेसका कलाकारहरूले आफ्नो कला, संस्कृति र पहिचानलाई सिर्जनात्मक माध्यमबाट उजागर गरिरहेको भन्दै प्रशंसा गर्नुभयो ।
उहाँले भन्नुभयो, “ललितकला पहिचान र सभ्यताको प्रतिविम्ब हो । मधेस प्रदेशका कलाकारहरूले आफ्ना सिर्जनामार्फत राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रदेशको गौरव बढाइरहेका छन् । यस्ता प्रदर्शनीहरूले प्रतिभा पहिचान र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्छन् ।”
प्रदेश प्रमुख डा कर्णले राज्यले कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा थप ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले मधेस प्रदेशका विभिन्न जिल्लाबाट आएका कलाकारहरूको चित्रकला, मूर्तिकला, हस्तकला तथा समसामयिक कला कृतिहरू प्रदर्शनमा राखिएका र यसले यहाँ पहिचान उजागर गरेको बताउनुभयो । प्रदर्शनीले स्थानीय कला, संस्कृति र मौलिक पहिचानको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको उहाँले बताउनुभयो ।
—












