२५ जेष्ठ २०८३, सोमबार
,
Latest
मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न नयाँ कार्ययोजना, १८ पेट्रोल पम्प अन्यत्रै सारिँदै



अ+ अ-

काठमाडौं। सरकारले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि बृहत् योजना ल्याएको छ । योजनाअन्तर्गत १८ वटा पेट्रोल पम्प सार्नेदेखि २९ स्थानमा ट्राफिक लाइट व्यवस्थापन गर्नेसम्मका विषय समेटिएका छन् । कार्ययोजनाअनुसार उपत्यकका १० ठाउँमा पेडेस्ट्रियन लाइट मर्मत गरिनेछ भने १६ ठाउँमा नयाँ निर्माण गरिनेछ । उपत्यकाका १८ पेट्रोल पम्प अन्यत्रै सारिनेछ । कोटेश्वर–जडिबुटी चोकसम्म खाली ठाउँमा सर्भिस लेन निर्माण गरिने छ भने उपत्यकाका ५१ ठाउँमा सवारीसाधनलाई दायाँ मोड्न निषेध तथा १२४ स्थानमा सीसीटिभी तथा मोबाइल सीसी क्यामरा जडान गरिनेछ ।

मन्त्रिपरिषद्बाट पारित भएर कार्यान्वयन चरणमा रहेका उक्त योजनालाई ‘काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी अल्पकालीन कार्ययोजना २०७६’ नाम दिइएको छ । गत १५ पुसमा बसेको मन्त्रिपरिषद् बैठकबाट पारित योजना कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सम्बन्धित निकायमा पत्राचार गर्दै निर्देशन दिएको छ । प्रधानमन्त्री कार्यालयले गरेको पत्राचार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि उपत्यकाका सबै स्थानीय तहलाई कार्यान्वयन गर्न पत्राचार गर्दै निर्देशन दिइसकेको छ ।

कार्ययोजनामा कुन काम कुन निकायले गर्ने र कति समयभित्र गरिसक्ने भन्ने तोकिएको छ । प्रधानमन्त्री कार्यालयले अर्थ मन्त्रालय, सडक विभाग, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, अन्य नगरपालिका तथा महानगरीय ट्राफिक प्रहरीलगायत सरोकारवाला निकायलाई कार्य योजनामा तोकिएको समयसीमाभित्र कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ ।

  • २९ स्थानमा ट्राफिक लाइट व्यवस्थापन
  • १० ठाउँमा पेडेस्ट्रियन लाइट मर्मत, १६ ठाउँमा नयाँ
  • कोटेश्वर–जडिबुटी सडकको खाली ठाउँमा सर्भिस लेन
  • ५१ ठाउँमा सवारीसाधनलाई दायाँ मोड्न निषेध
  • ११ ठाउँमा पोर्टेबल ओभरहेड ब्रिज
  • १२४ स्थानमा सीसीटीभी तथा मोबाइल सीसी क्यामरा

काठमाडौं उपत्यकामा घन्टौंसम्म ट्राफिक जाम हुने गरेको छ । सर्वसाधारणले ट्राफिक व्यवस्थापन गर्न नसकेको भन्दै आलोचना गर्दै आएको अवस्थामा सरकारले उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन मन्त्रिपरिषद् बैठकबाट निर्णय नै गराएर कार्य योजना ल्याएको हो । कार्ययोजनामा ३७ विषयलाई उच्च प्राथमिकतामा राख्दै कुन निकायले कुन काम कहिलेसम्म गर्ने भनेर किटान गरिएको छ ।

कार्ययोजनामा पेट्रोल पम्प सार्ने, ट्राफिक बत्तीको मर्मत तथा नयाँ जडान गर्ने, पेडेस्ट्रिअन लाइट, खाल्टाखुल्टी पुर्ने, कोटेश्वरको जाम हटाउन विकल्प खोजिने, नदी करिडोरको निर्माणमा तीव्रता दिने, जथाभावी होर्डिङ बोर्ड र पोल हटाउने, सार्वजनिक सवारी साधनमा पिक एन्ड ड्रप प्रणाली लागू गर्ने, युटर्न गर्न नदिने, वान वे बढाउने, फुटपाथ व्यवस्थापन गर्ने, रेलिङ निर्माण गर्ने, जेब्राक्रस मर्मत तथा नयाँ निर्माण गर्ने, सडक लेनको मार्किङ गर्ने, सीसीटिभी तथा मोबाइल सीसी क्यामरा जडान तथा मर्मत गर्ने, ओभर हेड ब्रिज निर्माण गर्नेलगायतका विषयलाई समेटिएको छ ।

सरकारले असार मसान्तसम्म काम सम्पन्न गर्ने लक्ष्य राखेर अघि सारेको कार्ययोजनामा माघ मसान्तभित्र काठमाडौं उपत्यकाका सबै सडकका खाल्टाखुल्टी पुर्न निर्देशन दिएको छ । कामको जिम्मेवारी निकायमा सडक विभाग, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र अन्य नगरपालिकालाई तोकिएको छ । कार्ययोजनामा उपत्यकाका २९ ठाउँमा ट्राफिक बत्ती राख्न निर्देशन गरिएको छ । काठमाडौंका १२ स्थानमा भने पुसभित्र ट्राफिक बत्ती सञ्चालनमा ल्याउन निर्देशन दिएको छ ।

बानेश्वर, सिंहदरबार, गौशाला, महाराजगन्ज चोक, कालिमाटी, तिनकुने, पद्मोदय चोक, पुतलीसडक, बागबजार, पुरानो बानेश्वर र मित्रपार्कमा रहेका ट्राफिक लाइट पुसभित्र सञ्चालनमा ल्याउन भनिएको छ । सडक विभाग, महानगरीय ट्राफिक प्रहरी, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, अर्थ मन्त्रालयलाई जिम्मेवारी दिइएको छ । काठमाडौं उपत्यकामा असारभित्र स्मार्ट प्रविधि सुरुवात गर्नुुपर्ने कार्ययोजनामा उल्लेख छ । सरकारले काठमाडौं उपत्यकाका १० ठाउँमा रहेका पेडेस्ट्रियन लाइटको मर्मत र १६ ठाउँमा नयाँ राख्ने योजना अघि सारेको छ ।

यस्तै, सरकारले काठमाडौं उपत्यकामा सञ्चालित १८ पेट्रोल पम्पलाई सार्ने भएको छ । कार्ययोजनामा नेपाल आयल निगम र सडक विभागलाई तत्कालै यो काम सुरु गर्न निर्देशनसमेत दिएको छ । कार्ययोजनाअनुसार निगम र विभागलाई बज्रबाराही पेट्रोल पम्प (चापागाउँ), बालकुमारी पेट्रोल पम्प (चापागाउँ), टीकाभैरव डिजेल स्टोर (चापागाउँं), कनक पेट्रोल पम्प (कालिमाटी), कोत थुकु पेट्रोल पम्प (बालाजु), जयन्ती पेट्रोल पम्प (थापाथली), मायाराम भोलाराम पेट्रोल पम्प (थापाथली), बाबा पेट्रोल पम्प (कलंकी), श्यामा पेट्रोल पम्प (कलंकी) लाई अन्यत्र सार्न निर्देशन दिएको छ ।

यस्तै, त्रिशूल पेट्रोल पम्प (कलंकी), भ्याली रिकेश पेट्रोल पम्प (कोटेश्वर), कामाख्या पेट्रोल पम्प (कोटेश्वर), जुबी पेट्रोल पम्प (बौद्ध), बराल पेट्रोल पम्प (बौद्ध), साझा पेट्रोल पम्प (जावलाखेल), एचपी इन्टनेसनल (जावलाखेल), गायत्री पेट्रोल पम्प (जावलाखेल) र सीता पेट्रोल पम्प (महाराजगन्ज) पनि अन्यत्र सर्ने सूचीमा छन् । सरकारले उपत्यकाको ट्राफिक व्यवस्थापन सहज गराउन भन्दै कोटेश्वरको जाम हटाउने र काठमाडौं उपत्यकाका नदी करिडोर व्यवस्थित गर्ने कार्ययोजना पनि ल्याएको छ ।

कार्ययोजनाअनुसार कोटेश्वर चोकबाट जडिबुटी चोकसम्म बायाँतिरको खाली ठाउँमा सर्भिस लेन वैशाखभित्र विस्तार गर्ने, जडिबुटी चोकमा रहेको एउटा कच्ची घरको मुआब्जा दिई हटाउने, जडिबुटी चोकबाट निर्माणाधीन मनोहरा पुलसम्म जान दुवैतर्फ सर्भिस लेन विस्तार गर्ने तथा कोटेश्वर चोकको उपयुक्त स्थानमा अकासेपुल निर्माण गर्ने योजना समेटिएका छन् । सरकारले विष्णुमती करिडोर, बाग्मती करिडोर, धोबीखोला करिडोर र मनोहरा करिडोरलाई व्यवस्थित र निर्माणलाई तीव्रता दिन जोड दिएको छ ।

सरकारले काठमाडौं उपत्यकाको सडक व्यवस्थापन गर्न सरकारले ट्राफिक जाम बढी हुने ५१ ठाउँमा सवारीसाधनलाई दायाँ मोड्न निषेध गर्ने योजना लिएको छ भने १० ठाउँलाई वान वे बनाएको छ । अन्डरपास खुलेका सबै पुलमाथि ‘राइट टर्न’ गर्न निषेध गर्ने कार्ययोजनामा उल्लेख छ । यस्तै, सरकारले काठमाडौं उपत्यकाको सडक व्यवस्थापन गर्न थप १ सय २४ स्थानमा सीसीटिभी तथा मोबाइल सीसीक्यामरा जडान गर्ने योजनासमेत लिएको छ । सरकारले काठमाडौं उपत्यकाका थप ११ ठाउँमा पोर्टेबल ओभरहेड ब्रिज (अकासे पुल) निर्माण गर्ने योजना पनि बनाएको छ ।

सरकारको कार्ययोजनाअनुसार कोटेश्वर चोक, भिएस निकेतन स्कुलअगाडि (नयाँ बानेश्वर), निजामती अस्पतालअगाडि (नयाँ बानेश्वर), नयाँ बानेश्वर चोक आसपास, काठमाडौं जिल्ला अदालत आसपास (बबरमहल), राष्ट्रिय अभिलेखालय अगाडि (रामशाहपथं), वल्र्ड ट्रेड सेन्टर अगाडि (त्रिपुरेश्वर), कालिमाटी चोक, एयरपोर्ट चोक, थापाथली चोक र चावहिल चोकमा पोर्टेबल ओभरहेड ब्रिज निर्माण गरिनेछ । पुल निर्माण कार्य असार मसान्तभित्र सक्नुपर्ने समयसीमा तोकिएको छ । राजधानी दैनिकबाट