काठमाडौँ । निर्वाचन आयोगले आगामी फाल्गुन २१ गते हुने निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
काठमाडौंमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतपत्र छपाइ सम्पन्न भई ढुवानी शुरु भएको र निर्वाचन सामग्रीहरू तोकिएको समयभन्दा अगावै मतदान केन्द्रमा पुग्ने सुनिश्चितता व्यक्त गर्नुभएको हो ।
निर्वाचन आयोगले आगामी फाल्गुन २१ गतेको निर्वाचनलाई राष्ट्रिय दायित्वका रूपमा लिँदै तयारीका सबै पेचिला चुनौतीहरू पार गरेको बताउनु भयो । उहाँकाअनुसार शुरुवाती दिनहरूमा सामग्री व्यवस्थापनमा केही जटिलता देखिए पनि हाल सबै आवश्यक सामग्रीहरू प्राप्त भइसकेका छन् । आयोगले मतपत्र छपाइको कार्य सम्पन्न गरी सम्बन्धित निर्वाचन क्षेत्र र मतदान केन्द्रहरूमा पठाउने प्रक्रिया शुरु गरिसकेको छ । मतदान अधिकृतहरूले तालिम लिएर कार्यक्षेत्रमा खटिनु अगावै सबै सामग्रीहरू उनीहरूको जिम्मामा पुग्ने गरी कार्यतालिका निर्माण गरिएको भण्डारीले बताउनु भयो । यसपटकको निर्वाचनमा ऐतिहासिक रूपमा ९ लाख ५० हजार नयाँ मतदाता थपिएका छन् । आयोगले यस ठूलो संख्याको व्यवस्थापन र निर्वाचनको निष्ठा जोगाउन सञ्चारकर्मीहरूको भुमिका महत्वपूर्ण हुने भन्दै सत्य र तथ्यपरक समाचार संप्रेषणमा जोड दिएको छ ।
उहाँले भन्नुभयो, ‘अब निर्वाचन सम्पन्न गर्ने प्रयोजनको लागि हिजोसम्म के कसो भन्ने कतिपयको शंका र आशंका सोच थियो भने आज निर्वाचन आयोगले अहिले भर्खरै मैले हाम्रो सह–सचिवज्यू नारायण भट्टराईज्युसँग सोधेँ, ’निर्वाचन सामग्री चाहिनेपर्ने सबै हामीकहाँ आइपुग्यो ?’ भन्दा आइपुग्यो भन्नुभयो। हामीले मतपत्र अन्तिममा गर्ने काम मतपत्र छपाई गरिसक्या छौँ। त्यो मतपत्र सम्बन्धित ठाउँमा पठाउने काम सुरु भइसक्या छ । निर्वाचन सामग्री पनि हामीले तोकेको मितिभन्दा अर्थात् हाम्रो कार्यतालिका भन्दा अगाडि नै सम्बन्धित निर्वाचन क्षेत्र, निर्वाचन मतदान स्थल र मतदान केन्द्रमा पुग्छ अर्थात मतदान अधिकृतहरूले तालिम लिनुभन्दा अगाडि नै यो सबै उहाँहरूले जिम्मा लिएर सम्बन्धित क्षेत्रमा प्रवेश गर्नुहुन्छ भनेपछि निर्वाचनको प्रक्रिया अन्तिम रहेको छ भन्ने कुरो यहाँहरूले बुझ्नुभयो ।’
छिमेकी मुलुक बंगलादेशको उदाहरण दिँदै उहाँले मुलुकको अनुशासनलाई लयमा ल्याउन र लोकतन्त्रलाई बलियो बनाउन निर्वाचन बाहेक अर्को विकल्प नरहेको स्पष्ट पार्नुभयो । निर्वाचनलाई पवित्र र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकाय र सञ्चार क्षेत्रको एकीकृत सहयोगको अपेक्षा आयोगले गरेको छ ।












