काठमाडौं: नेपालका लागि नवनियुक्त चीनका नयाँ राजदूत झाङ् माओमिङ आज काठमाण्डौँ आइपुगेका छन् । उनी नेपालका लागि २३औं चिनिया राजदूत हुनेछन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालय र चिनियाँ दूतावासका अधिकारीहरूले स्वागत गरेका थिए ।
माओमिङले सामाजिक सञ्जालमा लेखेका छन्, नेपालमा आफूले सेवा गर्ने अवसर प्राप्त हुनु गर्वको विषय हो, र नेपाल चीन परस्पर सहयोगका क्षेत्रमा कार्य गर्न आफू निकै इच्छुक रहेको छु ।
उनले सामाजिक संजाल एक्समा नेपाली भाषामै लेखेका छन्: चीन नेपाल मित्रता अमर रहोस् ।
नेपालमा चिनियाँ पूर्वराजदूत चेन सोङ आफ्नो पदावधि सकिनुअघि नै फिर्ता गएका थिए ।
नयाँ राजदूत माओमिङ चिनियाँ परराष्ट्र मन्त्रालयको एसियन अफेयर्स विभागमा उपनिर्देशकका रुपमा कार्यरत रहेको बताइएको छ । उनले राष्ट्रपति रामचन्द्र पौडेललाई आफ्नो कूटनीतिक प्रमाणपत्र पेश गरेपछि औपचारिक रुपमा कार्यभार सम्हाल्नेछन् ।












