१३ असार २०८३, शनिबार
,
Latest
छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गैँडाकोट मेयर कपमा सुदूरपश्चिम सेमिफाइनलमा



अ+ अ-

नवलपरासी।  नवलपरासी (बर्दघाट–सुस्तपूर्व) को गैँडाकोटमा जारी पाँचौँ गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको टोली सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको खेलमा सुदूरपश्चिमले कोशी प्रदेशलाई ६१ रनले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । टस जितेर पहिले बलिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभर खेल्दै छ विकेटको क्षतिमा १६० रनको योगफल तयार पारेको थियो । १६१ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको कोशीले १९ दशमलव एक ओभर खेल्दै १० विकेटको क्षतिमा ९९ रन मात्रै बनाउन सफल भयो ।

सुदूरपश्चिमको सेमिफाइनल यात्रका लागि आशिष तिरुवाले ४७ रनको योगदान दिए । तिरुवाले २८ बलमा चार छक्का र तीन चौका प्रहार गरेका थिए । सुदूरपश्चिमका लागि टेक रावतले २४ बलमा दुई छक्का र तीन चौकासहित ३८, कप्तान किरन ठगुन्नाले २४ बलमा अविजित रहँदै दुई छक्का र एक चौकासहित २८, लोकेन्द्र चन्दले २५ बलमा तीन चौकासहित २० रनको योगदान दिए ।

यस खेलमा कोशी प्रदेशका ज्ञानेन्द्र श्रेष्ठले दुई, श्रवन किस्कु, रोहन शाह, कृतिक कमातले एक÷एक विकेट लिए । कोशीका लागि कृतिक कमातले १७ बलमा एक छक्का र एक चौकासहित १९, गौरव कटवालले २५ बलमा एक छक्का र एक चौकासहित १८ रनको योगफल तयार पारे ।

कप्तान शाकिब हकले १९ बलमा १६, भूपाल दङ्गालले १८ बलमा १३ को योगदान दिँदा अन्य ब्याटरहरुले दोहोरो अङ्क जोड्न सकेनन् । कोशीलाई सस्तैमा समेट्ने क्रममा सुदूरपश्चिमका कैलाश ऐर, सौर्य श्रेष्ठ र लोकेन्द्र चन्दले दुई÷दुई विकेट लिए । आजको खेलमा सुदूरपश्चिमका आशिष तिरुवा ‘म्यान अफ दी म्याच’ घोषित भए । सुदूरपश्चिम प्रदेशले उपाधि भीडन्तमा स्थान सुरक्षित पार्न सोमबार मधेस प्रदेशसँग सेमिफाइनल खेल्नेछ ।

जिल्लाकै ठूलो धन राशिको राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सात प्रदेशबाट सात वटा तथा आयोजक एक गरी आठ वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित रु तीन लाख तथा उपविजेताले रु दुई लाख पुरस्कार पाउनेछन् ।

आयोजक नवजागरण ग्रामीण विकास केन्द्रका अध्यक्ष रामचन्द्र सापकोटाका अनुसार प्रतियोगिताको ‘म्यान अफ दी सिरिज’ले रु २५ हजार तथा उत्कृष्ट ब्याटर, बलर, फिल्डर एवं किपरले रु १५ हजारका दरले पुरस्कार पाउने छन् ।

‘बेस्ट क्याच अफ दी टुर्नामेन्ट’ले रु १० हजार एवं प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ले रु पाँच हजार र नवप्रतिभा खेलाडीलाई विशेष प्रोत्साहन पुरस्कार प्रदान गरिने सापकोटाले जानकारी दिनुभयो । रासस