काठमाडौं । सरकारी तथा निजी अस्पतालले रगतको मनोमानी रकम असुल्दै आएका छन् । सरकारले रगतबापतको मूल्य नतोक्दा अस्पतालको मनोमानी बढ्दै गएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला मातहत रक्त सञ्चार सेवाका लागि अनुमति पाएका अस्पतालले बिरामीबाट मनलाग्दी रकम असुलेका हुन् । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले एक युनिट रगतको १ हजार २ सय रुपैयाँ लिएको कागजात राजधानी दैनिकले फेला पारेको छ । यस्तै, ललितपुरस्थित बीएन्डबी अस्पतालले ९ सय ५० रुपैयाँ प्रतियुनिट लिने गरेको पाइएको छ ।
यस्तै, हिमाल ब्लड ट्रान्सफ्युजन सेन्टरले प्रतियुनिट १ हजार रुपैयाँ लिएको पाइएको छ । वीर अस्पतालले एक युनिट रगतबापत ५ सय ५० रुपैयाँ लिने गरेको पाइएको छ । यस्तै, ग्रिन सिटी गोंगबुले प्रतियुनिट १ हजार ९ सय रुपैयाँ लिएको पाइएको छ । तर, रक्त सञ्चार सेवाले रगतबापत प्रतियुनिट ४ सय ९५ रुपैयाँ लिँदै आएको छ । यस्तै, क्रस म्याच गर्दा थप १ सय ५० रुपैयाँ शुल्क लिने गरेको छ ।

पोकामा संकलन गरिएको रगतको एचआईभी, हेपाटाइटिस बी, हेपाटाइटिस सी, सिफलिस, ब्लड ग्रुपिङ र आरएच टाइपिङ गर्नुपर्ने हुन्छ । यसका लागि पनि शुल्क लिएको पाइएको छ । १५ वर्षअघि प्रतियुनिट ४ सय ९५ रुपैयाँ निर्धारण भएको थियो । यस्तै, क्रस म्याच गर्दा थप १ सय ५० रुपैयाँ तोकिएको थियो । अस्पतालले रगतको मूल्य फरक फरक लिइरहँदा पनि सरकारले नियमन नगरेकाले बिरामी अस्पतालले भने जति मूल्य तिर्न विवश छन् ।
तर, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला रगतबापत रकम नलिएको बताउँछ । प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले कुनै पनि अस्पतालले रगत किनेबापत रकम नलिएको बताए । गुप्ताले एचआईभी, हेपाटाइटिस बी, हेपाटाइटिस सी, सिफिलिसको परीक्षण गर्न रकम लिइएको बताए । देशभरका ३५ वटा सरकारी तथा निजी स्वास्थ्य संस्थाले प्रयोगशालाबाट स्थायी रूपमा रक्त सञ्चार सेवाका लागि अनुमति लिएको पाइएको छ ।
वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, गंगालाल हृदयरोग केन्द्र, कान्तिबाल अस्पताल, कोसी अञ्चल अस्पताल, नारायणी उपक्षेत्रीय अस्पताललगायतले रक्त सञ्चार सेवा दिन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामार्फत अनुमति पाएका हुन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग एमओयू गरेर नेपाल रेडक्रस सोसाइटी मातहत १ सय १० स्थानबाट रक्त सञ्चार सेवा उपलब्ध भइरहेको छ । पछिल्लो तथ्यांकअनुसार २ लाख ७१ हजार ९ सय २२ युनिट रगत संकलन भएको छ । यस्तै, ३ लाख ४५ हजार १ सय ५१ युनिट रगत वितरण भएको पाइएको छ ।
क्र.सं. अस्पताल मूल्य (प्रतियुनिट)
- शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र १,२००
- बीएनबी अस्पताल, ललितपुर ९५०
- हिमाल ब्लड ट्रान्सफ्युजन सेन्टर कमलपोखरी १,०००
- परोपकार म्याटरनिटी एन्ड ओमनस हस्पिटल थापाथली ५३५
- ग्रिन सिटी, गोंगबु १९००
- वीर अस्पताल ५००
सधैं रगत अभाव ?
काठमाडौं उपत्यकामा बिरामीले सहज रूपमा रगत पाउन सकेका छैनन् । अस्पतालमा पुग्दा चिकित्सकले रगत आवश्यक पर्ने भनेपछि जहिल्यै बिरामीका आफन्त झस्किनुपर्ने बाध्यता छ ।केही अस्पतालले रगतको जोहो आफैं गर्ने गरेको बताएका छन् । केन्द्रीय रक्त सञ्चार सेवाका निर्देशक पवनकुमार गुप्ता रक्तदाताको संख्या नबढ्दा रगत संकलनमा केही कमी भएको स्विकार्छन् ।
उनले भने, ‘बिरामीको चाप र अस्पतालको संख्या दिन प्रतिदिन बढिरहेको छ । यसकारण, रगत आपूर्तिमा असहजता आएको हो ।’केन्द्रका अनुसार हाल मासिक ६ देखि ७ हजार युनिट रगत संकलन भइरहेको छ । केन्द्रीय सञ्चार सेवाले व्यक्तिगत रक्तदातालाई सामाजिक कार्यमा सरिक भई रक्तदान गर्न आग्रह गरेको छ । राजधानी दैनिकबाट












