काठमाडौँ । टी–२० विश्वकपको ३१ औँ खेलमा क्यानडालाई ८ विकेटले पराजित गर्दै न्युजिल्यान्डले सुपर–८ मा स्थान सुरक्षित गरेको छ ।
क्यानडाले दिएको १७४ रनको लक्ष्य न्युजिल्यान्डले १५.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। न्युजिल्यान्डको लागि ग्लेन फिलिप्स र रचिन रविन्द्रले अर्धशतकीय पारी खेले । तेस्रो विकेटका लागि दुईले १४६ रनको अविजित साझेदारी गरे । फिलिप्सले ३६ बलमा अविजित ७६ रन बनाउँदा रचिनले ३९ बलमा ५९ रन जोडे ।
बलिङतर्फ क्यानडाका साद बिन जाफर र डिलोन हेलिगरले १–१ विकेट लिए ।
यसअघि चेन्नईस्थित एमए चिदम्बम् मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको क्यानडाले २० ओभरमा ४ विकेटको क्षतिमा १७३ रन बनाएको थियो । उसका लागि १९ वर्षिय युवराज समराले शतक बनाएका थिए । उनले ६५ बलमा ११ चौका र ६ छक्काको सहयोगमा ११० रन जोडे । यससँगै, उनी टी–२० विश्वकपको इतिहासमा शतक बनाउने सबैभन्दा कान्छा ब्याट्सम्यान बनेका छन् । यसअघि पाकिस्तानका अहमद शहजादले २०१४ मा बंगलादेशविरुद्ध २२ वर्ष १२७ दिनको उमेरमा शतक बनाएका थिए । यस्तै, जारी प्रतियोगितामा शतक बनाउने उनी दोस्रो खेलाडी हुन् । यसअघि सोमबार श्रीलंकाका पाथुम निसान्काले १०० रन बनाएका थिए ।
यस्तै, क्यानडाका दीलप्रित बजवाले ३६ रन बनाउदा नवजित थालिवालले १० रनको योगदान दिएका थिए ।
बलिङतर्फ न्यूजिल्यान्डका म्याट हेनरी काइली जेमिनसन, जिम्मी निशम र जाकोव डुफीले एक–एक विकेट लिए ।











