१३ असार २०८३, शनिबार
,
Latest
काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट रास्वपाको महाधिवेशन सम्पन्नः सभापति लामिछानेद्वारा परिपक्व राजनीतिको प्रतिवद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

गैँडा गणना आगामी चैतमा



file photo
अ+ अ-

चितवन। बजेट अभावका कारण गत वर्ष रोकिएको दुर्लभ एकसिङ्गे गैँडा गणना यस वर्ष आनुवंशिक (जेनेटिक) विधि वा हरेकको पहिचान (आईडिबेस)को आधारमा गरिने भएको छ । प्रतिनिधिसभा निर्वाचनपछि आगामी चैत लागेसँगै गणना गर्ने तयारी गरिएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक चार÷चार वर्षको अन्तरमा गर्दै आएको गैँडा गणना गतवर्ष रोकिएको थियो । यसवर्ष बाघ गणनासमेत गर्ने वर्ष परेकाले फरक विधिबाट गैँडा गणना गर्न लागिएको हो । कम खर्च र कम समयमा गर्ने गरी फरकविधि अपनाएर गणना गर्ने तयारी गरिएको जनाइएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार यस अघिका वर्षमा ब्लक छुट्याएर एकै साथ ठूलो सङ्ख्यामा हात्ती र मानवीय जनशक्तिको प्रयोग गरेर गैँडा गणना गरिँदै आएको थियो । यसरी गैँडा गणना गर्दा लामो समय र खर्च लाग्ने भएकाले यसवर्ष फरक विधि अपनाउन लागिएको हो ।

आचार्यले दुईवटा विधिमध्ये कुन विधि अपनाउने भन्ने बारेमा केही दिनमा टुङ्गोमा पुग्ने बताउनुभयो । आनुवंशिक विधिबाट गैँडा गणना गर्दा वैज्ञानिक र दीर्घकालीन दृष्टिले उत्तम हुने उहाँको भनाइ छ । नेपालमा यो विधिबाट हिउँ चितुवाको मात्रै गणना गरिँदै आएको छ ।

विगतमा गणना गर्दै आएको विधिभन्दा कम खर्चिलो र सुरक्षित हुने उहाँको भनाइ छ । विगतमा ब्लक छुट्याएर प्रत्यक्ष गणना विधि प्रयोग गरिँदै आएको थियो । यो विधिबाट गणना गर्दा निकै खर्चिलो र जोखिमपूर्ण हुने गर्छ ।

आचार्यका अनुसार सन् २०२१ मा गैँडा गणना गर्दा रु तीन करोड हाराहारीमा खर्च भएको थियो । सो क्रममा एक जना प्राविधिक हात्तीबाट लडेर गम्भीर घाइते भएका थिए । यसरी गणना गर्दा तीन साता समय लाग्ने गर्दछ । त्यसमा ठूलो सङ्ख्यामा हात्ती लगायतका सवारीसाधनसहित प्राविधिक जनशक्ति परिचालन गर्नुपर्ने हुन्छ । आचार्यले अहिलेसम्म प्रयोग गरिएको प्रत्यक्ष र ‘फोटो आइडी’ विधिबाट भन्दा आनुवंशिक विधिबाट गणना गर्दा वैज्ञानिक आधारमा सबैले मान्ने विधि भएकाले यसतर्फ विभागको ध्यान गएको बताउनुभयो ।

आनुवंशिक विधिबाट गणना गर्दा जनशक्ति परिचालन गरी गैँडाको गोबर (मल) सङ्कलन गरेर प्रयोगशालामा डिएनए परीक्षणबाट सङ्ख्या र लिङ्ग पहिचान गर्ने उहाँले बताउनुभयो । त्यसैगरी आनुवंशिक वा हरेकको पहिचानको आधारमा आइडीबेसमा गणना गर्ने विषयमा बहस भइरहेको छ । यो विधि पनि उत्तम विधि मानिन्छ । जसमा निकुञ्जलाई ब्लकमा विभाजन गरेर त्यसभित्र गैँडाको हुलियाको आधारमा गणना गरिन्छ ।

आचार्यका अनुसार गैँडाको आँखा, नाक, छालाको फोल्डिङ्, छालाको चोट, धब्बालगायत हेरेर गणना गर्ने गरिन्छ । बर्दिया, शुक्लाफाँटा र पर्सा राष्ट्रिय निकुञ्जमा सहजै गणना गर्न सकिने भए पनि चितवन राष्ट्रिय निकुञ्जमा गैँडाको सङ्ख्या धेरै भएकाले गणनामा कठिनाइ हुने गर्छ । यस निकुञ्जलाई विगतमा १८ वटा ब्लकमा विभाजन गरेर गणना गर्ने गरिएको थियो । नयाँ विधि अपनाउने भएमा सोही ब्लक वा फरक बनाएर पनि गणना गर्न सकिने आचार्यले बताउनुभयो । पुरानो विधिबाट गर्दा एउटै टोलीले सबै ठाउँमा गणना गर्छ भने नयाँ विधिबाट गर्दा ब्लक–ब्लकमा फरक टोलीले गणना गर्ने गर्दछ ।

गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने जनाएपछि गैँडा गणना रोकिएको थियो । यस वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कार्यक्रममा केही बजेट विनियोजन गरेर गणना गर्न लागेको हो । सन् २०२१ को गैँडा गणनामा देशभरका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रमा ७५२ गैँडा फेला परेका थिए ।

सन् १९६० को दशकमा गैँडाको सङ्ख्या घटेर करिब १०० को हाराहारीमा झरेको थियो । नेपालमा सन् १९५० को दशकमा ८०० गैँडा रहेको अनुमान गरिन्छ । सन् २०२१ को गणनामा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४, बर्दिया राष्ट्रिय निकुञ्जमा २९ गैँडाको सङ्ख्या वृद्धि भएर ३८ र शुक्लाफाँटमा १८ पुगेको थियो । रासस