२४ जेष्ठ २०८३, आईतवार
,
Latest
जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एआईले बदल्दै गहना उद्योग



Jewellery designed by artificial intelligence is exhibited at a booth during the AI Impact Summit in New Delhi on February 17, 2026. (Photo by Arun SANKAR / AFP)
अ+ अ-

एजेन्सी । कृत्रिम बौद्धिकता (एआई) ले भारतको परम्परागत गहना उद्योगमा नयाँ मोड ल्याएको छ । नयाँदिल्लीमा आयोजित विश्वव्यापी एआई शिखर सम्मेलनको प्रदर्शनी कक्षमा चम्किएको भगवान् कृष्णको आकारमा बनेको सुनको ब्रोच हस्तकला मात्र नभई, प्रविधि र परम्पराको सङ्गमको प्रतीक बनेको छ । उक्त ब्रोच भारतीय कारिगरहरूले हातैले निर्माण गरेका भए पनि यसको विस्तृत डिजाइन एआईले तयार पारेको थियो ।

तेइस वर्षीय सिद्धार्थ सोनीले सन् २०२३ मा सह–स्थापना गर्नुभएको आइडिया ज्वेलरीमार्फत एआई–डिजाइन गरिएका गहनाहरू उत्पादन गर्दै आउनुभएको छ । उहाँले एएफपीसँग भन्नुभयो, “परम्परागत तरिकाले यस्ता गहनाहरू बनाउन छ–सात महिना लाग्ने गथ्र्यो, तर एआईद्वारा तयार ब्लुप्रिन्ट र थ्रीडी–प्रिन्टेड मोल्ड प्रयोग गर्दा एक हप्तामै तयार गर्न सकिन्छ, हलमार्किङका लागि केही थप समय आवश्यक पर्छ ।”

सोनीको यो स्टार्टअप हैदराबादस्थित दशकौँ पुरानो पारिवारिक व्यवसायबाट विकसित भएको हो । उहाँका बुबा र हजुरबुबा करिब ३० वर्षदेखि गहना उद्योगमा सक्रिय हुनुहुन्छ । नयाँ प्रविधिप्रति उत्साह देखाउँदै उहाँका बुबाले यसलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने इच्छा व्यक्त गर्नुभएको छ, ताकि संयुक्त राज्य अमेरिका लगायतका मुलुकका खुद्रा विक्रेताहरूले कस्टम एआई–डिजाइन गरिएका भारतीय गहनाहरू बिक्री गर्न सकून् । तर अनुभवी कारिगरहरू भने एआईले कलात्मक मौलिकता हराउने चिन्तामा छन् । “हामीले कलाको रूप गुमाउँदैछौँ”, सोनीले भन्नुभयो, “तर समयसँगै अगाडि बढ्नु अनिवार्य छ ।”

एआई शिखर सम्मेलनमा सहभागी टेक उद्यमी र विश्व नेताहरूले अवसरसँगै जोखिमबारे पनि छलफल गरेका छन् । सामूहिक रोजगारी कटौती र मानव विशेषज्ञताको क्षय प्रमुख चिन्ताका विषय बनेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले सम्मेलनले देशका युवाहरूको क्षमता उजागर गरेको बताउँदै प्रविधिमा द्रुत प्रगतिलाई जोड दिनुभएको छ । भारत सरकारले आगामी दुई वर्षभित्र एआई क्षेत्रमा दुई खर्ब डलर लगानी गर्ने लक्ष्य राखेको छ, जसअन्तर्गत डाटा सेन्टर र ऊर्जा पूर्वाधार विस्तार गर्ने योजना छ ।

आइडिया ज्वेलरीले सरकारी अनुदान नपाए पनि प्रमुख सहरका २० खुद्रा विक्रेतासँग सहकार्यको तयारी गरिरहेको जनाएको छ । गुगलको जेमिनीको परिमार्जित संस्करणमा आधारित उपकरणमार्फत ग्राहकहरूले धातु, बहुमूल्य पत्थर र मूल्य दायरा छनोट गरी साधारण पाठ निर्देशनबाट डिजाइन माग गर्न सक्छन् । सो उपकरणले नमूना देखाएपछि विस्तृत थ्रीडी मोडेल उत्पादन गर्छ, जसलाई कारिगरहरूले मूर्त रूप दिन्छन् । केही कामदारहरूले आफ्नो रोजगारी गुम्ने डरले असहज भए पनि हालसम्म एआई–डिजाइन गरिएका गहनाहरू निर्माण गरिरहेका छन् ।

एआईको प्रभाव गहना उद्योगमा मात्र सीमित छैन । एक्सट्रीम जेन एआई नामक स्टार्टअपले दर्जनौँ स्थानीय भाषामा व्यवसायका लागि आवाज–आधारित च्याट उपकरण विकास गरेको छ । संस्थापक पिस बेरीका अनुसार प्रविधि सस्तो र परिष्कृत बन्दै जाँदा विशाल कल सेन्टर उद्योग प्रभावित हुन सक्छ, तर नयाँ रोजगारी र सीपका क्षेत्र पनि खुल्नेछन् ।

त्यस्तै, सोइल डाक्टरले १० राज्यका ५०० खेतमा एआई–आधारित माटो परीक्षण कार्यक्रम सञ्चालन गरेको छ । चिफ अफ स्टाफ वर्तिका गुप्ताले ऐतिहासिक कृषि डाटामा पहुँच पाए किसानलाई लक्षित मल प्रयोगमार्फत लागत घटाई उत्पादन बढाउन सहयोग पुग्ने बताउनुभयो । उहाँका अनुसार, प्रत्येक सिजनमा कम खर्चमा किसानहरूले बढी उत्पादन गर्न सक्नेछन् ।

परम्परागत सीप र आधुनिक प्रविधिबीच सन्तुलन खोज्दै भारतका स्टार्टअपहरूले एआईलाई अवसरका रूपमा अँगालिरहेका छन्, यद्यपि रोजगारी र मौलिकताको प्रश्न अझै बहसकै विषय बनेको छ ।