२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यातायातको चाप घटेसंगै उपत्यकाको वायु प्रदूषणमा कमी



अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारीसाधनका आवागमनमा कमी हुँदा वायु प्रदूषणमा उल्लेख्य कमी आएको छ ।

ग्याल्पो ल्होसारका अवसरमा आज सार्वजनिक बिदा रहेको छ । मङ्गलबार दिउँसो १३ः०० बजेसम्म उपत्यकाको वायु गुणस्तर सूचकाङ्क (एक्युआई) १९१ पुगेको थियो भने आज सोही समयमा घटेर ११४ मा झरेको छ । एयर क्वालिटी इन्डेक्स (एक्युआई) का अनुसार मङ्गलबार काठमाडौँ विश्वकै तेस्रो प्रदूषित सहर भएको थियो । आज भने काठमाडौँ १४ औँ स्थानमा झरेको छ । हाल पाकिस्तानको लाहोर १९३ एक्युआईसहित पहिलो र सेनेगलको राजधानी डकार १९२ एक्युआईसहित दोस्रो स्थानमा रहेका छन् ।

वातावरणविद् भुषण तुलाधारका अनुसार वायु प्रदूषण बढ्नुमा यातायात क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ । “सवारीसाधनको धुवाँले प्रत्यक्ष रूपमा प्रदूषण बढाउँछ । गत माघ १ गतेदेखि इँटाभट्टा सञ्चालनमा आएका छन्, जसबाट निस्कने धुवाँ र धुलो पनि प्रदूषणको अर्को कारण हो”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार फोहोर जलाउने प्रवृत्ति र डढेलोको मौसम सुरु हुनुले पनि प्रदूषण बढ्ने जोखिम हुन्छ । त्यसैले समयमै पूर्वतयारी, पातपतिङ्गर व्यवस्थापन, डढेलो नियन्त्रण तथा सवारीसाधनको धुवाँ परीक्षण र मापदण्डको कडाइका साथ कार्यान्वयन आवश्यक रहेको तुलधारको सुझाव छ ।

प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार सार्वजनिक बिदाका दिन करिब १० प्रतिशतले यातायातको चाप घट्ने गरेको छ । “सार्वजनिक यातायातका कारण प्रदूषण बढ्ने कुरा सत्य हो । विस्तारै विद्युतीय बस (ईभी) को सङ्ख्या बढिरहेको छ, जसले सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ”, उहाँले भन्नुभयो ।

एक्युआईको मापदण्डअनुसार ० देखि ५० सम्म ‘राम्रो’ ९हरियो सङ्केत०, ५१ देखि १०० सम्म ‘सचेत रहनुपर्ने’ (पहेँलो सङ्केत) मानिन्छ । १०१ देखि १५० सम्म ‘अस्वस्थ’ श्रेणीमा पर्छ, जसले विशेषगरी श्वासप्रश्वास र मुटु रोगीलाई असर गर्न सक्छ । १५१ देखि २०० ‘सबैका लागि अस्वस्थ’, २०१ देखि ३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ ।

काठमाडौँ उपत्यकाको वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ अनुसार एक्युआई ३०० भन्दा माथि पुगेको अवस्थालाई सरकारले विपद्का रूपमा मान्ने व्यवस्था गरेको छ । यस्तो अवस्थामा फोहोर जलाउने कार्य रोक्ने, सडक सफाइका लागि ब्रुमर तथा भ्याकुम प्रयोग बढाउने, र बालबालिका, ज्येष्ठ नागरिक तथा बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्ने प्रावधान छ ।

राष्ट्रिय वातावरण नीति, २०७६ ले वायु प्रदूषण न्यूनीकरणका लागि जल, वायु, माटो, ध्वनि तथा अन्य जोखिमपूर्ण प्रदूषण नियन्त्रणसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गर्ने रणनीति अघि सारेको छ । साथै प्रमुख सहर, औद्योगिक क्षेत्र तथा प्रदूषण जोखिमयुक्त स्थानमा गुणस्तर मापन केन्द्र स्थापना गरी वायु, जल र ध्वनि गुणस्तरको नियमित अनुगमन गर्ने उल्लेख गरिएको छ ।