११ असार २०८३, बिहीबार
,
Latest
अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश सुनचाँदीको मूल्य घट्यो रास्वपा महाधिवेशनमा गृहमन्त्री सुधन गुरुङद्वारा मतदान बाढीपहिरोबाट निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा क्षति तातो हावाको लहर कायमै रहने सम्भावना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट प्रदेशसभा खारेजको बहसमा बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुन सक्छ’ साना नदीमा आकस्मिक बाढीको जोखिम, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह महामन्त्री पौडेलको प्रश्न: अन्तर्राष्ट्रिय बजारमा तेल सस्तो, नेपालमा किन अझै महँगो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

आँसु बोकेर परदेश, रोग र पीडा बोकेर स्वदेश फर्किएकी सीता



अ+ अ-

भद्रपुर । परदेश जाने निर्णय रहरले हुँदैन, बाध्यताले हुन्छ । ऋण, गरिबी र सन्तानको भविष्यले जब एकैचोटि थिच्छ, तब आफ्नै माटो छोड्नुबाहेक अरू विकल्प बाँकी रहँदैन ।

मेचीनगर नगरपालिका–८ की सीता थापामगर पनि यही बाध्यताको यात्रामा परदेशिनुभयो । कुबेतदेखि लेबनान र साउदी अरबसम्म फैलिएको उहाँको जीवन यात्रा वैदेशिक रोजगारीको अवसरभन्दा बढी सङ्घर्ष, पीडा र रोगसँगको लडाइँको दस्तावेज बनेर स्वदेश फर्किएको छ ।

सीताको विवाह १६ वर्षकै उमेरमा २०४७ सालमा भयो । किशोरावस्थामै गृहस्थीको जिम्मेवारी सम्हाल्न थाल्नुभएकी सीताले छोटो समयमै मातृत्वको अनुभव पनि गर्नुभयो । एक छोरा र एक छोरीको जन्मसँगै जीवनले नयाँ अर्थ लिँदै थियो । तर उहाँको उमेर २५ वर्ष नपुग्दै श्रीमान्को निधन भयो । श्रीमान् गुमाउँदा सीताले केवल जीवनसाथी मात्र गुमाउनु भएन, उपचारका क्रममा लागेको ऋण पनि उहाँकै काँधमा आइप¥यो ।

श्रीमान्को मृत्युपछि परिवारको सम्पूर्ण जिम्मेवारी सीतामाथि आयो । स–साना छोराछोरी, सासू–ससुरा र घरखर्च—सबै एक्लैले धान्नुपर्ने अवस्था आयो । नेपालमै मजदुरी गरेर ऋण तिर्न र परिवार पाल्न सम्भव नदेखिएपछि उहाँले परदेश जाने कठिन निर्णय लिनुभयो । आफन्तको सहयोगमा भारतको बाटो हुँदै भिजिट भिसामा २०६२ सालतिर सीता कुबेत पुग्नुभयो । कुबेत जान करिब २० हजार रुपैयाँ खर्च भएको थियो, जुन रकम जुटाउन नै उहाँलाई सङ्घर्ष गर्नुपरेको थियो ।

कुबेतमा सीताले घरेलु कामदारका रूपमा काम सुरु गर्नुभयो । मासिक करिब आठ हजार नेपाली रुपैयाँ पारिश्रमिक पाउनुहुन्थ्यो । तर परदेशी जीवन उहाँका लागि सहज थिएन । बिहानदेखि रातिसम्म निरन्तर काम गर्नुपर्ने, पर्याप्त आरामको अभाव, भाषागत कठिनाइ र असुरक्षित कार्य वातावरणसँग उहाँले दिनहुँ जुधिरहनुप¥यो । आफ्नो दुःख व्यक्त गर्ने ठाउँ र भरोसाको आधार नहुँदा मानसिक रूपमा पनि उहाँ कमजोर बन्दै जानुभयो । राम्रो साहु नपर्दा गालीगलौज, अपमान र मानसिक तनाव सहनु परेको अनुभव सीता सुनाउनुहुन्छ । यस्ता कठिन परिस्थितिबीच पनि उहाँले हार मान्नुभएन । चार वर्षसम्मको कुबेत बसाइँमा भोगिएका पीडा र सङ्घर्षकै बीच श्रीमान्को उपचारका क्रममा लागेको ऋण तिर्न भने उहाँ सफल हुनुभयो ।

ऋण तिरेर नेपाल फर्केपछि सीताले स्वदेशमै बस्ने योजना बनाउनुभयो । परिवारसँगै बसेर छोराछोरीको हुर्काइ र शिक्षामा ध्यान दिने उहाँको चाहना थियो । तर समयसँगै छोराछोरी हुर्कंदै गए र उनीहरूको शिक्षा–दीक्षा, खानपान तथा दैनिकीका खर्च क्रमशः बढ्दै गयो । दैनिक जीवन चलाउनकै लागि पनि आर्थिक दबाब बढ्दै जाँदा परिवारको दायित्व घट्नुको सट्टा झन् थपिँदै गयो । नेपालमै सीमित आम्दानीका स्रोतले ती सबै जिम्मेवारी धान्न कठिन भएपछि सीता फेरि पनि परदेशकै बाटो रोज्न बाध्य हुनुभयो । यसपटक भने उहाँले अघिल्ला अनुभवबाट सिक्दै मेनपावरमार्फत कानुनी प्रक्रियाबाट वैदेशिक रोजगारीमा जाने निर्णय गर्नुभयो । सोही क्रममा २०६८ सालमा ६० हजार रुपैयाँ खर्चेर सीता मेनपावर कम्पनीमार्फत लेबनान पुग्नुभयो ।

लेबनानमा उहाँको काम एक वृद्ध आमाको हेरचाह गर्ने थियो । काम तुलनात्मक रूपमा सहज थियो र मासिक करिब १५ हजार नेपाली रुपैयाँ जति पारिश्रमिक पाउनुहुन्थ्यो । सीता स्थिर आम्दानी र कामको सहजताले उनी केही सन्तुष्ट हुनुहुन्थ्यो । तीन वर्षसम्म लेबनानको बसाइँ सामान्य रूपमा चलिरहेको थियो । तर जीवनले फेरि उहाँलाई ठूलो पीडा दियो । लेबनानमै काम गरिरहेको अवस्थामा नेपालबाट आएको खबरले सीताको जीवन फेरि बदलियो । उहाँका किशोर छोरा घरमै असामयिक निधन भएको खबर आयो ।

यो खबर सीताको जीवनकै सबैभन्दा ठूलो आघात बन्यो । आमाका लागि सन्तान गुमाउनु शब्दले व्यक्त गर्न नसकिने पीडा हो । परदेशमा बसेर सुनेको यो दुःखद समाचारले उहाँलाई गहिरो मानसिक चोट पु¥यायो । तीनवर्षे लेबनान बसाइँ पूरा हुन नपाउँदै सीता सबै काम छोडेर नेपाल फर्किनुभयो । घर फर्किएपछि केही समय उहाँ स्वदेशमै बस्नुभयो । शोकको पीडा, परिवारको अवस्था र बाँकी जिम्मेवारी सम्हाल्ने प्रयासमै उहाँका दिन बित्न थाले । छोराको असामयिक निधनको पीडाले मन भारी रहँदा पनि जीवन चलाउनुपर्ने बाध्यता टरेन । यही क्रममा आर्थिक अभाव फेरि पनि उहाँको जीवनमा उपस्थित भयो, जसले सीतालाई पुनः कठिन निर्णयतर्फ धकेल्ने परिस्थिति सिर्जना ग¥यो ।

दुई वर्षपछि सीता पुनः मेनपावरमार्फत साउदी अरब पुग्नुभयो । साउदीमा उहाँले अस्पतालमा क्लिनरका रूपमा काम गर्नुभयो । कामको प्रकृति शारीरिक रूपमा मेहनतिलो थियो र लामो समयसम्म निरन्तर काम गर्नुपर्ने अवस्था रहन्थ्यो । पाँच वर्षसम्म लगातार काम गर्दा परिवारको जिम्मेवारी पूरा गर्नेतर्फ ध्यान केन्द्रित हुँदा आफ्नो स्वास्थ्यप्रति भने पर्याप्त ध्यान दिन नसकेको उहाँ बताउनुहुन्छ । यही क्रममा घाँटीमा समस्या देखाप¥यो ।

प्रारम्भमा सामान्य समस्या ठानेर बेवास्ता गरिए पनि समस्या बढ्दै गएपछि साउदीमै चार महिना उपचार गराउनुभयो तर उपचारबाट अपेक्षित सुधार हुन सकेन । स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि अन्ततः उहाँ नेपाल फर्किनुभयो । नेपाल आएपछि चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा जाँच गराउँदा उहाँलाई दोस्रो चरणको घाँटीको क्यान्सर भएको पुष्टि भयो, जसले सीताको जीवनमा अर्को ठूलो चुनौती थपिदियो ।

क्यान्सरको खबरले सीताको जीवनमा अर्को ठूलो चुनौती थपियो । उपचारका क्रममा हालसम्म १४ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । अझै पनि नियमित उपचार र ‘फलोअप’ का लागि भरतपुर धाउनुपर्ने अवस्था छ । सीमित आम्दानी र स्रोतका बीच थोरै बचत, ऋण तथा आफन्तको सहयोगमा उहाँले उपचारलाई निरन्तरता दिनुभयो । शारीरिक पीडा, मानसिक तनाव र आर्थिक दबाबका बाबजुद पनि उहाँले हार मान्नुभएन । लामो सङ्घर्षपछि उहाँ क्यान्सरमाथि विजय पाउन सफल हुनुभयो । तर उपचारमा लागेको ठूलो खर्च र निरन्तर स्वास्थ्य हेरचाहको आवश्यकताले उहाँको जीवन अझै पनि पूर्ण रूपमा सहज बन्न सकेको छैन ।

मेचीनगर नगरपालिकाले आयोजना गरेको एक अभिमुखीकरण कार्यक्रममा सहभागी हुँदा मात्रै सीताले वैदेशिक रोजगार बोर्डबाट गम्भीर बिरामी उपचार सहयोग पाउन सकिने जानकारी पाउनुभयो तर उहाँका लागि आवेदन गर्ने समयसीमा गुज्रिसकेको थियो । “यो जानकारी मलाई समयमै किन कसैले दिएनरु” भन्ने प्रश्न आज पनि उहाँको मनमा घुमिरहन्छ । यद्यपि, वैदेशिक रोजगार म्यादी बीमाबाट भने सीताले गम्भीर बिरामी बापतको केही रकम पाउन सफल हुनुभयो ।

हाल सीता थापामगर मेचीनगर–८ मै रहेको दुई कट्ठा जमिनमा बनेको सानो घरमा बसोबास गर्दै आउनुभएको छ । उहाँकी कान्छी छोरी हाल रोजगारीका लागि युएईमा छिन् । छोरीकै आम्दानीले अहिले उहाँको उपचार र दैनिकी चलेको छ । “विदेश जानु कसैको रहर होइन, बाध्यता हो,” सीता भन्नुहुन्छ, “तर विदेश जानुअघि धेरै सोचविचार गर्नुपर्छ, आफ्नो स्वास्थ्य र सुरक्षालाई पनि उत्तिकै महत्व दिनुपर्छ ।” सीताको जीवन कथा केवल एउटी महिलाको सङ्घर्षको कथा होइन । यो हजारौँ नेपाली वैदेशिक श्रमिकहरूको साझा यथार्थ हो । युवावस्थामा परदेशमा पसिना बगाउने, परिवारका लागि सपना साँच्ने र उमेर ढल्किँदा रोग, पीडा र आर्थिक अभाव बोकेर स्वदेश फर्किनुपर्ने बाध्यता धेरै नेपालीले भोगिरहेका छन् । सूचना र पहुँचको अभावले उनीहरूको पीडा अझ गहिरो बनेको छ ।

सीता थापामगरको कथा वैदेशिक रोजगारीको चम्किलो पक्षभन्दा परको वास्तविकता हो । ऋण तिर्न परदेश जानुभएकी सीता आफैँ रोगी भएर फर्किन बाध्य हुनुभयो । उहाँको अनुभवले राज्य, समाज र सरोकारवालालाई गम्भीर प्रश्न सोधिरहेका छ– वैदेशिक श्रमिकका लागि समयमै सूचना, स्वास्थ्य सुरक्षा र उपचार सहयोग कति प्रभावकारी छ? सीताको जीवनले एउटा सन्देश दिन्छ–वैदेशिक रोजगारी समाधान मात्र होइन, जिम्मेवारी पनि हो । श्रमिकको श्रमसँगै उसको स्वास्थ्य, सुरक्षा र भविष्यको प्रत्याभूति राज्यले गर्न सके मात्र परदेशको पसिना अर्थपूर्ण बन्न सक्छ । नत्र, सीता थापामगरजस्ता श्रमिकका कथाहरू बाध्यताको इतिहास बनेर पुस्तौँसम्म दोहोरिइरहनेछन् ।