उपत्यकामा अवैधानिक रूपमा नदीजन्य वस्तुको उत्खनन गर्ने कार्यमा रोक लगाइएको छ ।काठमाडौं, भक्तपुर र ललितपुरमा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) र प्रारम्भिक वातावरण परीक्षण (आईई) नगरी अनधिकृत रूपमा नदीजन्य वस्तुको उत्खनन गर्ने कार्यमा रोक लगाइएको हो । बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जनकराज दाहालको संयोजकत्वमा तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुख सम्मिलित अन्तरजिल्ला समन्वय बैठकले अनधिकृत रूपमा (ईआईए) र (आईई) नगरी नदीजन्य वस्तुको उत्खनन गर्ने कार्यलाई नियन्त्रण गर्ने निर्णय गरेको हो ।
बैठकले उपत्यकामा हुने कालोबजारी रोक्न आक्रामक कारबाही थाल्ने निर्णयसमेत गरेको छ । हाल उपत्यकाका नदीमा व्यक्ति तथा संघसंस्थाले आफूखुसी नदीजन्य वस्तुको उत्खनन गरी वातावरणीय जोखिम बढाउने काम गर्दै आएका छन् । त्यस्तो कार्यले भूक्षय हुने तथा सहरको सौन्दर्यसमेत बिग्रने भन्दै सो कार्य रोकिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए ।

अन्तरजिल्ला समन्वय बैठकले पर्यटन वर्षलाई सफल बनाउन सहयोग गर्ने, बजार अनुगमन प्रभावकारी बनाउने, ट्राफिक व्यवस्था र सडक सुरक्षाकेन्द्रित कार्यक्रम गर्ने, नागरिकको सुरक्षालाई मजबुत बनाउने, लगायतका महत्वपूर्ण निर्णय गरेको छ । सीडीओ दाहालले टोले गुन्डाहरूले अनधिकृत रूपमा नदीजन्य वस्तु उत्खनन गरी दुःख दिएको भनी नागरिकबाट गुनासो आएको हुँदा त्यस्ता गुन्डालाई नियन्त्रणमा लिएर कारबाही गरिने निर्णय भएको जानकारी दिए । त्यस्तै, भ्रमण वर्षमा सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै अन्तरजिल्ला समीक्षासमेत भएको छ ।
भ्रमण वर्षलाई सफल बनाउन तीनै जिल्लाका पदाधिकारी सहमत भएका छन् । भ्रमण वर्ष सफल बनाउन, पर्यटकसँग कसरी बोल्ने, कस्तो व्यवहार गर्ने भन्ने विषयमा सम्बन्धित निकाय तथा पदाधिकारीलाई तालिम दिइने जनाइएको छ । त्यस्तै, ट्याक्सीले बढी भाडा लिने र यात्रुलाई दुव्र्यवहार गर्ने विषयलाई पनि नियन्त्रण गरिने भएको छ । त्यसैगरी, तीनवटै जिल्लामा सार्वजनिक जग्गा अतिक्रमणकारीलाई हटाउने निर्णय भएको छ ।
उपत्यकामा सार्वजनिक जग्गा हडपेर बस्नेको संख्या अत्यधिक छ । अतिक्रमण हटाउन स्थानीय तह र राजनीतिक दलसँग पनि सहकार्य गर्ने निर्णय भएको छ ।त्यस्तै, बैठकले उपत्यकामा बढ्दै गएको सडक सुरक्षा र ट्राफिक व्यवस्थापनलाई समेत प्रभावकारी बनाइने निर्णय गरेको छ । ट्राफिक सचेतना कार्यक्रममा विद्यालय र संघसंस्थामा गई तालिम सञ्चालन गरिने भएको छ ।
सडक मर्मतको काम अगाडि बढाउने र भत्केका सडक मर्मत गर्न आवश्यक पहल गर्ने निर्णयसमेत बैठकले गरेको छ । बैठकमा ललितपुरका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेय, भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे तथा जिल्लाका सबै सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए ।
- बजार अनुगमनलाई प्रभावकारी बनाउने
- कालाबजारीलाई कडा कारबाही गर्ने
- सेवाप्रवाह प्रभावकारी बनाउने
- तीनै जिल्लालाई बिचौलिया निषेधित घोषणा गर्ने
- टोले गुन्डाहरूलाई कारबाही गरिने राजधानी दैनिकबाट












