२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

हल्लाको पछि नलागौँ, यो सरकारलाई समयमै चुनाव नगर्ने छुट छैनः गृहमन्त्री



अ+ अ-

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न निर्वाचनका लागि नेपाल सरकारले सुरक्षा व्यवस्था मजबुत बनाएको बताउँदै निर्धक्क भएर मतदान गर्न सबै मतदातालाई आग्रह गर्नुभएको छ ।

आज रासससँग कुराकानी गर्दै उहाँले भन्नुभयो “सरकारको प्रमुख प्राथमिकता नै तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु हो । त्यसैले निष्पक्ष निर्वाचनका लागि अपरिहार्य मानिएको सुरक्षा व्यवस्था चुस्त र बजबुत बनाएका छौँ । सबै मतदातालाई निर्धक्क र ढुक्क भएर शान्तिपूर्ण रुपमा मतदान गर्न आग्रह गर्दछौँ ।”

सरकारले निर्वाचन प्रहरी छनौटदेखि लिएर नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी खटाउने काम गरेको र धेरै पहिलेदेखि नै एकीकृति सुरक्षा योजना लागू गरेर त्यसै बमोजिम सुरक्षा संवेदनशीलताका आधारमा देशैभरि सुरक्षा व्यवस्थालाई सुदृढ र सबल बनाइएको उहाँले बताउनुभयो ।

मन्त्री अर्यालले निर्वाचनसम्बन्धी कमाण्ड पोष्ट केन्द्र, प्रदेश तथा जिल्ला स्तरमा रहेर काम गरिरहेको, एकीकृत सुरक्षा योजनाले परिकल्पना गरेका संयन्त्रहरु मार्फत् सोही बमोजिम निर्वाचन सेलहरु परिचालन गरिएको र गृह प्रशासनले दिनहुँजसो अवस्था, आवश्यकता र चुनौतीहरुको विश्लेषण गरेर सुरक्षालाई केन्द्रमा राखेर काम गरिरहेको जानकारी पनि दिनुभयो ।

एक प्रश्नको जवाफमा हालै देखिएका केही छिटपुट झडप लगायतका घटनाले निर्वाचनलाई कुनै असर नगर्ने उहाँको भनाई थियो । ती घटनाहरु नियन्त्रणभित्रै रहेका र चुनावलाई असर नपार्ने किसिमले गृह प्रशासनले ‘ह्याण्डल’ गरिरहेको जानकारी उहाँले दिनुभयो । मन्त्री आर्यालले गत भदौको जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दी एवं लुटिएका हतियारहरु अब सुरक्षा चुनौती नरहेका पनि स्पष्ट गर्नुभयो ।

उहाँले भन्नुभयो “धेरैजसो हतियार र भागेका कैदीबन्दी फिर्ता गरिसकेका छौँ । जेजति बाहिर हुनुहुन्छ उहाँहरुलाई पनि फिर्ता गराउन पहिला भन्दा अझ बढी मेहनत गरिरहेका छौँ । सबैतिर सुरक्षाकर्मी परिचालित छन् र सरोकारवालाहरुलाई पनि त्यस्तो कुनै सूचना भएमा दिन अनुरोध गरेका छौँ । भागेकाहरुले बाहिर गएर फेरि अपराध गरेका तथा ती हतियार प्रयोग गरेका सूचना अहिले आएको छैन । अब त्यस खालको असुुरक्षाको भय छैन ।”

एक अर्काे प्रश्नमा मन्त्री अर्यालले फागुन २१ गते निर्वाचन नगर्ने छुट सरकारलाई नरहेको पनि स्पष्ट गर्नुभयो । यो सरकार विशेषतः चुनावी सरकार रहेकाले सोही बमोजिम निर्वाचनलाई नै पहिलो प्राथमिकतामा राखेर काम गरेको बताउँदै संविधानले नै संसद विघटन भएको ६ महिना भित्र चुनाव गर्नुपर्ने व्यवस्था गरेकाले सरकार या कोही पनि यो चुनावबाट भाग्ने या पञ्छिने कुरै नआउने बताउनुभयो ।
उहाँले भन्नुभयो “यो निर्वाचन हाम्रो एक प्रकारको निष्ठाको जाँच नै भन्दा हुन्छ । हामीले समयमै निष्पक्ष निर्वाचन गराउने र निर्वाचित सरकारलाई प्रजातान्त्रिक प्रक्रियाबाट सत्ता हस्तान्तरण गर्ने सपथ खाएका छौँ । चुनाव सार्ने या सर्ने भन्ने नै हुँदैन । सबै खाले परिस्थितिलाई काबुमा राखेका छौँ र निर्वाचन सम्पन्न गर्ने सम्पूर्ण प्रक्रिया पनि पूरा गरिसकेका छौँ । अब मतदानका पनि धेरै दिन बाँकी छैनन् । त्यसैले चुनाव नहुने भन्ने आशङ्का या भय कसैले पनि पाल्नुहुँदैन ।”

उहाँले जसले निर्वाचन सार्ने भास्य बनाउँछ र त्यसखालको परिस्थिति निर्माण गर्न खोज्छ त्यस्तो प्रवृत्तिलाई मुलुकको राज्य संयन्त्रले निस्तेज पार्ने र जनताको साथ र सहयोगका साथ अघि बढ्ने पनि बताउनुभयो ।

मन्त्री अर्यालले भन्नुभयो “यो सरकार संवैधानिक रिक्ततालाई परिपूर्ति गर्ने र संवैधानिक व्यवस्थालाई पूर्ण रुपमा बहाली गर्ने प्रयोजनले आएको सरकार हो । यो राज्यको एक अत्यन्तै फरक परिस्थितिले जन्माएको सरकार हो । राष्ट्रपतिजीले फागुन २१ मा नै निर्वाचनको मिति तोक्नुको कारण पनि संसद विघटन भएको छ महिनाभित्र निर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधानअनुरुप नै हो । हामीले संविधानको रक्षा गर्ने र संविधान अनुसार चल्ने सपथ खाएका छौँ । त्यसैले हामीले खाएको निष्ठा जाँचिने गरी नै काम गर्नुपर्छ र समयमै निर्वाचन सम्पन्न गर्नुपर्छ । यसबाट हामी या कोही पनि दायाँबायाँ हुने छुट नै छैन ।”

यो सरकार विधिको शासन बहाली गर्ने, सुशासन बहाली गर्ने, जनतालाई दिनुपर्ने सेवा प्रवाहको अवस्थालाई अझ सुदृढ गर्ने र जनताको मन जित्ने बाटोबाट अगाडि बढेको जानकारी दिँदै मन्त्री अर्यालले सरकारले कुनै शासक नभएर सहजकर्ताका रुपमा राज्यस्तरमा समन्वयात्मक रुपमा काम गरिरहेको पनि बताउनुभयो ।

मन्त्री अर्यालले यो सरकार बनेको भोलिपल्ट देखि नै निर्वाचन आयोगलाई सम्पर्क गरेर मतदाता नामावली अद्यावधिक लगायतका कामबाट निर्वाचन प्रक्रिया सुरु गरेको स्मरण गर्दै अब मतदानको दिन आइसकेकाले जनताले निर्धक्क भएर मतदान गर्न उहाँले आग्रह गर्नुभयो ।

जसरी राज्यमा सिर्जना भएको विशेष परिस्थितिमा यो सरकार बन्यो, त्यस्तै त्यस्तै विशिष्ठ परिस्थितिमा यो निर्वाचन हुन गइरहेको बताउँदै समयमै निर्वाचन सम्पन्न गरेर निर्वाचित प्रजातान्त्रिक सरकारलाई सत्ता हस्तान्तरण गर्न सबैले आ–आफ्ना स्थान र कामबाट सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

भदौ अन्तिम साताको जेनजी आन्दोलनको त्यो परिस्थतिबाट सबै राजनीतिक दल तथा सरोकारवालाहरुको सहमतिमा निर्धक्कसँग मतदान गर्नसक्ने आजको दिनको अवस्था निर्माण गर्न तथा त्यस्तो असहज अवस्थामा पनि राजनीतिक सहमतिका माध्यमबाट सबैलाई निर्वाचनमा जान तयार पार्न यो सरकारले निकै मेहनत गरेर निर्वाचन सफल बनाउने कामलाई अर्जुनदृष्टि दिँदै आएकाले आसन्न निर्वाचनको विशेष महत्व रहने उहाँको भनाई थियो ।

यस्तो असहज परिस्थितिमा पनि समयमै सम्पन्न हुन गइरहेको आसन्न निर्वाचनलाई विश्वले नै हेरिररहेको पनि उहाँले बताउनुभयो । यो निर्वाचनले सही पात्र छनौट गर्ने र प्रजातान्त्रिक प्रणालीलाई थप सुदृढ र समावेशी बनाउने भएकाले यस निर्वाचनमा शान्तिपूर्ण र अहिंसात्मक रुपमा सहभागी भई निर्धक्क भएर मतदान गर्न सबै देशवासीसँग उहाँको आग्रह थियो ।

आज भद्रकाली प्लाजास्थित रासस केन्द्रीय कार्यालयमा आउनुभएका मन्त्री अर्यालले राससको समाचार उत्पादन तथा वितरण प्रणालीको अवलोकन गरी जानकारी लिनुभएको थियो । रासस