२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
तपाईं के खोज्दै हुनुहुन्छ ?

९ राजनीतिक दल र १ हजार ३ सय ८९ उम्मेदवारले ल्याए निर्वाचन खर्चका लागि बैंक खाता सञ्चालनमा



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोग ले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन खर्च बैंक खातामार्फत नगर्ने राजनीतिक दल तथा उम्मेदवारलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

आयोगले बैंक खाता नखोली वा खाता खोलेर पनि बैंकिङ कारोबार नगरी खर्च गर्ने दल वा उम्मेदवारलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको आधारमा प्रचलित कानुनअनुसार कारबाही गरिने स्पष्ट पारेको हो ।

आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जारी गरिएको निर्वाचन आचारसंहिताको दफा १६ मा निर्वाचन खर्चसम्बन्धी स्पष्ट व्यवस्था गरिएको छ । सो व्यवस्थाअनुसार उम्मेदवारहरूले उम्मेदवारी दर्ता गर्दाकै समयमा आफ्नो अनुमानित निर्वाचन खर्च र त्यसको स्रोत खुलाउनुपर्ने प्रावधान छ ।

उम्मेदवारले निर्वाचन खर्च सञ्चालनका लागि बैंकमा छुट्टै खाता खोल्नुपर्ने, उक्त खाता सञ्चालनका लागि छुट्टै पदाधिकारी तोक्नुपर्ने तथा खातामा आएको सम्पूर्ण रकम र गरिएको खर्चको बिल–भरपाई सुरक्षित राख्नुपर्ने व्यवस्था गरिएको घिमिरेले जानकारी दिए । २५ हजार रुपैयाँभन्दा बढी रकम प्राप्त गर्दा अनिवार्य रूपमा बैंक खातामार्फत मात्रै कारोबार गर्नुपर्ने व्यवस्था रहेको पनि उनले बताए ।

हालसम्म ९ वटा राजनीतिक दल र १ हजार ३ सय ८९ उम्मेदवारले निर्वाचन प्रयोजनका लागि बैंक खाता सञ्चालनमा ल्याइसकेको आयोगले जनाएको छ । खाता सञ्चालन गर्ने राजनीतिक दलहरूमा नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी, संयुक्त नागरिक पार्टी, मितेरी पार्टीनेपाल जनता संरक्षण पार्टी रहेका छन् ।

यता नेपाल कम्युनिस्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टीराष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका ठूला राजनीतिक दलहरूले भने हालसम्म निर्वाचन खर्चका लागि बैंक खाता सञ्चालनमा नल्याएको आयोगले जनाएको छ ।

निर्वाचन खर्चलाई पारदर्शी र प्रभावकारी बनाउन आयोगले बैंक खातामार्फत मात्रै खर्च गर्न आग्रह गरेको छ । आयोगले बैंक खाता सञ्चालनसम्बन्धी कार्यविधि पनि लागू गरिसकेको छ । कार्यविधिअनुसार प्रत्येक जिल्लामा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ ।

अनुगमन अधिकृतलाई राजनीतिक दल तथा उम्मेदवारले गरेको खर्च, खर्चको स्रोत तथा सार्वजनिक सम्पत्तिको प्रयोग भए–नभएको विषयमा जानकारी सङ्कलन गर्ने र पेश गरिएको विवरणको निगरानी गर्ने जिम्मेवारी दिइएको घिमिरेले बताए ।

आयोगले तोकेको व्यवस्था उल्लंघन गरी बैंक खाताबाहिरबाट खर्च गरेमा निर्वाचन आचारसंहिताअनुसार कारबाही गरिने स्पष्ट चेतावनी दिएको छ ।