काठमाडाैँ ।राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले आफ्नो ६ वर्षे कार्यकाल चुनौतीपूर्ण भए पनि उपलब्धिमूलक रहेको बताएकी छन्। फागुन २० गते बिदा हुन लाग्नुभएकी उहाँले संसदको गरिमा जोगाउन र संघीयता कार्यान्वयनमा राष्ट्रिय सभाले खेलेको भूमिका ऐतिहासिक भएको बताएकी हुन् ।
उहाँले संसद्मा बिताएका अनुभव, राष्ट्रिय सभाको गरिमा, कानून निर्माणका चुनौती र महिला नेतृत्वका विषयमा आफ्ना धारणा साझा गरिन् । राजनीतिक पृष्ठभूमिबाट आउनुभएकी घिमिरेले बाहिर घण्टौं भाषण गर्ने अभ्यास भए पनि संसद्मा निश्चित समयभित्र धारणा राख्नुपर्ने अनुभव प्रारम्भमा कठिन भएको स्मरण गरिन्। “थोरै समयमा धेरै कुरा भन्नुपर्ने अभ्यासले मलाई संसदीय मर्यादा र अनुशासन सिकाएको छ,” उनले भनिन् ।
आफ्नो कार्यकालको ठूलो हिस्सा कोभिड–१९ महामारीका कारण प्रभावित भएको उनले बताइन्। “हामी निर्वाचित भएर आएको केही समयमै कोभिड सुरु भयो। दुई वर्षसम्म हामीले सोचेजस्तो संसदीय अभ्यास गर्न पाएनौँ। बजेट अधिवेशन र अन्य सत्रहरू पनि छोटो समयमै चलाउनुपर्यो,” उनले भनिन् ।
घिमिरेले राष्ट्रिय सभाले विधेयकहरू अड्काएर नराख्ने र सरकारलाई समयमै जवाफ दिन प्रेरित गर्ने काम गरेको बताइन्। “प्रतिनिधि सभामा मात्र विधेयक दर्ता गर्दा ढिलाइ हुने भएकाले हामीले दुवै सदनमा विधेयक दर्ता गर्ने अभ्यास सुरु ग¥यौँ। राष्ट्रिय सभामा ३८ भन्दा बढी विधेयक समयमै पारित गर्नु हाम्रो सफलता हो,” उनले भनिन्। साथै, राष्ट्रिय सभामा विधेयक ६ महिनाभित्र र प्रतिनिधि सभाबाट आएका विधेयक ६० दिनभित्र टुङ्ग्याउनुपर्ने बाध्यकारी व्यवस्था गरिएको उहाँले जानकारी दिइन् ।
उनले राष्ट्रिय सभामा सत्तापक्ष र प्रतिपक्षबीचको सम्बन्ध सौहार्दपूर्ण रहेको र कानून आजको सत्तापक्षका लागि मात्र नभई भोलि प्रतिपक्षलाई पनि आवश्यक हुने भएकाले विधेयक पारित गर्दा अवरोध नगर्ने अभ्यास गरिएको बताइन् ।
मिडियालाई पनि संसदीय गतिविधिलाई तथ्यको आधारमा प्राथमिकता दिन आग्रह गर्दै उनले भनिन्, “चर्का कुरा, गाली वा संसदीय मर्यादाबाहिरका शब्दलाई मात्र हेडलाइन नबनाउनुहोस्। कामको कुरा गर्नेलाई पनि स्थान दिनुहोस्।”
महिला नेतृत्वप्रति अझै संकुचित दृष्टिकोण रहेको अनुभव सुनाउँदै उनले भनिन् “उपाध्यक्ष वा उपसभामुख पद महिलाकै लागि मात्र हो भन्ने सोच गलत हो। महिला बस्दा अधिकार छैन कि भनेर प्रश्न उठाइन्छ। महिला सांसदहरूले गल्ती गर्दा हतोत्साहित नगर्नुहोस्।”
राष्ट्रिय सभाको आवश्यकता नभएको बहसलाई उहाँले खारेज गर्दै राष्ट्रिय सभालाई संघीयताको प्रतीक बताउनुभयो। “यहाँ महिला, दलित, अपाङ्गता भएका व्यक्ति र विज्ञहरूको प्रतिनिधित्व छ। प्रतिनिधि सभाले गरेका गल्ती सुधार्ने ठाउँ यही हो,” उनले भनिन् ।
उपाध्यक्ष पद सकिए पनि राजनीतिक यात्रा निरन्तर रहने र संसदीय समितिमा उपाध्यक्ष र उपसभामुखको अधिकार विस्तार गर्नुपर्नेमा उनले जोड दिइन्। “यसले पदलाई थप प्रभावकारी बनाउनेछ। आगामी निर्वाचन सफल बनाउन सबैसँग आग्रह गर्दछु,” उनले भनिन् ।












