सप्तरी । राजविराज नगरपालिकामा महिनौदेखि प्रमुख प्रशासकीय अधिकृत अनुपस्थित हुँदा दैनिक कामकाजबाहेक विशिष्ट प्रकृतिका निर्णय र योजनाका काम प्रभावित भएका छन् । प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका श्यामकुमार सिंहले आफ्नो ६ महिनाको अवधिमा झन्डै पाँच महिना कार्यालयमा अनुपस्थित रहँदा नगरपालिकाको दैनिकी कामकाज र सेवा प्रभावित बनेको हो । उनी ६ महिनाअघि सरुवा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा आएका थिए।
तर, उनले कहल्यै नियमित नबस्ने गरेका कारण यस्तो समस्या उत्पन्न भएको नगरपालिका स्रोतले जनाएको छ । ‘प्रमुख प्रशासकीय अधिकृत सिंहले महिनामा २÷४ दिन कार्यालय आउने अनि फेरि काम छ भन्दै हिँड्ने गरेका छन्’, एक कर्मचारीले भने पछिल्लोपटक त दुई महिनादेखि उहाँ आउनुभएकै छैन ।’ नगरप्रमुख शम्भुप्रसाद यादवले लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा दैनिक कामकाजबाहेक आर्थिक कारोबार तथा विकासलगायतका काममा समस्या भएको स्वीकार गरे ।

प्रमुख प्रशासकीय अधिकृत सिंह लामो समय अनुपस्थित रहने गरेकाले समस्या भएको भन्दै तत्कालीन सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र हाल जिम्मेवारी सम्हाल्नु भएका हृदेश त्रिपाठीसम्मलाई जानकारी गराउँदा पनि आश्वासन बाहेक केही नपाइएको नगरप्रमुख यादवको भनाइ छ । सिंह नआउने भए तत्काल अर्को प्रमुख प्रशासकीय अधिकृतलाई पठाई दिन मन्त्रीदेखि मन्त्रालयका सचिवसम्मलाई पटकपटक फोनमार्फत अनुरोध गर्दा पनि यसको सुनुवाइ हुन नसकेको उनले बताए ।
उनले भने, ‘जहिले पनि ६/७ दिनमा व्यवस्था भइहाल्छ भन्ने जवाफ मात्र पाउने गरेको र ६ महिनामा मुस्किलले उनी ३० दिन मात्र उपस्थित भएको नगरप्रमुख यादवको भनाइ छ । स्थानीय तहमा जनप्रतिनिधिसँग काम गर्दा आफूले चाहे जस्तो सहज नहुने हुँदा प्रशासकीय अधिकृत बस्न नरुचाएका होलान, उनले भने, ‘तर उनको रुचिभन्दा पनि यहाँ सेवाग्राहीलाई छिटोछरितो सेवा र विकास निर्माणलाई गति दिने हाम्रो पहिलो प्राथमिकता हो ।’ राजधानी दैनिकबाट












