काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखको उम्मेदवार र अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता विषयमा निर्णय गर्न सकेको छैन । नेकपाभित्र सभामुख र एमसीसी सम्झौता विषयमा विवाद चर्किंदै गएको भए पनि त्यसबारेमा कुनै निर्णय हुन सकेको छैन । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालकबीच यस विषयमा पटकपटक छलफल भए पनि टुंगो लाग्न सकेको छैन ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको नेकपा सचिवालय बैठकले समेत सभामुख र एमसीसीबारे कुनै निर्णय गर्न सकेन । पार्टीभित्र सभामुखका लागि नेकपा स्थायी कमिटीका सदस्य सुवासचन्द्र नेम्वाङ, अग्नि सापकोटा, पम्पा भुषालसहित हालका उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले दाबी प्रस्तुत गर्दै आएका छन् । नेकपा महासचिव विष्णु पौडेलले सभामुख र एमसीसीबारे बैठकमा केही निर्णय नभएको बताए ।

नेताहरूले दाबी गरे पनि त्यस विषयमा टुंगो लगाउन अझै प्रयास जारी रहेको नेकपाले जनाएको छ । नेकपाभित्र सभामुखको उम्मेदवारको विवादकै कारण ४ पुसबाट सुरु भएको संसद्को हिउँदे अधिवेशन स्थगित भएको थियो । गत शुक्रबार बसेको संसद् बैठक सूचना टाँस गरी स्थगित गरिएको थियो । अर्को बैठक १६ पुसमा बोलाइएको छ । तर, पनि सत्तारूढ नेकपाले सभामुखको उम्मेदवार टुंगो लगाउन सकेको छैन ।
यस्तै, एमसीसी सम्झौताबारे स्थायी कमिटी बैठकमै नेताहरू दुई धारमा विभाजित भएपछि त्यस विषयमा निर्णय गर्ने अधिकार सचिवालयलाई दिइएको थियो । तर, सचिवालय बैठकले समेत एमसीसी सम्झौताबारे निर्णय गर्न सकेको छैन । बैठकमा २३ पुसमा बस्ने पार्टी केन्द्र्रीय कमिटी बैठकबारे समेत छलफल भएको छ । नेकपा एकताको २० महिनापछि बस्न लागेको बैठकमा प्रस्तुत गरिने एजेन्डाबारे छलफल भएको छ ।
कुर्सी उस्तै: सत्तारूढ नेकपाको सचिवालय बैठकमा नेताहरू बस्ने शैली परिवर्तन भएको छ । यसअघिका बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पहिलो वरियतासहित अगाडि र दायाँ बायाँ अन्य नेता बस्ने गरेका थिए । तर, आइतबारको बैठकमा फरक दृश्य देखियो । नेकपा अध्यक्षद्वय ओली र दाहाललाई एउटै खालको कुर्सी र समान हैसियतका साथ एउटै रोमा राखिएको छ ।
यसअघिको सचिवालय बैठकले सरकारको काम ओली र पार्टीको काम दाहालले गर्ने निर्णयसँगै बस्ने शैलीसमेत बदलिएको नेताहरू बताउँछन् । पहिला सचिवालय सदस्य बस्ने सोफामा अन्य नेतासँगै दाहालसमेत बस्ने गरेका थिए । तर, आइतबारको बैठकमा ओली र दाहाल समान हैसियतअनुसार अगाडि र दायाँबायाँको सोफामा सचिवालयका अन्य नेता बस्ने व्यवस्था गरिएको हो ।
प्रदेश ३ मा टुंगो लाग्यो नाम र राजधानी: नेकपा सचिवालय बैठकले प्रदेश नम्बर ३ को नाम बाग्मती र राजधानी हेटौंडा बनाउने निर्णय गरेको छ । सचिवालय बैठकले नाम र राजधानी टुंगो लगाउँदै मातहतका कमिटीलाई निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ । यसअघि नेकपाभित्रै प्रदेश ३ को नाम र राजधानी विषयमा विवाद हुँदै आएको थियो । मुख्यमन्त्री डोरमणि पौडेललगायतका नेताले हेटौंडालाई राजधानी बनाउनुपर्ने बताउँदै आएका थिए ।
यद्यपि हेटौंडा पायक नपर्ने भन्दै भक्तपुर, बनेपा, धुलिखेल राजधानी हुनुपर्ने भन्दै केही नेताले लबिङ गरिरहेका थिए । लामो बहस र छलफलपछि पार्टीले नै नाम र राजधानीको टुंगो लगाएपछि यस विषयमा हुँदै आएको विवाद अब साम्य भएको छ । यस्तै, अन्य प्रदेशमा समेत नाम र राजधानीको विषयमा सत्तारूढ नेकपाभित्रै विवाद हुँदै आएको छ । तर, नेकपाले अन्य प्रदेशबारे कुनै निर्णय गरेको छैन । राजधानी दैनिकबाट












