‘नेपाल संगीत उद्योग संघ’ ले प्रदान गर्ने उत्कृष्ट लोकदोहोरी गायिकाको अवार्ड गायिका सरिता कार्कीले हात पारेकी छन् । उनले ‘लाउँछ माया नलाउने होइन नि’ गीतबाट उक्त अवार्ड प्राप्त गरेकी हुन् । एक दशकभन्दा लामो समयदेखि नेपाली लोकगीतका क्षेत्रमा क्रियाशील गायिका कार्कीले पछिल्लो समय एकपछि अर्को गर्दै सफल गीत पस्कँदै आएकी छन् ।
उनले ‘नेपालमा थुप्रै अवार्ड कार्यक्रम आयोजना हुने भए पनि ‘नेपाल संगीत उद्योग संघ ले प्रदान गर्ने अवार्डको विशिष्ट महत्व रहेको बताएकी छिन् । संघले नेपाली गीत संगीतमा योगदान पुर्याउने ६५ विधामा ३ सय २५ जना कलाकारलाई अवार्ड वितरण गरेको छ । नेपालमै पहिलो पटक आयोजना गरिएको उक्त अवार्ड कार्यक्रममा नेपाली आधुनिक, पप, लोक मात्र नभएर विभिन्न भाषा–भाषिका गीतलाई समेत अवार्ड वितरण गरिएको थियो ।

सम्पूर्ण विधाबाट उत्कृष्ट ५ पाँचलाई नोमिनेसनमा राखेर पाँचबाट एक जनालाई अवार्ड प्रदान गरिएको थियो । विभिन्न नेपाली गीतमा आवाज दिने कलाकार, नायक, नायिका, गीतकार, संगीतकार, क्यामेराम्यान, निर्देशकलगायत सबैलाई नयाँ र स्थापित कलाकारलाई छुट्याएर अवार्ड वितरण गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा नेपाली कला संगीतलाई आफ्नो जीवनकालमा पुर्याएको योगदानको लागि दिइने ‘लाइफटाइम एचिभमेन्ट’ अवार्ड ‘मह’ जोडी मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यलाई ५५ हजार ५ सय ५५ नगदसहित प्रदान गरिएको थियो ।












