मुगु । छायानाथ रारा नगरपालिका–१३ का दाउरा नपाउने दुई गाउँमा एक घर एक ग्यास चुलो सहयोग गरिएको छ । दाउराको साह्रै समस्या हुने वडा–१३ का लापु र लह गाउँका ५७ घरधुरीका स्थानीयलाई छायानाथ रारा नगरपालिकाले एक घर एक ग्यास चुलो सहयोग गरेको हो । छायानाथ रारा नगरपालिकाअन्तर्गत गरिबसँग नगरप्रमुख कार्यक्रमअन्तर्गत लापुका २५ घरधुरीका दलित र लह गाउँका ३२ घरधुरी गरी ५७ वटा घरधुरीलाई ग्यासचुलो वितरण गरिएको छायानाथ रारा नगपालिकाले जनाएको छ ।
अन्नभन्दा दाउराको चिन्ताले सधैँ पिरोल्ने गरेको लापु र लह गाउँमा ग्यास चुलो वितरण गरेसँगै त्यहाँका नागरिक खुसी भएका छन् । लापु गाउँकी पाल्ती विकका अनुसार गाउँमै ग्याँस चुलोमा खाना पकाउन पाउँदा स्थानीय दंग भएको बताइन् । उनी भन्छिन्, ‘दाउराको समस्या थियो दाउराको खोजी गर्दै दिन बित्ने र बालबच्चाको बिचल्ली हुने समस्याबाट यहाँका महिलाले मुक्ति पाएका छन् । वर्षौंदेखि धुँवाले आँखा पिरो हुँदासम्म खाना पकाउन बाध्य थियौँ । अहिले ग्याँस चुलोमा खाना पकाउन पाउँदा खुसी छौँ ।’

अर्का स्थानीय गोरा विकका अनुसार आफ्नो वन नभएको र दाउरा ल्याउन छिमेकीको वनमा जाने गरेका थियौँ । एक भारी दाउरा ल्याउन दुई दिन लगाउनुपर्ने बाध्यता थियो । धुँवारहित ग्यास चुलो पाउँदा गाउँका सबै हर्षित भएको बताए । एक वर्षअघि घरदैलो अभियान कार्यक्रमअन्तर्गत लापु र लह गाउँमा जाँदा त्यस क्षेत्रका नागरिकले आफूहरूको जंगल नभएको र दाउराको समस्या प्रमुख भएको जनगुनासो गरेपछि स्थानीय नागरिकलाई सिंहदरबारको अधिकार गाउँमा आएको अनुभूति दिलाउन र दाउराको खोजी गदै समय बर्बाद गर्न नपरोस्, स्वास्थ्य स्थितिमा सुधार आओस्, बालबालीको बिचल्ली नहोेस् भन्ने उद्देश्यका साथ दाउरा नपाउने लापु र लह गाउँका ५७ घरधुरीका स्थानीयलाई एक घर एक ग्यास चुलो वितरण गरी सहयोग गरेको छायानाथ रारा नगरपालिका नगरप्रमुख हरिजंग शाहीले बताए ।
उनका अनुसार गरिबसँग नगरप्रमुख कार्यक्रमअन्तर्गत दाउरा नपाउने दुई गाउँ लापु र लहमा ६ लाख बराबरका ५७ वटा ग्यास, चुलो सहयोग गरेका नगरप्रमुख शाहीको भनाइ छ । नागरिकका समस्यालाई एकै साथ समाधान गर्न नसकिने बताउँदै नगरप्रमुख शाहीका अनुसार क्रमिक रूपमा समस्या समाधान गर्नेतर्फ आफू लागि पर्ने र यस्ता कार्यक्रम अन्य गाउँमा पनि लागू गर्ने बताए । उनले स्थानीयलाई धैर्य गर्न अनुरोध गर्दै समयसमयमा यसरी नै गाउँमा घरदैलो गर्न आइरहने र समस्या समधानका लागि छायानाथ रारा नगरपालिकाले काम गर्ने प्रतिबद्धता जनाए ।
गरिबसँग नगरप्रमुख कार्यक्रमअन्तर्गत गाउँगाउँमा पुगेर नगरबाट सञ्चालित योजना तथा कार्यक्रमको प्रभावकारिताका नागरिकसँगका समस्याबारे जानकारी लिने, योजनाको अनुगमन गर्ने, स्थानीयका गुनासा र सुझाव लिने काम गरिरहेको र समस्या समधान गर्न पनि लागिपरेको नगरप्रमुख शाहीको भनाइ छ ।












