२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान
तपाईं के खोज्दै हुनुहुन्छ ?

 कस्तो हुनुपर्छ आगामी सरकारको परराष्ट्र सम्बन्ध ?



अ+ अ-

काठमाडौँ: भर्खरै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशव्यापी रुपमा नै जनलहर आएपछि देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अब सरकार निर्माणको अन्तिम पहल सुरु गर्दैछ । स्पष्ट बहुमत मात्र नभएर झण्डै दुई तिहाई बहुमत नै नेपाली जनताले रास्वपालाई दिलाएपछि सरकार बनाउने प्रक्रिया अब रास्वपाले थाल्ने भएको हो । रास्वपाको यो जनमतसँगै नेपाली जनतामा भने अब देशमा स्थायित्वको आशा पलाएको छ ।

विसं २०७२ सालमा वर्तमान संविधान जारी भएपछि कुनै पनि राजनीतिक दलले बहुमत हासिल गरेको थिएन । त्यसैले पनि अब आसन्न सरकार समक्ष नेपाली जनताले स्थिर र स्थायी सरकारको अपेक्षा गर्नु स्वभाविकै हो ।

यसकारण पनि रास्वपाले बनाउने सरकार र उसले गर्ने कामको तीव्र प्रतीक्षा गरिएको छ, जुन अस्वाभाविक होइन । परिवर्तनको उज्यालोसहित देशको बागडोर सम्हाल्न लागेको रास्वपाले देशका स्वास्थ्य, शिक्षा, अर्थ, परराष्ट्र लगायतका अनेकन क्षेत्र सुधार गर्ने योजनासहितका वाचाहरू यसअघि सार्वजनिक गरेको पनि छ ।

रास्वपाको वाचापत्रमा ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पहुँचदेखि जलन पीडितको निःशुल्क उपचार तथा विश्वस्तरीय विशेष जलन अस्पताल निर्माण, आर्थिक बृद्धिका खास र अर्थपूर्ण योजना, विकास निर्माणका विभिन्न ढाँचाहरुमा नमूना प्रस्ताव देखि लिएर शिक्षा, डिजीटल नेपालको निर्माण र आइटी क्षेत्रमा गर्न सकिने विभिन्न योजनाहरु पनि सार्वजनिक भएका छन् ।

तर नेपालका आन्तरिक नीति तथा कार्यक्रमहरुमा भन्दा पनि रास्वपासँग नेपाली जनता र विश्व समुदायले नै अपेक्षा गरेको र कौतुहल मानेको विषय चाहिँ परराष्ट्र नीतिको हो । रास्वपा अहिले फरक ढंग, रुप र स्वरुपबाट सत्तारोहण गर्न गइरहेको छ । यहाँ विगत लामो समयदेखि सरकारमा रहेर शासन गरेका नेपाली कांग्रेस, नेकपा एमाले र पूर्व माओवादी अर्थात् अहिलेको नेपाली कम्युनिष्ट पार्टी अब सरकारमा रहने छैनन् ।

नत्र यसअघि त यिनै तीनमध्ये कुनै न कुनै पार्टीले सरकारको नेतृत्व गथ्र्याे र अर्काे एक पार्टी सरकारमा सहभागी हुने गर्दथ्यो । त्यस्तै नेपालमा गणतन्त्रको स्थापना वरिपरि जन्मिएर हुर्किएका केही मधेशवादी दलहरुले यी तीनमध्येका दलले बनाएको सरकारमा सापो हाल्न पुग्ने गर्दथे ।

तर ती कुनै पनि पुराना दल अबको सरकारमा देखिने छैनन् । नत पुराना र सदैव सरकारमा दोहोरिइरहने कुनै कुरुप मुहार नै अबका दिनमा सत्ताको कुर्सीमा देखिने छन् । यसको अर्थ यो हो कि अबको सत्ता विल्कुलै नयाँ हुनेवाला छ ।

त्यसैले पनि अबको विदेश सम्बन्ध र विदेश नीति कस्तो होला भन्ने चासो जनतामा जागेको छ । एक त नयाँ पार्टीले पहिलो पटक अनुभव सम्हाल्दै गर्दाको सत्ता र अर्कातर्फ विश्व समुदायले नै यतिखेर हामीलाई चियाइरहेको अवस्था । नेपालको जेनजी आन्दोलनको चासो र चर्चा विश्वस्तरमै पुगेको छ । नेपालमा पुराना र परम्परागत भनिएका राजनीतिक दलहरुलाई नेपाली जनताले सत्तामा जान अनुमति नदिएको अवस्था छ । त्यसैले सबै नयाँ सांसदहरुसहित रास्वपाले नेपालको सत्ता सम्हाल्दै छ । त्यसैले पनि विश्वले यहाँको सरकारसँग गर्ने सम्बन्ध र नीतिका बारेमा निकै नै चासो राखेको अवस्था छ ।

नेपाल परराष्ट्र सम्बन्धका हिसाबले निकै संवेदनशील अवस्थाको भूमीमा छ । दुई ठूला छिमेकी मुलुकको बीचमा रहेको नेपालको विदेश नीति भनेको असंलग्नता र पञ्चशीलका आधारमा नै तय हुने गरेको छ । नेपालमा सदैव छिमेकी एवं अन्य मित्र राष्ट्रहरुसँगको सन्तुलनको सम्बन्धमा विश्वास गर्दछ । नेपाल आर्थिक रुपमा सम्पन्न मुलुक पनि होइन र नत ठूलो सङ्ख्याको सैन्य या शक्तिशाली हतियार भएको देश नै हो । यसकारण पनि हामी सबैसँगको सुमधुर र सामान्य सम्बन्धका साथै असल छिमेक सम्बन्धमा आधारित परराष्ट्र नीतिमा विश्वास गर्नुपर्दछ ।

अहिलेको विश्व आआफ्ना विदेश नीतिका कारण जोखिममा छ । हालैमात्र इरानमा अमेरिकाले आक्रमण गरेपछिको विश्व मध्यपूर्वको मुद्धामा केन्द्रित भएको अवस्था छ । कुनै न कुनै मुलुक कुनै न कुनै विषयमा विवादमा परेको तथा आन्तरिक समस्यामा जेलिएको अवस्था छ । यस्तो अवस्थामा नेपालले कसै न कसैको समर्थन या विरोधमा आफूलाई उभ्याउनुपर्ने बाध्यता पनि आइपर्न सक्छ । तर त्यसो नगरी नेपालले चाहिँ आफूलाई असंलगन र तटस्थ राख्नु नै उचित हुने देखिन्छ ।

अहिले कुनै एक मित्र राष्ट्रसँग नजिक हुँदा अर्काे कसैले हस्तक्षेप देख्ने, त्यस्तै कुनै नयाँ राजनीतिक परिवर्तन हुँदा कुनै अमुक राष्ट्रले हस्ताक्षेप गर्यो भन्ने प्रचलन लगभग विश्वव्यापी नै छ । त्यसैले यस्तो अवस्थामा नेपालको राष्ट्रियता, सार्वभौमसत्ता, अखण्डता र नेपालीपनको पहिचान र संरक्षणमा सबै शक्ति एक हुनु आवश्यक रहन्छ । आफ्ना आन्तरिक मामिला र विवाद आदि फरक भएपनि सबै शक्तिलाई राष्ट्रियताको सबालमा एकजुट बनाएर लैजान सक्ने गरी रास्वपाको अबको सरकार अघि बढ्नुपर्छ ।

रास्वपाले आफ्नो पार्टीको सरकार बनेमा नेपालको विदेश नीतिका सम्बन्धमा यी मान्यताका साथ अघि बढ्ने प्राथमिकतालाई आफ्नो बाचा पत्रकार रुपमा अघि सारेको छ— नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई सर्वोपरि राख्दै बदलिँदो वैश्विक भू–राजनीति र छिमेकी शक्तिहरूको उदयलाई नेपालको विकासको अवसरमा बदल्न हामी ‘सन्तुलित र गतिशील कूटनीति’ अवलम्बन गर्नेछौँ । छिमेकी मुलुकहरूको रणनीतिक चासो र वैश्विक शक्ति सन्तुलनमा आएको बदलावलाई मध्यनजर गर्दै नेपाललाई ‘बफर स्टेट’ बाट ‘भाइब्रेन्ट ब्रिज’ को रूपमा रूपान्तरण गरी त्रिपक्षीय आर्थिक साझेदारी र कनेक्टिभिटीका माध्यमबाट राष्ट्रिय हित सुनिश्चित गर्ने प्रयास गर्नेछौँ ।

गत दशकमा मित्रराष्ट्र भारतले उल्लेखनीय प्रगति गरेका निम्न क्षेत्रहरूबाट नेपालले पनि लाभ लिनसक्ने गरी विकास साझेदारीको स्वरूपलाई नवीकरण गर्नेछौँ । डिजिटल पब्लिक पूर्वाधार उच्च गतिमा बनेका गुणस्तरीय भौतिक पूर्वाधार, अर्थतन्त्रको औपचारिकीकरण, उत्पादनमूलक उद्योग र सेवा क्षेत्रलाई नेपालका कूटनीतिक नियोगहरूको काम र जिम्मामा अघि बढाउनेछौँ ।

राजनीतिक भागबण्डाको थलो बन्न नदिई प्रत्येक कूटनीतिक नियोगको सक्रियता र नतिजा मापन गर्ने वैज्ञानिक ‘पर्फर्मेन्स अडिट’ प्रणाली सुरु गरी कूटनीतिलाई देशको आर्थिक समृद्धिको बलियो आधार बनाउनेछौँ ।

विश्वको जुनसुकै कुनामा रहेका नेपालीहरूले राज्यको उपस्थिति महसुस गर्न सकून् भन्नका लागि कूटनीतिक सेवालाई ‘सुरक्षा र सुविधा’ केन्द्रित बनाउनेछौँ । दूतावासको लाइनमा बस्नुपर्ने बाध्यता अन्त्य गर्न ‘डिजिटल कन्सुलर सेवा’ को पाइलट प्रोजेक्ट सुरु गरी राहदानी नवीकरण र कागजात प्रमाणीकरणलाई पूर्णतः अनलाइन र झन्झटरहित बनाउनेछौँ ।

विदेशमा रहेका नेपालीहरूको समस्या तत्काल सम्बोधन गर्न परराष्ट्र मन्त्रालयमा २४ सै घन्टा सक्रिय रहने ‘सेन्ट्रल रेस्पोन्स युनिट’ र प्रत्येक नियोगमा स्थलगत उद्धारका लागि ‘द्रुत टोली’ परिचालन गर्नेछौँ । परम्परागत कूटनीतिलाई ‘आर्थिक कूटनीति’ मा बदल्न प्रमुख व्यापारिक साझेदार देशहरूमा ‘इकोनोमिक कन्सुलर’ को संख्या थप गरी निर्यात, पर्यटन र लगानी ‘प्रवद्र्धनमा केन्द्रीत गर्ने छौँ ।

यो नीति सन्तुलित र परिपक्व नै देखिन्छ । यसैका आधारमा बडो संयमित र सन्तुलित भएर रास्वपाले आगामी दिनमा आफ्नो सरकारको विदेश नीतिलाई अघि सार्नुपर्दछ ।