काठमाडौं । भृकुटीमण्डपमा बिहीबारदेखि ‘२७ औँ फ्लोरा एक्स्पो २०८२’ सुरु भएको छ । फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) को आयोजनामा ‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नारासहित मेला सञ्चालनमा आएको हो ।
मेलाको उद्घाटन वागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलले गर्नुभयो । सो अवसरमा उहाँले पुष्प व्यवसाय प्रवर्द्धनका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताउनुभयो । स्मार्ट पुष्प व्यवसाय विकासका लागि चालु आर्थिक वर्षको बजेटमा रकम विनियोजन गरिएको जानकारी दिँदै उक्त बजेट वितरणको प्रक्रिया अघि बढिरहेको उहाँको भनाइ थियो । उहाँका अनुसार सम्बन्धित कार्यविधि अर्थ मन्त्रालयमा पुगेको छ ।
मन्त्री पौडेलले पुष्प व्यवसाय प्रतिस्पर्धात्मक क्षेत्र भएको उल्लेख गर्दै यस क्षेत्रमा लागेका किसानलाई थप प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । विदेशी बजारसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले व्यवसायलाई अझ प्रविधिमैत्री बनाउनु जरुरी रहेको उहाँले बताउनुभयो ।
आयोजकका अनुसार एक्स्पोमा व्यावसायिक ६५, अफिसियल ११, प्रतिस्पर्धा दुई, फुड दुई, ल्यान्डस्केप एक, सेल्फी एक र बीवाईडी ईभी कारसहित गरी कुल ८३ वटा स्टल राखिएका छन् ।
मेलामा सहभागी व्यवसायीहरूले उत्पादन गरेका फूल तथा बिरुवालाई विभिन्न विधामा प्रतिस्पर्धा गराइएको छ । उत्कृष्ट स्टल, उत्कृष्ट ल्याण्डस्केपिङ, उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलंकारिक बिरुवा, उत्कृष्ट आलंकारिक फुल्ने बिरुवा, उत्कृष्ट पुष्प सजावट तथा उत्कृष्ट कट फ्लावर (गुलाफ, जरबेरा र कार्नेशन) लगायत विधामा प्रतिस्पर्धा भइरहेको छ ।उक्त मेला आइतबारसम्म सञ्चालन हुनेछ ।












