संखुवासभा: कर्म-ज्यामु भोटिया फाउण्डेशन (KJBF) को आयोजनामा भोटखोला गाउँपालिकाका विभिन्न गाउँहरूमा सञ्चालित ‘झ्यम्बे भुची’ (दिवा शिशु स्याहार) कार्यक्रम अन्तर्गत शिक्षिकाहरूका लागि आयोजित चारदिने ‘बाल सुरक्षा तथा संरक्षण (safe guarding) तालिम’ सम्पन्न भएको छ।
गत चैत १ गतेदेखि सुरु भएको उक्त तालिममा भोटखोला क्षेत्रका शिशु स्याहार केन्द्रका शिक्षिका (आमाहरू), संस्थाका बोर्ड सदस्य तथा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। तालिमको मुख्य उद्देश्य विद्यालय तथा शिशु स्याहार केन्द्रहरूमा बालबालिकालाई सुरक्षित र मैत्रीपूर्ण वातावरण प्रदान गर्ने, सम्भावित जोखिम तथा दुर्व्यवहारबाट बचाउन संस्थागत क्षमता अभिवृद्धि गर्ने रहेको थियो।
तालिमको समापन समारोहमा बोल्दै संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहाकार लप्ते (नुप्पा) भोटेले भन्नुभयो, “बालबालिकाको सुरक्षा हाम्रो प्राथमिकता हो। यस तालिमले शिक्षिकाहरूलाई बालअधिकार र सुरक्षासम्बन्धी कानुनी प्रावधानबारे जानकारी गराउँदै दिवा शिशु स्याहार केन्द्रहरूमा सुराक्षार्थ व्यवस्था लागू गर्न व्यावहारिक सीप प्रदान गरेको छ।”
समारोहमा प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख सुमन शाक्य, विशिष्ट अतिथि, विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका उपकुलपति डा. रमेश के. ढुंगेल, विशेष अतिथि प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया, अतिथिहरु डीएसपी कुमार प्रसाद मैनाली, शिक्षा विकास तथा समन्वय इकाइका गोपालमान भण्डारी, पत्रकार महासंघ संखुवासभाका कृष्णराज शाक्य, संस्थाका सल्लाहकार जीवनाथ खनाल लगायतको उपस्थिति रहेको थियो।

सहभागीहरूले बाल अधिकार,संरक्षणको आवश्यक्ता उपादेयता तथा नेपालको प्रचलित बाल संरक्षण कानुनबारे जानकारी हासिल गर्नुका साथै शिशु स्याहार केन्द्रमा हुन सक्ने सम्भावित जोखिमको पहिचान र न्यूनीकरणका उपायहरू सिकेको कर्म-ज्यामु भोटिया फाउण्डेशन प्रमुख कार्यकारी निर्देशक पासाङ भोटेले जानकारी दिनुभयो । उहाँका अनुसार संस्थागत ‘सुरक्षण नीति’ तथा ‘आचारसंहिता’ निर्माणका लागि ठोस कार्ययोजना तयार पारियो। बालबालिकामाथि हुने दुर्व्यवहारको सूचना तथा प्रेषण प्रक्रियाबारे व्यावहारिक अभ्यास गरिएको थियो ।
तालिमको सहजीकरण प्रशिक्षक नविन चन्द्र घिमिरेले गर्नुभएको थियो। समापन सत्रमा सबै सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। कर्म-ज्यामु भोटिया फाउण्डेशनले आगामी दिनमा पनि क्षमता अभिवृद्धिसँग सम्बन्धित यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।












