काठमाडौँ। अधिकारीहरूकाअनुसार पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा वर्षासँग सम्बन्धित घटनाहरूमा १७ जनाको मृत्यु भएको छ ।
अन्य ३० जना घाइते भएका छन् । स्थानीय अधिकारीहरू र रेस्क्यु ११२२ का कर्मचारीहरूकाअनुसार भारी वर्षापछि शहरका विभिन्न क्षेत्रहरूबाट हताहतको खबर आएको छ ।
जसले शहरी पूर्वाधारका कमजोरीहरूलाई उजागर गरेको छ । रेस्क्यु ११२२ का कर्मचारीहरूले बताएअनुसार देशको दक्षिणी सिन्ध प्रान्तको प्रान्तीय राजधानी कराँचीको बलदिया टाउन क्षेत्रमा पर्खाल भत्किँदा ११ जनाको मृत्यु भएको छ ।
शहरका अन्य विभिन्न क्षेत्रमा थप ६ जनाको मृत्यु भएको छ । जसमा कायद आबाद क्षेत्रमा घरको छाना भत्किँदा ज्यान गुमाउने एक दम्पती पनि समावेश छन् ।
कराँचीका मेयर मुर्तजा वहाबले सहरमा तिब्र हावाहुरीसहित भारी वर्षा भइरहेको बताउँदै बासिन्दाहरूलाई अनावश्यक आवतजावत नगर्न आग्रह गरेका छन् ।
सिन्धका स्थानीय सरकार मन्त्री नासिर हुसेन शाहले आँधीबेहरीसहितको वर्षापछि कराँचीलगायत प्रान्तभर उच्च शतर्कता (हाई अलर्ट) घोषणा गरेका छन् । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल












