काठमाडाैँ । सर्वोच्च अदालतकी न्यायाधीश शान्तिसिंह थापाले अध्ययन, निष्ठा र अनुशासनलाई सफलताको मूल आधार भएको बताएकी छन् ।
शुक्रवार भक्तपुरमा नेपाल बार एसोसिएसनद्वारा आयोजित कानून व्यवसायी महिलाहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले कानून पेशामा टिक्न र प्रगति गर्न निरन्तर अध्ययन र अनुशासन अनिवार्य रहेको उल्लेख गरिन् । उनले पर्याप्त अध्ययन र पेशागत अनुशासन बिना कानून क्षेत्रमा दीर्घकालीन रूपमा सफल हुन नसकिने स्पष्ट पारिन्।
न्यायाधीश थापाले सफलताको लागि गहिरो अध्ययन, कार्यदक्षता, क्षमता अभिवृद्धि, पेशागत निष्ठा, इमान्दारिता र कडा अनुशासनलाई पूर्वशर्तका रूपमा आत्मसात गर्नुपर्नेमा जोड दिइन्। यी मूल्यहरूलाई व्यवहारमा उतार्न सके जुनसुकै पेशामा पनि आफूलाई सक्षम र स्थापित गर्न सकिने उनको भनाइ थियो।
सम्मेलनमा सहभागीहरूलाई लक्षित गर्दै उहाँले कार्यक्रमलाई केवल औपचारिकतामा सीमित नराखी प्रस्तुत कार्यपत्रहरूमा गहिरो छलफल गर्न र सशक्त निष्कर्ष तथा घोषणापत्र तयार गर्न आग्रह गरिन्। औपचारिक कार्यक्रममा अनुशासन र धैर्यता कायम राख्नु कानून व्यवसायीको पहिलो पहिचान हुने पनि उहाँले स्मरण गराइन् ।
त्यस अवसरमा उनले नेपालको संविधानले अंगीकार गरेको समानुपातिक समावेशिताको सिद्धान्त व्यवहारमा क्रमशः लागू हुँदै गएको उल्लेख गर्दै यसले विभिन्न क्षेत्रमा महिलाको सहभागिता बढाउन महत्वपूर्ण भूमिका खेलेको बताइन् ।












