काठमाडौँ । सरकारले देशभरबाट यात्रु बोकेर राजधानी काठमाडौँ आउने सार्वजनिक सवारीसाधनलाई व्यवस्थित पार्किङका लागि केन्द्रीय बसपार्क (नयाँ बसपार्क) निर्माण गरेको छ । ठूलो लगानीमा निर्माण गरिएको बसपार्क भए पनि अधिकांश सार्वजनिक सवारीसाधन अझै बसपार्क बाहिरबाटै सञ्चालन हुँदै आएका छन् ।
सार्वजनिक यातायात व्यवस्थापन तथा सुधारका लागि काठमाडौँ महानगरपालिकाको पहलमा विसं २०५० मा नयाँ बसपार्क स्थापना गरिएको थियो । तर, हालसम्म पनि केही सवारीसाधन बसपार्क बाहिरै अस्थायी पार्किङ बनाएर सञ्चालन भइरहेका छन् ।
महानगरपालिकाले विसं २०८० जेठ १९ गते सूचना जारी गर्दै ट्राफिक व्यवस्थापन सहज बनाउन असार १ गतेदेखि सबै यात्रुवाहक सवारीसाधनलाई नयाँ बसपार्कभित्रबाटै सञ्चालन गर्न निर्देशन दिएको थियो । उक्त निर्णयपछि केही सवारीसाधन बसपार्कभित्र सरे पनि धेरै सवारीसाधन अझै बाहिरबाटै सञ्चालन भइरहेका छन् ।
मधेस प्रदेशका अधिकांश जिल्लामा जाने सवारीसाधन पशुपति, गौशाला, चावहिल र धोविखोला करिडोरबाट सञ्चालन भइरहेका छन् भने दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र रामेछाप जाने सवारीसाधन कोटेश्वर क्षेत्रलाई अस्थायी बसपार्क बनाएर सञ्चालन गरिँदै आएको छ । त्यसैगरी रसुवा, नुवाकोट र धादिङ जाने सवारीसाधन माछापोखरीबाट तथा मकवानपुर जाने सवारीसाधन बल्खुबाट सञ्चालन भइरहेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमका अनुसार नारायणी पश्चिमतर्फका बसहरू नयाँ बसपार्कबाट सञ्चालन भइरहे पनि नारायणी पूर्व र छोटो दूरीका सवारीसाधनले भने निर्णय पूर्ण रूपमा कार्यान्वयन गर्न सकेका छैनन् । व्यवसायीबीचको अस्वस्थ प्रतिस्पर्धाका कारण पनि समस्या देखिएको उहाँको भनाइ छ ।
ट्राफिक प्रहरीले भने नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाहीलाई कडाइ गरेको जनाएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार लामो दूरीका बसहरू नयाँ बसपार्कबाट सञ्चालन नहुँदा ट्राफिक व्यवस्थापनमा समस्या देखिएकाले निगरानी बढाइएको छ । यातायात व्यवस्था ऐन, २०४९ को दफा ७५ अनुसार नियम उल्लङ्घन गर्ने सवारीसाधनलाई एक हजारदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना गरिँदै आएको छ ।
काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले राजधानीको यातायात प्रणालीलाई व्यवस्थित बनाउन महानगर ट्राफिक प्रहरी, व्यवसायी र मजदुरसँग सहकार्यमा काम गरिरहेको बताउनुभयो । चक्रपथ वरपर रहेका अधिकांश टिकट काउन्टर हटाइसकिएको र बाँकी पनि चाँडै हटाइने उहाँले जानकारी दिनुभयो ।
विसं २०५६ मा लोत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी सञ्चालनमा ल्याइएको नयाँ बसपार्क १६१ रोपनी क्षेत्रफलमा फैलिएको छ, जहाँ ८०० भन्दा बढी सवारीसाधन पार्किङ गर्न सकिने क्षमता छ ।
हाल काठमाडौँ उपत्यकामा करिब १८ लाख सवारीसाधन सञ्चालनमा छन् भने करिब दुई हजार ट्राफिक जनशक्ति परिचालित छन् । सवारीसाधनको बढ्दो चाप र साँघुरा सडकका कारण राजधानीको ट्राफिक व्यवस्थापन दिनप्रतिदिन चुनौतीपूर्ण बन्दै गएको छ ।












