२४ जेष्ठ २०८३, आईतवार
,
Latest
टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

तटस्थतामा अडिग श्रीलङ्का, अमेरिकी प्रस्ताव अस्वीकार



अ+ अ-

कोलम्बो। हिन्द महासागर क्षेत्रमा बढ्दो तनावबीच श्रीलङ्काले आफ्नो तटस्थ नीतिलाई कडाइका साथ पालन गर्दै अमेरिकी लडाकू विमानलाई देशभित्र राख्ने प्रस्ताव अस्वीकार गरेको छ ।

राष्ट्रपति अनुरा कुमारा दिसानायकले शुक्रबार संसद्मा जानकारी दिँदै कुनै पनि पक्षलाई सहयोग पुग्ने खालका सैन्य गतिविधिका लागि आफ्नो भूमि प्रयोग हुन नदिने स्पष्ट पार्नुभयो ।

उहाँका अनुसार अमेरिकाले फेब्रुअरी २६ मा गरेको अनुरोधअनुसार दुई लडाकू विमानलाई मार्च ४ देखि ८ सम्म जिबूटीस्थित आधारबाट मट्टाला अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराई आठवटा जहाजविरोधी क्षेप्यास्त्र राख्ने योजना बनाएको थियो । तर, श्रीलङ्काले आफ्नो तटस्थता कायम राख्न उक्त प्रस्ताव अस्वीकार गरेको उहाँले बताउनुभयो ।

उही दिन इरानले पनि भारतबाट नौसैनिक अभ्यास सकेर फर्किरहेका आफ्ना तीन युद्धपोतलाई कोलम्बोमा पोर्ट कल गर्न अनुमति मागेको थियो । राष्ट्रपति दिसानायकले भन्नुभयो, “यदि हामीले इरानलाई अनुमति दिएको भए अमेरिकालाई पनि दिनुपर्ने अवस्था आउँथ्यो, त्यसैले दुवै पक्षप्रति समान दूरी कायम राख्दै निर्णय लिइयो ।”

मार्चको सुरुमा अमेरिकी सेनाले श्रीलङ्काको दक्षिणी तट नजिकै इरानी फ्रिगेट ‘आइरिस डेना’ लाई टारपीडो प्रहार गर्दा कम्तीमा ८४ जना नाविकको ज्यान गएको थियो । श्रीलङ्काली नौसेनाले उक्त घटनापछि ३२ जनाको उद्धार गरेको जनाइएको छ ।

यसैबीच, अर्को इरानी जहाज ‘आइआरआइएस बुसेहर’ लाई भने मानवीय आधारमा श्रीलङ्काली जलक्षेत्रमा प्रवेश गर्न अनुमति दिइएको थियो । दुई सय १९ सदस्यीय चालक दलको सुरक्षालाई ध्यानमा राख्दै उनीहरूलाई कोलम्बोमा शरण दिइएको बताइएको छ ।

श्रीलङ्काले एकातर्फ आफ्नो प्रमुख निर्यात बजार अमेरिकासँग घनिष्ठ सम्बन्ध कायम राख्दै आएको छ भने अर्कोतर्फ आफ्नो चियाको प्रमुख क्रेता इरानसँग पनि सम्बन्ध सन्तुलित राख्दै आएको छ । यस्तो अवस्थामा बढ्दो क्षेत्रीय तनावबीच तटस्थता जोगाउने नीति नै कोलम्बोको प्राथमिकता बनेको देखिन्छ ।  (रासस/एएफपी)