२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्रीलाई बधाई, खाडीका नेपालीको सुरक्षामा चासो



अ+ अ-

काठमाडौं: उज्यालो नेपाल पार्टीले सुशीला कार्की नेतृत्वको सरकारले मुलुकलाई कठिन अवस्थाबाट सुरक्षित अवतरण गराएको भन्दै बधाई ज्ञापन गरेको छ।

पार्टीका अध्यक्ष कुलमान घिसिङ नेतृत्वको प्रतिनिधिमण्डलले आज बालुवाटारमा भेट गरी प्रधानमन्त्री कार्कीको निष्ठा र प्रतिबद्धताका कारण शान्तिपूर्ण निर्वाचन सम्भव भएको उल्लेख गर्दै प्रशंसा गरेको हो।

निर्वाचन हुनेमा विभिन्न आशंका भइरहेका बेला देशभर एकैपटक स्वच्छ र धाँधलीरहित ढंगले मतदान सम्पन्न गराउन सफल हुनु उल्लेखनीय उपलब्धि भएको उनीहरूको भनाइ थियो।

अध्यक्ष घिसिङले “चुनौतीपूर्ण परिस्थितिमा पनि सफलतापूर्वक निर्वाचन सम्पन्न गराई मुलुकलाई राजनीतिक स्थायित्वतर्फ डोर्‍याउनुभएकोमा हार्दिक बधाई तथा धन्यवाद” व्यक्त गर्दै आफू पराजित भए पनि देश जितेको प्रतिक्रिया दिएका थिए।

प्रधानमन्त्री कार्कीले पनि उज्यालो नेपाल पार्टीले निर्वाचन प्रक्रियामा सक्रिय सहभागिता जनाएर लोकतान्त्रिक अभ्यासलाई सघाएको भन्दै धन्यवाद दिइन्। साथै, पार्टीमा रहेका विभिन्न क्षेत्रका विज्ञहरूले संसदबाहिरै रहेर पनि देशका लागि योगदान दिन सक्ने उल्लेख गरिन्।

यसै क्रममा उज्यालो नेपाल पार्टीले खाडी क्षेत्रमा कार्यरत नेपालीहरूको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएको छ। खाडी क्षेत्रमा बढ्दो द्वन्द्वका कारण लाखौं नेपाली श्रमिक जोखिममा परेको भन्दै तत्काल उद्धार, राहत र कूटनीतिक पहल तीव्र बनाउन माग गरिएको छ।

त्यसैगरी, गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अझै सार्वजनिक नभएकोप्रति पनि पार्टीले आपत्ति जनाएको छ। प्रतिवेदन सार्वजनिक नगर्दा नागरिकमा अन्योल र अविश्वास बढेको भन्दै तत्काल सार्वजनिक गरी जिम्मेवार पक्षमाथि कारबाही अघि बढाउन माग गरिएको छ।

पार्टीले मानवताको आधारमा नेपाली नागरिकको सुरक्षा, पारदर्शिता र न्याय सुनिश्चित गर्न सरकारलाई शीघ्र ठोस कदम चाल्न आग्रह गरेको छ।

उज्यालो नेपाल पार्टीको मागपत्रको पूर्ण पाठ 

मितिः २०८२ चैत ७
सम्माननीय प्रधानमन्त्रीज्यू,
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार ।

विषयः खाडी क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षा तथा गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सम्बन्धमा

सम्माननीय प्रधानमन्त्रीज्यू,

सर्वप्रथम, चुनौतीपूर्ण परिस्थितिमा पनि नेतृत्वदायी भूमिका निर्वाह गर्दै सफलतापूर्वक निर्वाचन सम्पन्न गराई मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गर्ने गहन दायित्व पूरा गर्नुभएकोमा सम्माननीयज्यूलाई हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछौं ।

सम्माननीयज्यू, हालै खाडी क्षेत्रमा भड्किएको तीव्र द्वन्द्वले गम्भीर चिन्ता उत्पन्न गरेको छ । यो संघर्षले सैन्य तथा नागरिक क्षेत्रहरूलाई व्यापक असर पार्दै जटिल रूप लिइरहेको छ । यसबाट मुलुकको अर्थतन्त्रमा वार्षिक करिब ८ खर्ब योगदान गर्ने १८ लाखभन्दा बढी नेपाली कामदारहरू प्रत्यक्ष जोखिममा परेका छन् । निर्माण, सेवा, सुरक्षा तथा तेल क्षेत्रमा कार्यरत नेपालीहरूको असुरक्षा बढ्दै गएको छ । साथै, यूएईमा गोरखाका दिवस श्रेष्ठको मृत्यु तथा अन्य घाइते भएका घटनाले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

नेपाल सरकारले श्रम स्वीकृति स्थगन, पीडित विवरण संकलन, आपतकालीन टोली गठन तथा कूटनीतिक वार्ता जस्ता कदम चालेको स्वागतयोग्य छ । तर उद्धार प्रक्रिया ढिलो हुँदा लाखौं नेपाली थप जोखिममा पर्ने सम्भावना बढ्दै गएको छ । यस सन्दर्भमा उज्यालो नेपाल पार्टी मानवताको आधारमा तत्काल निम्न कदम चाल्न जोडदार अपिल गर्दछः

१. खाडी क्षेत्रमा कार्यरत नेपालीहरूको सुरक्षित स्थानान्तरण, उद्धार तथा राहतका लागि डिजिटल ट्र्याकिङयुक्त विस्तृत योजना सार्वजनिक गरी प्रभावकारी कार्यान्वयन गरियोस् ।

२. दूतावास र कन्सुलेटहरूलाई २४-७ हटलाइन, स्वास्थ्य सेवा, आश्रय केन्द्र तथा वास्तविक समय सूचना प्रणालीमार्फत पूर्ण रूपमा सक्रिय बनाइयोस् ।

३. संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय श्रम संगठन तथा सम्बन्धित राष्ट्रहरूसँग समन्वय गरी नेपाली नागरिकहरूको जीवनरक्षा तथा क्षेत्रीय शान्तिका लागि उच्चस्तरीय कूटनीतिक पहल गरियोस् ।

४. प्रभावित नेपालीहरूलाई आर्थिक अनुदान, भर्चुअल मनोसामाजिक परामर्श तथा परिवारसँग नियमित सम्पर्कको व्यवस्था गरियोस् ।

५. स्वदेश फर्कन चाहनेहरूका लागि विशेष उडान तथा स्थलमार्गबाट तत्काल उद्धार सुरु गरी उनीहरूको पुनस्र्थापनाका लागि राष्ट्रिय रोजगारी पोर्टल सञ्चालन गरियोस् ।

यसै गरी, जेनजी आन्दोलनसँग सम्बन्धित घटनाक्रमको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन नेपाल सरकारसमक्ष बुझाइसकेको अवस्थामा पनि हालसम्म सार्वजनिक नगरिनु गम्भीर चिन्ताको विषय बनेको छ । उक्त प्रतिवेदन सार्वजनिक नहुँदा नागरिक तहमा अन्योल, शंका, असन्तोष तथा राज्यप्रतिको अविश्वास बढिरहेको छ ।

यस्ता प्रकृतिका प्रतिवेदन सार्वजनिक हुनु लोकतान्त्रिक शासन, पारदर्शिता र जवाफदेहिताको आधारभूत आवश्यकता हो । पीडित पक्ष, घाइते, मृतकका परिवार तथा सम्बन्धित नागरिकहरूले सत्य र न्यायको अपेक्षा गरिरहेका बेला प्रतिवेदन गोप्य राखिनु उपयुक्त मान्न सकिँदैन । सत्य सार्वजनिक गरेर मात्र न्याय, सुधार र सामाजिक विश्वासको मार्ग प्रशस्त हुन्छ भन्ने हाम्रो ठहर छ ।

यस सम्बन्धमा उज्यालो नेपाल पार्टी नेपाल सरकारसमक्ष निम्न माग गर्दछः

१. गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरियोस् ।

२. प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ भएको भए त्यसबारे स्पष्ट आधिकारिक जानकारी तथा समयसीमा सार्वजनिक गरियोस् ।

३. प्रतिवेदनका निष्कर्ष र सिफारिसका आधारमा जिम्मेवार पक्षमाथि निष्पक्ष, पारदर्शी तथा कानूनसम्मत कारबाही प्रक्रिया अघि बढाइयोस् ।

४. पीडित, घाइते, मृतकका परिवार तथा प्रभावित समुदायलाई न्याय, सत्य र परिपूरणको अनुभूति हुनेगरी आवश्यक निर्णय गरियोस् ।

५. भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा संयन्त्र, भीड व्यवस्थापन, आदेश प्रणाली तथा मानव अधिकार संरक्षणसम्बन्धी स्पष्ट सुधारात्मक योजना सार्वजनिक गरियोस् ।

मानवीय संकटमा सहयोग गर्नु सरकारको राष्ट्रिय दायित्व हो । लोकतान्त्रिक शासन व्यवस्थामा पारदर्शिता, उत्तरदायित्व र न्याय सुनिश्चित गर्नु सरकारको अपरिहार्य जिम्मेवारी हो । लाखौं नेपाली नागरिकहरूको जीवन जोखिममा परेको तथा नागरिकको विश्वास कमजोर बन्दै गएको वर्तमान अवस्थामा सरकारको मौनता र ढिलाइ स्वीकार्य हुन सक्दैन ।

अतः उज्यालो नेपाल पार्टी सरकारलाई मानवताको पक्षमा उभिएर नेपाली नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न, सत्य सार्वजनिक गर्न तथा न्याय स्थापना गर्न यथाशीघ्र ठोस कदम चाल्न जोडदार अपिल गर्दछ । साथै, यस कार्यमा पार्टीका तर्फबाट गर्न सकिने आवश्यक सहयोग गर्न उज्यालो नेपाल पार्टी पूर्ण रूपमा तयार रहेको जानकारी गराउन चाहन्छौं ।

कुलमान घिसिङ
अध्यक्ष