८ असार २०८३, सोमबार
,
Latest
ठूला अस्पतालमा बर्न युनिट सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने फक्ताङलुङमा पहिरो जाँदा दुई घरमा क्षति काठमाडौं महानगरका ५३ शिक्षक–शिक्षिकाले लिए स्काउट मास्टर आधारभूत तालिम पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रास्वपाको बन्द सत्र स्थगित, प्रतिनिधि विवाद टुंग्याउन छलफल जारी जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण ट्रक महासंघसहित यातायात व्यवसायीको माग सम्बोधन, एलसी खोलिएका सवारी दर्ता हुने सरकारले किसानको हितमा काम गर्ने : मुख्यमन्त्री यादव ई–पासपोर्ट छपाइ ठेक्का प्रकरण : अख्तियारले आरजु राणा देउवासहित १८ जनाविरुद्ध मुद्दा चलाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन निर्माण



अ+ अ-

म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन निर्माण भएको छ ।

धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन र उपाध्यक्ष रेशम पुनमगरले शनिबार दुईवटै भवनको उद्घाटन गर्नुभयो । भूकम्पप्रतिरोधी क्षमताका दुई /दुईतले दुईवटै भवन अपाङ्गमैत्री छन् ।

ती भवन निर्माणमा रु एक करोड ७४ लाख खर्च भएको छ । दुईतले सातकोठे स्वास्थ्यचौकीको भवन निर्माणमा रु ८९ लाख ६८ हजार खर्च भएको गाउँपालिकाले जनाएको छ । स्वास्थ्यचौकीको भुइँ तलामा उपचार, औषधि भण्डारण, प्रशासन, स्वाथ्यकर्मीको कार्यकक्ष छन् । पहिलो तलामा स्वास्थ्यकर्मीहरूको आवासका लागि दुईवटा कोठा छन् ।

स्वास्थ्यचौकी निर्माण भएपछि सेवा प्रवाह सहज भएको छ । यसअघि वडा कार्यालय र स्वास्थ्यचौकी एउटै साँघुरो भवनबाट सञ्चालन गर्दा सेवा प्रवाहमा समस्या भएको थियो । सभाहलसहितको दुईतले वडा कार्यालयको भवन निर्माणका लागि भगवती कन्ट्रक्सनले रु ८४ लाख ९६ हजारमा ठेक्का सम्झौता गरेको थियो ।

यसअघि बुद्धिविकास माविको पुरानो कक्षा कोठा भवनबाट वडा कार्यालय सञ्चालन गरिएको छ । वडाध्यक्ष यामबहादुर घर्तीका अनुसार भवन बनाउन मुदीका पूर्वप्रधानपञ्च गङ्गलाल घर्तीले दुई रोपनी १६ आना र रेशमबहादुर घर्तीले तीन आना जग्गा निःशुल्क उपलब्ध गराउनुभएको थियो । उद्घाटन समारोहमा जग्गादातालाई सम्मान गरिएको छ ।

भुइँतलामा शौचालय, सयनकक्ष र चारवटा कोठा रहेको भवनको माथिल्लो तलामा सभाहल बनाइएको छ । धवलागिरि गाउँपालिकाले यसअघि लुलाङको लमसुङ, ताकम, मराङ र मल्कवाङमा वडा कार्यालय भवन निर्माण गरिसकेको अध्यक्ष पुनले बताउनुभयो ।

साविक मुना गाविसको भवनबाट सञ्चालन भइरहेको गाउँपालिकाको स्थायी केन्द्र घट्टेखोलामा प्रशासकीय भवन निर्माणको अन्तिम चरणमा पुगेको छ । गुर्जाबाहेकका वडा कार्यालय आफ्नै भवनबाट सञ्चालन भएका छन् ।

धवलागिरि गाउँपालिकाले वडा नं १ गुर्जा र वडा नं ३ मुनामा पनि स्वास्थ्यचौकीको नयाँ भवन निर्माण गरेको उपाध्यक्ष पुनमगरले बताउनुभयो ।

वडा नं ७ ताकममा पाँच शय्या क्षमताको अस्पताल भवन निर्माणाधीन छन् । वडा नं २, ५ र ६ मा रहेका स्वास्थ्यचौकीमा यसअघि नै भवन निर्माण भएका थिए । रासस