काठमाडौं । गुरुराज घिमिरे ले नेपाल विद्यार्थी संघ (नेविसंघ) को ऐतिहासिक योगदानलाई कसैले पनि कम आँक्न नसक्ने बताए ।
आइतवार पार्टी कार्यालय सानेपामा नेविसंघले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले नेपालको इतिहासबाट नेविसंघलाई अलग राख्दा इतिहास नै अधुरो हुने धारणा व्यक्त गरे। नेविसंघको योगदानलाई कसैले पनि विस्मृतिमा धकेल्न नसक्ने उनको भनाइ थियो ।
वि.सं. २०२७ सालमा पञ्चायती व्यवस्थाविरुद्ध विद्यार्थीलाई संगठित गरी प्रजातान्त्रिक आन्दोलनलाई बलियो बनाउन नेविसंघ स्थापना भएको स्मरण गर्दै घिमिरेले कतिपय अवस्थामा पार्टीभन्दा पनि बढी बलिदान र योगदान नेविसंघले गरेको उल्लेख गरे।
पछिल्लो समय नेविसंघका गतिविधिलाई पार्टीले सूक्ष्म रूपमा नियालिरहेको बताउँदै उनले मुलुकमा विकसित नयाँ राजनीतिक परिस्थिति र निर्वाचनबाट नयाँ दलहरूको उदयसँगै नेविसंघको भूमिका अझ प्रभावकारी हुनुपर्ने आवश्यकता औंल्याए ।
नेपालमा ४० वर्षमुनिका करिब १ करोड २० लाख युवा मतदाता रहेको उल्लेख गर्दै कुनै पनि राजनीतिक दलले यो जनमतलाई उपेक्षा गर्नु मूर्खता हुने उनको भनाइ थियो ।
उनले भ्रातृ संस्थाको अस्तित्व पार्टीको अधिकार क्षेत्रभित्र पर्ने भए पनि तिनीहरू पार्टीका सन्तानसरह हुने स्पष्ट पारे। नेविसंघजस्तो ऐतिहासिक संस्थाका विषयमा गम्भीर रूपमा सोच्नुपर्ने बताउँदै उहाँले छिट्टै संस्थागत निर्णयमार्फत नेविसंघसहित अन्य भ्रातृ संस्थालाई थप प्रभावकारी बनाउने दिशानिर्देश गरिने जानकारी दिए।
यसैबिच, आइतबार बिहान नेविसंघसम्बद्ध कार्यकर्ताहरूको एक टोलीले पार्टी नेतृत्वलाई ज्ञापनपत्र बुझाउँदै हालै ‘सिनेट बैठक’को नाममा भएका गतिविधिलाई अवैधानिक भएको आरोप लगाएको छ । उनीहरूले गणपूरक संख्या नपुगेको अवस्थामा गरिएको निर्णय अवैधानिक हुने दाबी गरेका छन् ।
त्यस्तै, नेपाल तरुण दल र नेपाल महिला संघ लगायत अन्य भ्रातृ संस्थाका विषयमा पनि पार्टीले चाँडै संस्थागत निर्णय गर्ने तयारी गरेको घिमिरेले बताए।












