२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीमा बढुवाको व्यवस्था ऐनमै राख्न सुझाब



अ+ अ-

प्रहरीको बढुवासम्बन्धी प्रावधान ऐनमै राख्न लोकसेवा आयोगले राय दिएको छ । यस्तो प्रावधान नियमावलीमा राख्दा सरकारको हस्तक्षेपको सम्भावना हुने भन्दै आयोगले ऐनमै राख्नुपर्नेमा जोड दिएको हो । संघीय प्रहरी ऐनको मस्यौदामा आयोगले यस्तो राय दिएको हो । गृह मन्त्रालयले कानुन मन्त्रालय, अर्थ मन्त्रालय र लोकसेवा आयोगको राय लिएर मस्यौदालाई मन्त्रिपरिषद्मा पेस गर्ने तयारी गरेको छ । हाल प्रहरीको बढुवासम्बन्धी प्रावधानहरू प्रहरी नियमावलीमा राखिएको छ ।

प्रहरी नियमावली मन्त्रिपरिषद्ले संशोधन गर्न सक्छ भने ऐन संसद्बाट मात्र । ऐनमै प्रस्ट व्यवस्था गरिए प्रहरी बढुवामा सरकारको हस्तक्षेपको सम्भावना कम हुने भन्दै आयोगले यस्तो राय दिएको हो । लोकसेवाको रायका विषयमा गृह मन्त्रालयले छलफल अघि बढाएको छ । प्रहरीको नयाँ ऐनमा प्रहरीको बढुवासम्बन्धी प्रावधान पनि हेरफेर गर्न लागिएको छ । विभूषणबापतको नम्बर हटाइएको छ ।

बढुवामा विभूषणको नम्बर राख्दा विकृति बढेको भन्दै गृह मन्त्रालयले बढुवासम्बन्धी प्रावधानमा संशोधन गर्न लागेको हो । हाल विभूषण पाएका प्रहरीले बढुवा मूल्यांकनमा थप दुई नम्बर पाउँछन् । बढुवाकै लागि विभूषण लिन शक्ति केन्द्रबाट दबाब दिने विकृति देखिएपछि बढुवामा यस्तो प्रावधान हटाउन लागिएको गृह मन्त्रालयका एक अधिकारीले बताए ।

प्रहरी बढुवामा एक सय पूर्णांकमा मूल्यांकन हुन्छ । जसमा धेरै नम्बर ल्याउनेहरूको बढुवा सिफारिस हुन्छ । एक सयमध्ये ४० नम्बर कार्यसम्पादन मूल्यांकन र २० ज्येष्ठताका आधारमा तय हुन्छ । भौगोलिक क्षेत्रमा काम गरेको अनुभवका आधारमा ८, शैक्षिक योग्यताबापत १०, तालिमबापत ७।५, चुनौतीपूर्ण तथा विशेष जिम्मेवारीबापत ५, बढुवा समितिले दिने ७।५ तथा विभूषणबापत दुई नम्बर दिइन्छ । नयाँ पत्रिका दैनिकबाट