२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैशाखदेखि १२ रोगविरुद्ध नियमित खोप: रोटा भाइरसविरुद्धको खोप पनि दिइँदै, के हो रोटा भाइरस ?



अ+ अ-

काठमाडौं । सरकारले आगामी वैशाखबाट नियमित रूपमा ११ वटा रोगविरुद्ध निःशुल्क दिइँदै आएको खोप अब १२ वटा पुर्याउने भएको छ । रोटा भाइरसविरुद्धको खोप थप गर्न लागेसँगै अब नियमित खोप १२ पुग्ने भएको स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक गौतमले जानकारी दिए । ‘रोटा भाइरसविरुद्धको खोप आगामी वैशाख, जेठबाटै सुरु गर्छौं,’ डा. गौतमले भने, ‘यसका लागि सरकारले तयारी थालेको छ ।’

रोटा भाइरसविरुद्धको खोप १५ महिनासम्मका बालबालिकालाई दिइन्छ । उनका अनुसार यो खोप शिशुलाई जन्मेको ६ हप्ता र १० हप्तामा दिइने छ । उक्त खोप सरकारले निःशुल्क उपलब्ध गराउने भएको हो । यसअघि सरकारले क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस बि, हेमोफिलस इन्फ्ल्यूएञ्जा बी, पोलियो, दादुरा, रुबेला, निमोनिया र जापानिज इन्सेफलाइटिस विरुद्धको खोप तथा गर्भवती महिलाहरूका लागि टी।डी।खोप उपलब्ध गराउँदै आएको थियो ।

विश्वमा खोपले बचाउन सकिने रोगहरूबाट हुने मृत्यु मध्ये ३० प्रतिशत मृत्यु रोटाबाट हुने गरेको पनि डा. गौतमले सुुनाए । पखालाको कारणबाट हुने कुल मृत्युुमध्ये करिब ३५ प्रतिशत मृत्यु रोटाबाट हुन्छ । नेपालमा वार्षिक ५ वर्ष मुनिका बच्चाहरूमध्ये करिब ५० प्रतिशतलाई पखाला हुने गरेको छ । पखाला लागेर अस्पताल भर्ना भएकामध्ये करिब ३० प्रतिशतमा पखालाको कारण रोटा भएको पनि उनले बताए । यो रोगको संक्रमण ५ वर्ष मुनिका बालबालिकामा धेरै हुने र यसबाट २ वर्ष मुनिका बालबालिका संक्रमित भएमा धेरै असर गर्छ ।

के हो रोटा भाइरस ?रोटा भाइरस जाडो मौसममा बढी सक्रिय हुन्छ । चिसो बढेपछि बालबालिका यो प्राणघातक भाइरस संक्रमणको जोखिममा पर्छन् । डा. गौतमले भने, ‘रोटा भाइरसले खासगरी ५ वर्षमुनिका बालबालिकामा बढी समस्या निम्त्याएको देखिन्छ भने १ वर्षमुनिका बालबालिकामा संक्रमणको जोखिम उच्च सम्भावना हुन्छ ।’

सरसफाइले मात्रै रोटा भाइरस नियन्त्रणमा ल्याउन नसकिने विज्ञहरू बताउँछन् । यो सरुवारोग भएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा छिट्टै र सजिलै सर्दछ । दिसामा यो भाइरस अत्यधिक मात्रामा पाइने हुँदा कुनै मध्यमबाट मुखमा पुगेमा उक्त व्यक्तिमा संक्रमण हुन्छ । भाइरस सर्ने प्रमुख माध्यम भाइरस संक्रमितको हात, सामान, बालबालिकाले प्रयोग गरेको खेलौना, संक्रमित पानी तथा खानेकुरा हो ।

के देखिन्छ लक्षण:तारन्तार पानीजस्तो पातलो दिसा लाग्नु, बान्ता हुनु, पेट दुख्नु, अति जलवियोजन हुनु रोटा भाइरस संक्रमणका प्रमुख लक्षण हुन् । त्यसैगरी, मन्द गतिको ज्वरो आउनु, बालबालिकाले झिँझिने स्वभाव देखाउनु, पेट दुखेर रुनु, खानमा अरुचि हुनुजस्ता लक्षण देखापर्छन् । सामान्य लक्षणसँगै बच्चाको आँखा गड्यो भने, पेटमा मुजा पर्यो भने, खाएपछि बान्ता गर्यो वा बेहोस भयो भने यसलाई जटिल वा खतरनाक मानिन्छ । यस्ता लक्षण देखिनासाथ यथाशीघ्र अस्पताल लैजानुपर्दछ ।

बच्चालाई छुनुअघि र केही खुवाउनु पहिले सफा साबुन पानीले हात धुनुपर्छ । यदि फोहोर छोएर हात नधोई खाना खायौँ भने त्यो पेटमा जान्छ । त्यसका साथै फोहोर धेरै छ भने झिंगामार्फत् पनि यो भाइरस सर्न सक्छ । घरमा हुने मुसा, झिँगा, साङ्लाको माध्यमबाट खानेकुरामा भाइरस आउन सक्छ । त्यो सेवन गर्दा पनि झाडापखाला लाग्न सक्छ । यो भाइरसका कारण हुने झडापखालामा रगत भने देखिँदैन । झाडापखालाले नै बालबालिकाको मृत्यु भने हुँदैन तर, यसले गराउने जलवियोजनले गर्दा बालबालिकाको मृत्यु हुन सक्छ ।

बारम्बार पखाला लाग्दा बालबालिकाको शरीरमा आवश्यक पर्ने पानीको मात्रा घट्न जान्छ । लगातारको पानीसहितको दिसा र बान्ताले गर्दा उनीहरूलाई जलवियोजन हुन्छ । जलवियोजन हुँदा धेरै तिर्खा लाग्छ, छटपटी बढ्छ, हेर्दा आँखा गढेको देखिन्छ । पेटको छाला तानेर हेर्दा हतपत नफर्किने हुन्छ । कडा जलवियोजन भएमा बालबालिकाले झोल पदार्थ पिउन सक्दैन, खानेकुरा खान सक्दैन र सानो बच्चा छ भने आमाको दूध तान्न सक्दैन, बच्चा बेहोस हुन सक्छ । तर जति जलवियोजन भएर शरीरबाट पानी बाहिर जान्छ, त्यति नै झोल पदार्थ खुवाउनुपर्दछ ।

६ महिनासम्मको बच्चालाई सादा पानी र जीवनजलसँगै स्तनपान लगातार गराउनुपर्छ । यदि ६ महिनामाथिको बालबालिका छ भने जीवनजलको साथसाथै आमाको दूध, दालको रस, गेडागुडी तरकारीको रस खुवाउने, ताजा फलफूलको रस र केरा खुवाउनुपर्छ । थोरै मात्रामा जाउलोसँग दही वा मोही पनि झाडापखाला लागेका वेला राम्रो हुन्छ ।

झाडापखाला लाग्दा जंक फुड खुवाउनुहुँदैन । झोलपदार्थसँगै जिंक चक्की खुवाउनु राम्रो हुन्छ, यसले कहिलेकाहीँ उल्टी गराउन सक्छ, तर आफैँ ठीक हुन्छ । प्रायः झाडापखाला ३ दिनदेखि ७ दिनसम्ममा आफैँ ठीक हुन्छ तर सोभन्दा लामो समय लागेमा स्वास्थ्य संस्था लैजानुपर्छ ।

बच्ने उपाय:हात धोएर मात्र बच्चालाई खाना खुवाउने, बच्चा र बच्चा बस्ने वातावरण सफा राख्ने, रोटा भाइरसविरुद्धको खोप लगाउने, पानी उमालेर मात्र पानी पिलाउने गर्नुपर्छ । सधैँ ताजा र सफा खानेकुरा मात्र खुवाउनुपर्छ । केही खानुअघि र खाइसकेपछि अनिवार्य साबुनपानीले राम्ररी हात धुने । बाहिर गएर आएपछि सीधै बच्चालाई नसमाउने, समाउनुअघि हातखुट्टा राम्ररी धुने गर्नुपर्छ । झोलपदार्थ कम खाँदा कम पिसाब हुने र त्यसले मिर्गौलामा असर गर्ने हुन्छ । यदि दिसामा रगत गयो भने आउँ हुन सक्छ त्यसैले तत्काल स्वास्थ्य संस्थामा उपचार गर्न आवश्यक छ । सौर्य दैनिकबाट




भर्खरै