अमेरिका र इजरायलले सार्वभौम मुलुक इरानमाथि भिषण आक्रमण गरेपछि अहिले विश्वव्यापी तरङ्ग उत्पन्न भएको छ ।
खासगरी यस युद्धबाट मध्यपूर्व अर्थात् पश्चिम एसियाका देशहरु नराम्रोसँग प्रभावित भएका छन् । कच्चा तेल र ग्याँसको विशाल भण्डार रहेका इरान समेतका मुलुकहरु अहिले युद्धको चपेटामा छन् ।
अमेरिका र इजरायलले इरानमाथि फेब्रुअरी २८ देखि भिषण आक्रमण थालेका थिए । यस आक्रमणबाट इरानी सर्वोच्च नेता आयातोल्लाह खामेनी सहित इरानी सैनिक नेतृत्व मारिएका थिए । अमेरिकाले इरानी नेतृत्वलाई आत्मसमर्पण गर्न बारम्बार चेतावनी दिए पनि अमेरिकी—इजरायली धम्कीलाई इरानले अस्वीकार गरिरहेको छ । बरु, इरानले प्रत्याक्रमण गरिरहेको छ ।
पछिल्ला दिनहरुमा इरानले अमेरिकी लगानी रहेका कतार, युएई, कुवेत, ओमान, बहराइन, साउदी अरबका तेल कम्पनी र भण्डारमा क्षेप्यास्त्र र ड्रोनबाट आक्रमण गरिरहेको छ । यो आक्रमणबाट यी देशमा पनि ठूलै क्षति भएको खबर आइरहेका छन् ।
यो आक्रमणबाट प्राकृतिक इन्धनको आपूर्ति प्रणालीमा व्यापक असर परेको छ । यस युद्धबाट इरान सहित पर्सियन सागरका वरिपरिका मुलुकहरु इराक, कुवेत, साउदी अरेबिया, युएई, कतार र ओमान सबैभन्दा बढी प्रभावित भएका छन् । इरानले यी देशमा रहेका अमेरिकी चासोका स्थानमा आक्रमण गर्ने धम्की दिएको छ, र क्षेप्यास्त्र र ड्रोनबाट आक्रमण गरिरहेको छ ।
के हो होर्मुज जलक्षेत्र ?
स्ट्रेट अफ होर्मुज (जलक्षेत्र) अहिले विश्वभर सर्वाधिक चासोमा छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो ठाउँको सुरक्षालाई उच्च प्राथमिकता दिएका छन् । स्ट्रेट अफ होर्मुज ओमान सागर (अरेबियन सागर) र पर्सियन सागरलाई जोड्ने साँघुरो चिकेन नेक (कुखुराको घाँटी जस्तो) हो ।
ओमान सागरबाट कच्चा तेल र ग्यास बोक्ने विशाल समुद्री जहाजहरु यही घाँटी हुँदै पर्सियन सागर तर्फ जान्छन् । पर्सियन सागरको पश्चिम तर्फ युएई, कतार, साउदी अरेबिया, कुवेत, बहराईन र इराक छन् भने पूर्वतर्फ इरान छ । यी देशबाट विश्व बजारमा जाने ग्यास र तेल लोड हुने ठूल्ठूला जहाज यही घाँटी हुँदै ओहोरदोहोर गर्दछन् ।

यो होर्मुज (जलक्षेत्र) करिब १६७ किलोमिटर उत्तर—दक्षिण फैलिएको छ । पर्सियन र ओमान सागरको चौडाई लामो भए पनि स्ट्रेट अफ होर्मुजको घाँटी क्षेत्र औसतमा करिब ५० किलोमिटर मात्र छ । एकदमै साँघुरो ठाउँमा यसको चौडाई करिब ३३ किलोमिटर मात्र छ । यही साँघुरो क्षेत्रबाट जहाजहरु वारपार गरिरहेका हुन्छन् ।
अध्ययन अनुसार, सन् २०२३—२५ मा यही घाँटी क्षेत्रको मार्ग हुँदै विश्वको २० प्रतिशत ग्याँस र २५ प्रतिशत कच्चा तेल निकासी भएको थियो । यो तेल र ग्याँस एसिया र युरोपेली मुलुकका लागि इन्धनको महत्वपूर्ण स्रोत रहिआएको छ । अझ रसिया—युक्रेन युद्धका कारण युरोपका लागि त यस क्षेत्रको इन्धन निकै महत्वपूर्ण रहिआएको छ ।
अमेरिकी ऊर्जा प्रशासनका अनुसार, सन् २०२५ मा स्ट्रेट अफ होर्मुजको जलक्षेत्रबाट प्रतिदिन करिब २ करोड ब्यारेल तेल र ग्याँस विश्वबजारमा गएको थियो । यसको अर्थ वार्षिक करिब ६०० अर्ब डलरको कारोबार हो ।
यही मार्ग हुँदै ठूलो परिमाणमा रासायनिक मल पनि विश्व बजारमा पुग्ने गर्दछ । विश्वको झण्डै एक तिहाई रासायनिक मल यही क्षेत्रमा उत्पादन भएर अन्यत्र जाने गरेको छ । झण्डै एक महिनादेखि रासायनिक मल निकासी ठप्प रहेकाले विश्व बजारमा कृषि उत्पादनमा प्रत्यक्ष असर पर्ने अनुमान गरिएको छ ।
उता, खाडी राष्ट्रमा आवश्यक पर्ने औषधि, खाना, लत्ताकपडा समेतका अत्यावश्यक वस्तुको आयातमा पनि अहिले होर्मुज नाका बन्द हुँदा ठूलो असर परेको छ ।
यो जलमार्ग हुँदै महिनामा करिब तीन हजार जहाज ओहोरदोहोर गरिरहेका हुन्छन् । तर इरानले शत्रुराष्ट्रका (अमेरिकी गठबन्धनका) जहाजमाथि आक्रमण गर्ने धम्की दिएपछि जहाजको आवातजावतमा व्यापक गिरावट आएको छ । एएफपीका अनुसार, यस युद्धका अवधिमा २१ वटा त्यस्ता पानीजहाजमा इरानले ड्रोन, क्षेप्यास्त्र, बारुदी सुरुङ, प्रोजेक्टाइनल इत्यादिबाट आक्रमण गरिसकेको छ ।
तेल र ग्यासको मूल्य आकाशियो
हर्मुजमा अबरोध भएसँगै एसिया र युरोपमा तेल र ग्यासको मूल्यमा व्यापक बृद्धि भएको छ । रोयटर्सका अनुसार, कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलर भन्दा माथि पुगेको छ । यो वृद्धि यस वर्षको ७० प्रतिशत र गत वर्षको तुलनामा ५० प्रतिशतले बढी हो ।
नेपाल, भारत, अस्ट्रेलिया, जापान लगायतका देशमा तेल र ग्यासको अभाव हुन थालेको छ भने मूल्यवृद्धि व्यापक भएको छ । अस्ट्रेलियामा बसोबास गर्ने नेपालीका अनुसार त्यहाँ तेलको मूल्य दोब्बरले वृद्धि भइसकेको छ । चीनले खरिद गर्ने कूल इन्धनको झण्डै ९० प्रतिशत इरानबाट खरिद गरिरहेको थियो ।
के ट्रम्पले खुलाउन सक्लान् होर्मुज ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि होर्मुज जलक्षेत्र टाउको दुखाई बनेको छ । ट्रम्पले युद्ध सुरु हुँदाका दिनहरुमा कसैको सहयोग नचाहिने भन्दै इजरायलको उक्साहटमा इरानमाथि भिषण आक्रमण गरेका थिए । तर होर्मुजको मुद्दा यति पेचिलो बन्न सक्छ भन्ने उनले अडकल नगरेको पनि हुन सक्छ ।
नेटो र अन्य कुनै पनि मुलुकको सहयोग आफूलाई नचाहिने भन्दै आफ्नो अडानमा बसिरहे । तर अहिले उनी युरोपेली र एसियाली मुलुकलाई होर्मुज खुलाउने तर्फ ध्यान दिन अनुरोध गर्न थालेका छन् ।
राष्ट्रपति ट्रम्पले २४ घन्टाभित्र इरानले होर्मुजको अवरोध खुला नगरे इरानी विद्युत गृहहरूमा बमबारी गर्ने चेतावनी दिएका छन् । तर अमेरिकाले त्यस्तो कदम उठाए युएइ, कतार, साउदी लगायतका देशमा रहेका अमेरिकी तेल, ग्याँस कम्पनी धुलो बनाउने धम्की दिएको छ ।
यही बिच अमेरिकालाई बेलायतले होर्मुज जलक्षेत्रमा सुरक्षा प्रबन्ध मिलाउन सहयोग गर्ने बचन दिएको खबर सार्वजनिक भएको छ । जापान, चीन र भारतले होर्मुजमा सैनिक जहाज नपठाउने बताइसकेका छन् ।
विगतमा पनि इरानले यो घाँटी क्षेत्रमा अवरोध गर्ने धम्की दिँदै आएको थियो । तर अरब राष्ट्रहरुको अनुरोधमा इरानले त्यस्ता कारबाही गरेको थिएन । यसपटक भने इरान यही घाँटी क्षेत्रलाई अठ्याएर अमेरिका र इजरायललाई झुकाउने रणनीतिमा अडिग देखिएको छ ।












