२३ जेष्ठ २०८३, शनिबार
,
Latest
प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्ट्रेट अफ होर्मुज के हो ? किन हुँदैछ यहाँ लडाइँ ?



अ+ अ-

अमेरिका र इजरायलले सार्वभौम मुलुक इरानमाथि भिषण आक्रमण गरेपछि अहिले विश्वव्यापी तरङ्ग उत्पन्न भएको छ ।

खासगरी यस युद्धबाट मध्यपूर्व अर्थात् पश्चिम एसियाका देशहरु नराम्रोसँग प्रभावित भएका छन् । कच्चा तेल र ग्याँसको विशाल भण्डार रहेका इरान समेतका मुलुकहरु अहिले युद्धको चपेटामा छन् ।

अमेरिका र इजरायलले इरानमाथि फेब्रुअरी २८ देखि भिषण आक्रमण थालेका थिए । यस आक्रमणबाट इरानी सर्वोच्च नेता आयातोल्लाह खामेनी सहित इरानी सैनिक नेतृत्व मारिएका थिए । अमेरिकाले इरानी नेतृत्वलाई आत्मसमर्पण गर्न बारम्बार चेतावनी दिए पनि अमेरिकी—इजरायली धम्कीलाई इरानले अस्वीकार गरिरहेको छ । बरु, इरानले प्रत्याक्रमण गरिरहेको छ ।

पछिल्ला दिनहरुमा इरानले अमेरिकी लगानी रहेका कतार, युएई, कुवेत, ओमान, बहराइन, साउदी अरबका तेल कम्पनी र भण्डारमा क्षेप्यास्त्र र ड्रोनबाट आक्रमण गरिरहेको छ । यो आक्रमणबाट यी देशमा पनि ठूलै क्षति भएको खबर आइरहेका छन् ।

यो आक्रमणबाट प्राकृतिक इन्धनको आपूर्ति प्रणालीमा व्यापक असर परेको छ । यस युद्धबाट इरान सहित पर्सियन सागरका वरिपरिका मुलुकहरु इराक, कुवेत, साउदी अरेबिया, युएई, कतार र ओमान सबैभन्दा बढी प्रभावित भएका छन् । इरानले यी देशमा रहेका अमेरिकी चासोका स्थानमा आक्रमण गर्ने धम्की दिएको छ, र क्षेप्यास्त्र र ड्रोनबाट आक्रमण गरिरहेको छ ।

के हो होर्मुज जलक्षेत्र ?

स्ट्रेट अफ होर्मुज (जलक्षेत्र) अहिले विश्वभर सर्वाधिक चासोमा छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो ठाउँको सुरक्षालाई उच्च प्राथमिकता दिएका छन् । स्ट्रेट अफ होर्मुज ओमान सागर (अरेबियन सागर) र पर्सियन सागरलाई जोड्ने साँघुरो चिकेन नेक (कुखुराको घाँटी जस्तो) हो ।

ओमान सागरबाट कच्चा तेल र ग्यास बोक्ने विशाल समुद्री जहाजहरु यही घाँटी हुँदै पर्सियन सागर तर्फ जान्छन् । पर्सियन सागरको पश्चिम तर्फ युएई, कतार, साउदी अरेबिया, कुवेत, बहराईन र इराक छन् भने पूर्वतर्फ इरान छ । यी देशबाट विश्व बजारमा जाने ग्यास र तेल लोड हुने ठूल्ठूला जहाज यही घाँटी हुँदै ओहोरदोहोर गर्दछन् ।

यो होर्मुज (जलक्षेत्र) करिब १६७ किलोमिटर उत्तर—दक्षिण फैलिएको छ । पर्सियन र ओमान सागरको चौडाई लामो भए पनि स्ट्रेट अफ होर्मुजको घाँटी क्षेत्र औसतमा करिब ५० किलोमिटर मात्र छ । एकदमै साँघुरो ठाउँमा यसको चौडाई करिब ३३ किलोमिटर मात्र छ । यही साँघुरो क्षेत्रबाट जहाजहरु वारपार गरिरहेका हुन्छन् ।

अध्ययन अनुसार, सन् २०२३—२५ मा यही घाँटी क्षेत्रको मार्ग हुँदै विश्वको २० प्रतिशत ग्याँस र २५ प्रतिशत कच्चा तेल निकासी भएको थियो । यो तेल र ग्याँस एसिया र युरोपेली मुलुकका लागि इन्धनको महत्वपूर्ण स्रोत रहिआएको छ । अझ रसिया—युक्रेन युद्धका कारण युरोपका लागि त यस क्षेत्रको इन्धन निकै महत्वपूर्ण रहिआएको छ ।

अमेरिकी ऊर्जा प्रशासनका अनुसार, सन् २०२५ मा स्ट्रेट अफ होर्मुजको जलक्षेत्रबाट प्रतिदिन करिब २ करोड ब्यारेल तेल र ग्याँस विश्वबजारमा गएको थियो । यसको अर्थ वार्षिक करिब ६०० अर्ब डलरको कारोबार हो ।

यही मार्ग हुँदै ठूलो परिमाणमा रासायनिक मल पनि विश्व बजारमा पुग्ने गर्दछ । विश्वको झण्डै एक तिहाई रासायनिक मल यही क्षेत्रमा उत्पादन भएर अन्यत्र जाने गरेको छ । झण्डै एक महिनादेखि रासायनिक मल निकासी ठप्प रहेकाले विश्व बजारमा कृषि उत्पादनमा प्रत्यक्ष असर पर्ने अनुमान गरिएको छ ।

उता, खाडी राष्ट्रमा आवश्यक पर्ने औषधि, खाना, लत्ताकपडा समेतका अत्यावश्यक वस्तुको आयातमा पनि अहिले होर्मुज नाका बन्द हुँदा ठूलो असर परेको छ ।

यो जलमार्ग हुँदै महिनामा करिब तीन हजार जहाज ओहोरदोहोर गरिरहेका हुन्छन् । तर इरानले शत्रुराष्ट्रका (अमेरिकी गठबन्धनका) जहाजमाथि आक्रमण गर्ने धम्की दिएपछि जहाजको आवातजावतमा व्यापक गिरावट आएको छ । एएफपीका अनुसार, यस युद्धका अवधिमा २१ वटा त्यस्ता पानीजहाजमा इरानले ड्रोन, क्षेप्यास्त्र, बारुदी सुरुङ, प्रोजेक्टाइनल इत्यादिबाट आक्रमण गरिसकेको छ ।

तेल र ग्यासको मूल्य आकाशियो

हर्मुजमा अबरोध भएसँगै एसिया र युरोपमा तेल र ग्यासको मूल्यमा व्यापक बृद्धि भएको छ । रोयटर्सका अनुसार, कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलर भन्दा माथि पुगेको छ । यो वृद्धि यस वर्षको ७० प्रतिशत र गत वर्षको तुलनामा ५० प्रतिशतले बढी हो ।

नेपाल, भारत, अस्ट्रेलिया, जापान लगायतका देशमा तेल र ग्यासको अभाव हुन थालेको छ भने मूल्यवृद्धि व्यापक भएको छ । अस्ट्रेलियामा बसोबास गर्ने नेपालीका अनुसार त्यहाँ तेलको मूल्य दोब्बरले वृद्धि भइसकेको छ । चीनले खरिद गर्ने कूल इन्धनको झण्डै ९० प्रतिशत इरानबाट खरिद गरिरहेको थियो ।

के ट्रम्पले खुलाउन सक्लान् होर्मुज ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि होर्मुज जलक्षेत्र टाउको दुखाई बनेको छ । ट्रम्पले युद्ध सुरु हुँदाका दिनहरुमा कसैको सहयोग नचाहिने भन्दै इजरायलको उक्साहटमा इरानमाथि भिषण आक्रमण गरेका थिए । तर होर्मुजको मुद्दा यति पेचिलो बन्न सक्छ भन्ने उनले अडकल नगरेको पनि हुन सक्छ ।

नेटो र अन्य कुनै पनि मुलुकको सहयोग आफूलाई नचाहिने भन्दै आफ्नो अडानमा बसिरहे । तर अहिले उनी युरोपेली र एसियाली मुलुकलाई होर्मुज खुलाउने तर्फ ध्यान दिन अनुरोध गर्न थालेका छन् ।

राष्ट्रपति ट्रम्पले २४ घन्टाभित्र इरानले होर्मुजको अवरोध खुला नगरे इरानी विद्युत गृहहरूमा बमबारी गर्ने चेतावनी दिएका छन् । तर अमेरिकाले त्यस्तो कदम उठाए युएइ, कतार, साउदी लगायतका देशमा रहेका अमेरिकी तेल, ग्याँस कम्पनी धुलो बनाउने धम्की दिएको छ ।

यही बिच अमेरिकालाई बेलायतले होर्मुज जलक्षेत्रमा सुरक्षा प्रबन्ध मिलाउन सहयोग गर्ने बचन दिएको खबर सार्वजनिक भएको छ । जापान, चीन र भारतले होर्मुजमा सैनिक जहाज नपठाउने बताइसकेका छन् ।

विगतमा पनि इरानले यो घाँटी क्षेत्रमा अवरोध गर्ने धम्की दिँदै आएको थियो । तर अरब राष्ट्रहरुको अनुरोधमा इरानले त्यस्ता कारबाही गरेको थिएन । यसपटक भने इरान यही घाँटी क्षेत्रलाई अठ्याएर अमेरिका र इजरायललाई झुकाउने रणनीतिमा अडिग देखिएको छ ।