काठमाडौ। । खानेपानी मन्त्रालयले देशभर सञ्चालनमा रहेका खानेपानीसम्बन्धी आयोजनाहरूलाई महिलामैत्री बनाउने कार्यलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ ।
विश्व पानी दिवसको अवसर पारेर सोमबार ललितपुरमा आयोजित कार्यक्रममा मन्त्रालयकी प्रवक्ता मीना श्रेष्ठले खानेपानी व्यवस्थापनलाई लैंगिकमैत्री बनाउने उद्देश्यले सरकार अघि बढिरहेको बताइन् । उनका अनुसार सबै स्थानीय तहमा खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापनसम्बन्धी प्रणाली लागू गर्ने काम भइरहेको छ ।
प्रवक्ता श्रेष्ठले खानेपानीमा सबैको समान पहुँच सुनिश्चित गर्नका लागि उक्त प्रणाली आवश्यक रहेको स्पष्ट पार्दै हाल देशका ७५३ वटै स्थानीय तहमा ‘वास प्लान’ तथा सम्बन्धित तथ्यांक संकलन र प्रविष्टि गर्ने काम भइरहेको जानकारी दिइन् । उनका अनुसार करिब ६ सय स्थानीय तहमा यो प्रणाली विस्तार भइसकेको छ भने झन्डै ३ सय स्थानीय तहले वास योजना निर्माण प्रक्रिया सुरु गरिसकेका छन् ।
उनले विगतमा आवश्यकता मूल्यांकन नगरी आयोजना छनोट हुने प्रवृत्तिका कारण ठूलो लगानी हुँदा पनि महिला तथा अपाङ्गता भएका व्यक्तिहरूले समान रूपमा खानेपानी सेवा पाउन नसकेको उल्लेख गरिन्। अब भने तथ्यांकमा आधारित योजना निर्माणमार्फत त्यस्ता समस्याहरू समाधान गर्ने प्रयास भइरहेको उनको भनाइ थियो ।
यसका साथै सार्वजनिक शौचालय निर्माण गर्दा पनि लैंगिकमैत्री र पहुँचयोग्य बनाउन निर्देशन दिइएको जानकारी दिँदै श्रेष्ठले तीनै तहका सरकारबिच समन्वय गरी आयोजनाहरू कार्यान्वयन भइरहेको बताइन्। ठूला आयोजना संघीय सरकारले, मध्यम प्रकृतिका आयोजना प्रदेश सरकारले र साना आयोजना स्थानीय तहले सञ्चालन गर्ने अभ्यासअनुसार विभिन्न विकास साझेदारसँग सहकार्य गरेर काम अघि बढाइएको उनले बताइन् ।
मन्त्रालयले खानेपानी व्यवस्थापनलाई अझ प्रभावकारी र समावेशी बनाउन प्रदेश तथा स्थानीय सरकारसँग सहकार्यलाई थप सुदृढ गर्दै लैजाने जनाएको छ ।












