काठमाडाैँ । लामो समयदेखि पानी नपरेर निराश बनेका महोत्तरीका किसानले पछिल्लो वर्षाको कारण राहत महसुस गरेका छन्। गत शुक्रबार र शनिबार परेको वर्षाले खेतबारीमा आवश्यक चिस्यान पुर्याएपछि रोपाइँ र अन्य खेतीपातीका काम अघि बढ्ने आशा जागेको हो।
हिउँदभरि वर्षा नहुँदा जमिन सुक्खा बनेर खनजोत गर्न समेत कठिनाइ भएको किसानको भनाइ छ। तर पछिल्लो वर्षाले माटोमा चिस्यान बढाएपछि बालीनाली जोगिनुका साथै खेतीका तयारी सहज भएको उनीहरू बताउँछन्।
भङ्गाहा–४ का ६० वर्षीय किसान शुभनारायण ठाकुरले वर्षाले बोटबिरुवा पुनः हराभरा भएको बताए । उनका अनुसार पानी नपर्दा ओइलाउन थालेका वैशाखी तरकारीका लहरा एकै दिनमा फेरिएर हरियाली देखिन थालेका छन्। “जग्गा सुक्खा भएर खनजोत गर्न पाइएको थिएन, तर पछिल्लो वर्षाले ठूलो राहत दिएको छ,” उनले भने।
त्यस्तै, बर्दिबास–७ मनहरिपुरका युवा किसान निरबहादुर खत्रीले उखु लगायतका बाली सुक्न थालेका बेला परेको पानीले जोगाएको बताए । उनका अनुसार अब बर्खे धान, मकै, कोदो र जुनेलोसहितका बाली लगाउन खेत तयारी गर्न सहज भएको छ।
फलफूल बालीमा पनि वर्षाले सकारात्मक प्रभाव पारेको किसानको भनाइ छ। बर्दिबास–५ चेरुका ७० वर्षीय होतराज घिमिरेका अनुसार आँप र लिचीका बोटमा लाग्ने रोग र धुलो पानीले पखालिएपछि केही राहत मिलेको छ। पानी नपर्दा मज्जर र चिचिला सुक्ने तथा मधुवा रोग फैलिने समस्या देखिए पनि वर्षापछि त्यसको असर केही कम भएको उनको भनाइ छ।
यद्यपि, वर्षासँगै आएको हावाहुरीले केही स्थानमा सामान्य क्षति पुर्याएको छ। मकैका बोट ढल्ने तथा वैशाखी तरकारीका लहरा चुँडिने जस्ता असर देखिए पनि वर्षा सुरु भएपछि हुरी कम हुँदा ठूलो क्षति हुन नपाएको किसानले बताएका छन्।
यस वर्ष हिउँदमा वर्षा नहुँदा गर्मी पनि चर्किएको थियो। पछिल्लो वर्षाले तापक्रम घटेर काम गर्न सहज भएको र माटोमा चिस्यान कायम रहेकाले खेतीका लागि उपयुक्त वातावरण बनेको किसानहरूको बुझाइ छ। अबका महिनाहरू खेतीपातीका लागि व्यस्त रहने भएकाले समय–समयमा अनुकूल वर्षा भइरहोस् भन्ने उनीहरूको अपेक्षा छ।
कृषि ज्ञान केन्द्र महोत्तरीका अनुसार जिल्लामा ७१ हजार हेक्टर कृषियोग्य जमिनमध्ये करिब १० प्रतिशत मात्र कुलो तथा नहरमार्फत सिँचित छ। बाँकी जमिन इनार, स्यालोट्युबवेल र बोरिङजस्ता वैकल्पिक स्रोतमा निर्भर छ। तर लामो खडेरीका कारण यस्ता स्रोत पनि सुक्ने समस्या बढ्दै गएको छ। यस अवस्थामा अधिकांश किसान अझै पनि आकाशे पानीमै निर्भर रहनुपर्ने बाध्यता रहेको कार्यालयले जनाएको छ।
पछिल्लो वर्षाले तत्कालीन राहत दिए पनि दीर्घकालीन सिँचाइ व्यवस्थापन कमजोर भएकाले किसान वर्षा र मौसममै निर्भर रहन बाध्य छन्।












