काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया सफल भएको छ।
उनले सामाजिक सञ्जालमार्फत बुधबार बिहान अकल्यान्ड, न्युजिल्यान्डमा डाक्टर साइमन र उनको टोलीद्वारा शल्यक्रिया गरिएको जानकारी दिएकी हुन्।
उनका अनुसार खाडी क्षेत्रमा हालको असामान्य अवस्थाका कारण कतार र एस्पेटार पुग्न कठिन भएपछि विशेषज्ञको सुझावमा न्युजिल्यान्डमै उपचार गरिएको हो। शल्यक्रियापछि अब पुनर्स्थापनाको काम डाक्टरको निगरानीमा भोलिदेखि सुरु हुने उनले बताइन्। अवस्था सामान्य हुने बित्तिक्कै रिह्याब एस्पेटारमा निरन्तरता दिने उनको भनाइ छ।
यस पीडाको समयमा वेलिंगटन र अकल्यान्डमा रहेका नेपाली समुदाय, आफ्नो क्लब वेलिंगटन फिनिक्स तथा व्यवस्थापन टोलीप्रति उनले आभार व्यक्त गरेकी छन्।
भण्डारीले समर्थकहरूको माया र साथलाई ऊर्जा मान्दै अब आफ्नो सम्पूर्ण ध्यान पुनरागमनमा केन्द्रित गर्ने बताएकी छन्।












