२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुवेतमा मिसाइल र ड्रोन आक्रमणः अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन डिपोमा आगलागी



कुवेतमा मिसाइल र ड्रोन आक्रमण
अ+ अ-

काठमाडौँ। कुवेतका अधिकारीहरूकाअनुसार बुधवार कुवेतको आकाशमा आएका ड्रोन र मिसाइलहरूलाई त्यहाँको रक्षा प्रणालीले सफलतापूर्वक विफल तुल्याएको छ ।

यद्यपि, एउटा ड्रोन आक्रमणका कारण कुवेत अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन भण्डारण केन्द्रमा ठूलो आगलागी भएको छ ।

नागरिक उड्डयन महानिर्देशनालयकाअनुसार ड्रोनले विमानस्थलको इन्धन ट्याङ्कीलाई निशाना बनाएको थियो । यसबाट भौतिक क्षति भएपनि कुनै मानवीय क्षति भने भएको छैन ।

कुवेती सेनाले आफ्नो एयर डिफेन्स सिस्टमले आकाशमै धेरै मिसाइल र ड्रोनहरू नष्ट गरेको बताएको छ । शहरका विभिन्न भागमा सुनिएका ठूला विस्फोटका आवाजहरू यही प्रतिरोधात्मक कारबाहीका कारण भएको सेनाले स्पष्ट पारेको छ ।

नेशनल गार्डको सक्रियताः कुवेत नेशनल गार्डले आफ्नो कार्यक्षेत्रभित्र ६ वटा ड्रोनहरूलाई खसालेको जानकारी दिएको छ । रक्षा मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १७ वटा ब्यालेस्टिक मिसाइल र १३ वटा ड्रोन पत्ता लागेका थिए ।

मिसाइल खसाल्दा झरेका टुक्राहरूका कारण ७ वटा मुख्य प्रशारण लाइनमा क्षति पुग्दा केही क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको थियो, जसलाई अहिले धेरैजसो मर्मत गरिसकिएको छ । यो घटना इरान र अमेरिका–इजरायल बीच बढ्दो तनावको बीचमा भएको हो ।

गत महिना इरानमाथि भएको संयुक्त सैन्य हमलापछि इरानले मध्यपूर्वका विभिन्न देशहरूमा रहेका अमेरिकी र इजरायली सम्पत्तिहरूलाई लक्षित गरी ड्रोन र मिसाइल प्रहार गर्दै आएको छ । अधिकारीहरूले यो आक्रमण कहाँबाट भएको हो भन्नेबारे आधिकारिक रूपमा खुलाएका छैनन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल