काठमाडाैँ ।कैलालीमा भैँसीपालनमार्फत किसानको जीविकोपार्जन सुधार गर्ने उद्देश्यसहित नयाँ कार्यक्रम सञ्चालन हुने भएको छ। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जिल्लाका नौ स्थानीय तहमा ‘जीविकोपार्जन सुधारका लागि भैँसीपालन कार्यक्रम’ लागू गर्न लागेको हो।
केन्द्रका प्रमुख चन्द्रकान्त पन्तका अनुसार उक्त कार्यक्रम आगामी महिनादेखि धनगढी उपमहानगरपालिका, गोदावरी, गौरीगङ्गा, टीकापुर र लम्कीचुहा नगरपालिकासहित जोशीपुर, बर्दगोरिया, जानकी र मोहन्याल गाउँपालिकामा सञ्चालन गरिनेछ।
कार्यक्रमका लागि रु दुई करोड २५ लाख बजेट विनियोजन गरिएको छ। भैँसीपालनलाई प्रवर्द्धन गर्दै स्वस्थ पाडापाडी उत्पादन, दूध तथा मासु निर्यात बढाउने, युवालाई पशुपालनतर्फ आकर्षित गर्ने र किसानको आम्दानी वृद्धि गर्ने लक्ष्य राखिएको केन्द्रले जनाएको छ।
प्रमुख पन्तले भैँसीपालक किसानको उत्पादन वृद्धि गरी उनीहरूको जीवनस्तर सुधारमा सहयोग पुर्याउने कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनुभयो। यसबाट विशेषगरी साना कृषकसमेत प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।
कार्यक्रमअन्तर्गत माउ भैँसी खरिदमा सहयोग, सामुदायिक पशु प्रजनन केन्द्र स्थापना, गोठ निर्माण तथा सुधार, आहार व्यवस्थापनलगायतका क्षेत्रमा अनुदान उपलब्ध गराइनेछ। अनुदान प्राप्त गर्न कृषक समूह वा महिला कृषक समूहमा आबद्ध भई कम्तीमा १० वटा भैँसी पालन गरेको हुनुपर्ने व्यवस्था गरिएको छ।












