काठमाडौं । नयाँ संसद्को शपथ ग्रहणको पूर्वसन्ध्यामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले धार्मिक आस्थामा आधारित दर्शन गरेका छन्। बिहीवार बिहान राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीसहित सांसद खुश्बु ओली, भरत गिरी र सरस्वती लामाले पशुपतिनाथ मन्दिरमा पूजा अर्चना गरेका छन्।
दर्शनपछि सञ्चारकर्मीलाई सम्बोधन गर्दै नेता शाहीले भने, “हामी यहाँ भगवान् पशुपतिनाथको दर्शन र प्रार्थनाका लागि आएका हौँ, ताकि जानेर वा नजानेर कुनै गलत काम नगरौं।” उनले आगामी दिनमा संसद्को माध्यमबाट हिन्दु राष्ट्र पुनःस्थापना गर्ने आफ्नो अठोट पनि दोहोर्याए।
राप्रपा लामो समयदेखि नेपाललाई पुनः हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने माग गर्दै आएको छ। यसै एजेन्डालाई अघि बढाउँदै सांसदहरूले संसद् प्रवेशअघि धार्मिक स्थलमा पुगेर आशीर्वाद लिएका हुन्।












