काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आगामी वर्षको फागुन मध्यमा गर्ने प्रस्ताव गरिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षले कार्यतालिका ल्याउन माग गर्दै लगातार केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेपछि संस्थापन पक्षले महाधिवेशनको प्रारम्भिक खाका तयार पारेको हो । लगातार तीन बैठक बहिष्कार गरेपछि संस्थापन पक्षले मौखिक रूपमा मिति र कार्यतालिका प्रस्ताव गरेको छ । आइतबारको कार्यसमितिको बैठकले राधेश्याम अधिकारी नेतृत्वको निर्वाचन समितिलाई पुस १५ भित्रै कार्यतालिका ल्याउन निर्देशन दिएपछि उसले प्रारम्भिक चरणको रूपरेखा बनाएको छ ।
सभापति शेरबहादुर देउवा समूहभित्र प्रारम्भिक रूपमा तयार पारिएको महाधिवेशनको कार्यतालिकामा २०७७ साल फागुन १५ गते पार्टीको १४औँ महाधिवेशन गर्ने प्रस्ताव गरिएको छ ।पार्टीको विधानअनुसार सामान्य अवस्थामा चार वर्षमा महाधिवेशन हुनुपर्ने र त्यो अवधिमा नभए अर्को एक वर्ष थप्न सकिने व्यवस्था छ । देउवाको चार वर्षे कार्यकाल २०७६ फागुन १९ गते सकिने भए पनि उनले थपिने एक वर्षे कार्यकालको पनि चार दिन मात्र बाँकी रहने गरी महाधिवेशनको कार्यतालिका पेश गर्न लागेका हुन् ।

यद्यपि लिखित रूपमा भने तत्काल कार्यतालिका पेश नगर्ने संस्थापन पक्षको तयारी छ ।कांग्रेसको अधिवेशनको प्रक्रिया २०७७ साल भदौ महिनादेखि मात्र सुरु गर्नेगरी प्रस्ताव गरिएको छ । जसमा दसैँ तिहार अगाडि गाउँ तथा नगरपालिकाको अधिवेशन सक्ने प्रस्ताव गरिएको छ । त्यस्तै दसैँ तिहार लगत्तैपछि क्षेत्रीय अधिवेशन, पुसको पहिलो हप्ताभित्र जिल्ला अधिवेशन र पुस १५ गते प्रदेश अविधेशन सकेर फागुन १५ गते महाधिवेशन हुने उल्लेख गरिएको छ । यसविषयमा असन्तुष्ट बनेका पक्षसँग संस्थापन पक्षले निरन्तर छलफल गरिरहेको छ ।
यद्यपि वार्ता सकरात्मक भएको दुवै पक्षका नेताहरूले बताएका छन् । तर, कसैले पनि महाधिवेशनको तालिकाका विषयमा धारणा सार्वजनिक गरेका छैनन् । ‘प्रस्तावित कार्यतालिका बारे पहिला संस्थापन पक्षभित्र छलफल हुनेछ’, एक नेताले भने, ‘संस्थापन पक्षमा कुरा मिलेपछि वरिष्ठ नेता पौडेल र सिटौला पक्षसँग छलफल गरेर केन्द्रीय कार्यसमिति बैठकमा पेश हुनेछ ।’ असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउन संस्थापन पक्षले बिहीबारदेखि नै निरन्तर प्रयास जारी राखेका छन् । शनिबार देउवा आफैँले वरिष्ठ नेता पौडेलसँग कुराकानी गरेका थिए भने त्यसपछि उपसभापति विमलेन्द्र निधिले विवाद सुल्झाउन कोसिस गरिरहेका छन् ।
उनले आइतबार र सोमबार प्रकाशमान सिंहसँग भेट गरेर सहमतिको प्रयास गरेका थिए । महाधिवेशनको कार्यतालिका आएको खण्डमा पौडेल पक्षले पार्टीको विभाग बढाउने प्रस्तावलाई समथर्न गर्ने आश्वासन दिएको छ । सहमतिको लागि भन्दै सभापति देउवाले सोमबारका लागि बोलाएको बैठक मंगलबारसम्मका लागि स्थगित गरिदिएका छन् ।
यसबीचमा दुवै पक्षबीच छलफल भने जारी रहेको छ । तर, देउवाले तरुण दल र नेपाल विद्यार्थी संघको नेतृत्व भने आफूले नै छान्ने अडान पार्टीभित्र लिएका छन् । यी दुई मध्ये एक आफू पक्षलाई दिनुपर्ने पौडेल समूहको दाबी रहेको छ । यसविषयमा समेत कुरा मिल्न सकेको छैन । जसले गर्दा प्याकेजमै सहमति खोजिको प्रयास भइरहेको नेताहरूले बताएका छन् । सौर्य दैनिकबाट












