२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा र भैरहवा विमानस्थल सञ्चालनमा ल्याउन सकिनः मन्त्री सिन्हा



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन आफूले चाहेर पनि सक्न नसकेको बताएका छन्। बिहीबार कानून मन्त्रालयमा आयोजित विदाई कार्यक्रममा मन्त्री सिन्हाले पर्यटन मन्त्रालय सम्हालेको अवस्थामा अत्यन्त अव्यवस्थित अवस्था पाएको र ठूला पूर्वाधार भए पनि सञ्चालनका लागि स्पष्ट र कार्यान्वयनयोग्य योजना अभाव रहेको बताए।

उनले पोखरा र भैरहवा गरे सञ्चालनका लागि कार्ययोजना र सुझाव तयार गरेको भए पनि निर्वाचनका कारण ठोस रूपमा कार्यान्वयन गर्न नसकेको उल्लेख गरे। त्यस्तै, युरोपियन युनियनको कालोसूचिमा रहेको नेपालको हवाई क्षेत्र सुधारका लागि आवश्यक काम सुरु भइसकेको र नागरिक उड्डयन प्राधिकरण सुधारको मार्गमा अघि बढ्न थालेको जानकारी दिए। युरोपियन युनियनका आवासीय राजदूतले पनि नेपाललाई कालोसूचिबाट हटाउने विषयमा सकारात्मक जवाफ दिएको उनले बताए।

मन्त्री सिन्हाले काठमाडौंमा हेलिकोप्टर चालकका लागि तालिम सञ्चालन गरिएको पनि उल्लेख गर्दै, यसअघि विदेश जानुपर्ने बाध्यता रहेको समयमा स्वदेशमै तालिम उपलब्ध हुनु ठूलो उपलब्धि भएको बताए । उनले आगामी सरकारले निरन्तरता दिए हवाई सुरक्षासम्बन्धी समस्याहरू छिट्टै समाधान हुने विश्वास व्यक्त गरे।

सिन्हाले पशुपति क्षेत्र विकास कोष र लुम्बिनी विकास कोषलाई सुधार गर्नका लागि पनि कार्ययोजना बनाएको जानकारी दिए । उनका अनुसार, आगामी सरकारले सहयोग पाउनेगरी कार्य सम्पन्न गर्न प्रयास गरिएको र वर्तमान सरकारले पूर्ण उपलब्धि हासिल नगरे पनि सकरात्मक वातावरण तयार पार्न भूमिका खेलेको छ।