काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिने भएको छ ।
स्वास्थ्य परीक्षणपश्चात ओलीलाई २ नम्बर गणमा लगिने छ भने लेखकलाई यसअघि नै पुर्याइसकिएको प्रहरी स्रोतले जनाएको छ ।
एमाले अध्यक्ष ओलीलाई आज बिहान भक्तपुरस्थित गुण्डुबाट पक्राउ गरेर भद्रकालीस्थित जिल्ला प्रहरी परिसर कार्यालयमा एकछिन राखेर स्वास्थ्य परीक्षण गर्न त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको थियो ।
स्वास्थ्य परीक्षण पछि ओलीलाई २ नम्बर गणमा लगिने जनाईएको छ । यसैगरी पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित घरबाट प्रहरीले पक्राउ गरेको थियो ।
जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा उहाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
आज शनिबार भएकोले ओली र लेखकलाई आइतबार मात्रै अदालत पेस गर्ने प्रहरीले जनाएको छ ।












