३ असार २०८३, बुधबार
,
Latest
रास्वपा महाधिवेशनः राजनीतिसँगै पर्यटनको सङ्गम बन्दै चितवन हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन्ः उद्योगमन्त्री काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान रौतहटमा सडक दुर्घटनाबाट हुने मानवीय क्षति घट्यो, चालु आवमा ४८ जनाको मृत्यु चिया निर्यातको समस्या समाधानमा कूटनीतिक प्रयास जारी छः उद्योगमन्त्री गौरीकुमारी काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन वैदेशिक रोजगार सुधारसँगै आन्तरिक रोजगारी विस्तारमा सरकारको ध्यान सञ्चार क्षेत्रको सुधार र पूर्वाधार विस्तारमा सरकारको सक्रियता, ७७ वटै सदरमुकाममा एफटीटीएच सेवा साना किसान र युवा स्वरोजगार प्राथमिकतामा रहेको मन्त्री चौधरीको भनाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिचान, इतिहास र संस्कृतिको खोजमा राजवंशी ठाकुर समुदाय



अ+ अ-

काठमाडौं । थारु जातिभित्रको राजवंशी ठाकुर समुदायले आफ्नो भाषा, संस्कृति र इतिहासको संरक्षण तथा अनुसन्धानलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम अघि बढाउने भएको छ ।

कृष्णपुर नगरपालिका–६ सिंगपुरमा आज बिहान सम्पन्न समाजको तेस्रो जिल्ला सम्मेलनले समुदायको पहिचान सुदृढ गर्दै वंशावली अभिलेखीकरण, बसाइँसराइको इतिहास खोजी तथा सांस्कृतिक दस्तावेजीकरणमा जोड दिइएको हो ।

कार्यक्रममा राजवंशी ठाकुर समुदायको उत्पत्ति, परम्परा, संस्कार, पोसाक, पूजा–पद्धति तथा जीवनशैलीबारे अध्ययन र अनुसन्धान गर्ने विषयलाई विशेष महत्व साथ अगाडि बढाइने समाजका सचिव वीरबहादुर राजवंशीले बताए  ।

“भावी पुस्तामा भाषा, लोककथा, लोकगीत तथा सांस्कृतिक मूल्य मान्यतालाई हस्तान्तरण गर्ने योजनासमेत अघि सारेका छौँ”, उनले भने, “समुदायको उद्गमस्थल, घरानागत विवरण तथा बसाइँसराइका कारणहरू पहिचान गरी व्यवस्थित अभिलेखीकरण गर्ने र ती सामग्रीलाई औपचारिक रूपमा दस्तावेज तथा प्रकाशन गरी सार्वजनिक गर्ने तयारी गरेका छौँ ।”

त्यस्तै, सङ्गठनलाई सुदृढ बनाउँदै केन्द्रदेखि टोलस्तरसम्म संरचना विस्तार गर्ने, सदस्यता तथा आर्थिक स्रोत व्यवस्थापनलाई व्यवस्थित गर्नेलगायतका विषयमा पनि अधिवेशनमा छलफल गरिएको छ ।

कार्यक्रममा सहभागीहरूले राजवंशी ठाकुर समुदायको मौलिक पहिचान जोगाउन अनुसन्धान, अभिलेखीकरण र सांस्कृतिक संरक्षण अपरिहार्य रहेकोमा जोड दिएका छन्  ।

‘भाषा, संस्कृति र इतिहासको प्रवद्र्धन, राजवंशी ठाकुर समाजको तेस्रो जिल्ला सम्मेलन’ भन्ने मूल नारासहित आयोजित अधिवेशनमा समुदायको पहिचान सुदृढ गर्दै वंशावली अभिलेखीकरण, बसाइँसराइको इतिहास खोजी तथा सांस्कृतिक दस्तावेजीकरण गर्ने निर्णय गरिएको समाजका अध्यक्ष जोगराम चौधरीले बताए ।

उनका अनुसार, अधिवेशनले सङ्गठनलाई केन्द्रदेखि टोलस्तरसम्म विस्तार गर्ने, सदस्यता तथा नवीकरणमार्फत कोष सुदृढ गर्ने निर्णय गरेको छ । अधिवेशनमा समाजका बुद्धिजीवी, अनुसन्धानकर्ता, जनप्रतिनिधि तथा समाजका अगुवाहरूको सहभागिता रहेको थियो ।