२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वप्रधानमन्त्री ओली र लेखकमाथिको धरपकडप्रति प्रेस चौतारीको गम्भीर आपत्ति



अ+ अ-

काठमाडौं । पत्रकारहरुको अग्रणी संगठन संगठन प्रेस चौतारी नेपालले नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता पूर्वगृहमन्त्री रमेश लेखकमाथि नवगठित सरकारले गरेको धरपकडप्रति गम्भीर आपत्ति जनाएको छ ।

संगठनका अध्यक्ष गणेश पाण्डेले शनिबार एक विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकमाथि नवगठित सरकारले गरेको धरपकडप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

अध्यक्ष पाण्डेले विधिको शासन तथा कानुनी राज्यको सम्मान गर्दै पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई तत्काल रिहा गरी देशलाई मुठभेठमा जाने अवस्थाको अन्त्य गर्न पनि सरकारसँग माग गरे ।

‘२०८२ भदौ २३ गतेको प्रदर्शनका क्रममा भएको जनधनको क्षति सम्बन्धमा निष्पक्ष छानबिन गर्ने र भदौ २४ गते भएको प्रदर्शनीलाई विध्वंशात्मक बनाउन भएको घुसपैठ, राष्ट्रिय तथा व्यक्तिगत सम्पत्तिमाथिको आक्रमण लुटपाट तथा आगजनी, सञ्चारमाध्यम तथा सञ्चारकर्मीका व्यक्तिगत सम्पत्तिमाथि आक्रमण, तोडफोड र लुटपाटका घटनाहरुको निष्पक्ष छानबिन हुनुपर्ने पक्षमा प्रेस चौतारी नेपाल सदैब अडिग छ । अहिले पनि सञ्चारकर्मीमाथि देशभर धम्की र असुरक्षाको वातावरण छ । यस्तो अवस्थालाई नजरअन्दाज गरी गौरीबहादुर कार्की आयोगको प्रतिवेदन तयार भएको छ । अतः कानुनविद् र नागरिक समाजका अगुवाहरुको प्रतिक्रियालाई समेत वेवास्ता गर्दै कार्की आयोगको पूर्वाग्रही प्रतिवेदनलाई अध्ययनबिना प्रतिशोधात्मक रुपमा कारबाहीमा लैजाने मन्त्रिपरिषद्को निर्णय निषेधकारी, पूर्वाग्रही र प्रतिशोधपूर्ण छ ।’ विज्ञप्तिमा भनिएको छ ।

प्रेस चौतारीले राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, कानुनी राज्य र प्रेस स्वतन्त्रताको पक्षमा संगठन दृढ रहेको उल्लेख गर्दै जीवनभर लोकतन्त्रका लागि संघर्ष गरेका नेता ओली र लेखकमाथिको धरपकड ‘वचकना खेल’ मात्र भएको ठहर गरेको छ ।

‘प्रेस चौतारी नेपाल राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, कानुनी राज्य तथा प्रेस स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिँदै आएको छ । यसर्थ, जीवनभर लोकतन्त्र तथा जनताको अधिकार स्थापनामा लडेका नेकपा (एमाले)का अध्यक्ष ओली र कांग्रेस नेता लेखकमाथिको धरपकड वचकना खेल मात्र भएको हाम्रो ठहर छ । सरकार तथा शक्ति हातमा भएको निकाय वा व्यक्तिले स्वेच्छाचारी ढंगले गरिने कारबाहीले देशलाई अन्तहीन द्वन्द्वमा लैजाने अवस्था सिर्जना हुन्छ । यसैले विधिको शासन तथा कानुनी राज्यको सम्मान गर्दै ओली र लेखकलाई तत्काल रिहा गरी देशलाई मुठभेठमा जाने अवस्थाको अन्त्य गर्न हामी सरकारसँग माग गर्दछौं । साथै, यस्ता गैरकानुनी र प्रतिशोधपूर्ण कार्यविरुद्ध गोलबद्ध हुन प्रेसजगत, नागरिक समाज, कानुनविद् तथा देशप्रेमी नागरिकहरुलाई आह्वान गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।