काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई आल म्याद थपका लागि जिल्ला अदालतमा पेश गरिदै छ ।
जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा उहाँलाई शनिबार पक्राउ गरिएको थियो ।
प्रहरीको थुनामा राखेर अनुसन्धान गर्न जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ हुँदै जिल्ला अदालत काठमाडौँ पेस गर्ने छ। । प्रहरीले ओली र लेखक दुवै जनालाई २४ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न मिल्ने कानुनी व्यवस्था छ ।
कार्की आयोगले ओली र लेखकमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा १८१ र दफा १८२ अनुसार ज्यानसम्बन्धी कसुरमा अनुसन्धान र अभियोजन सिफारिस गरेको छ । दफा १८१ मा लापरबाहीपूर्ण काम गरी ज्यान मार्न नहुने कसुर र १८२ हेलचेक्य्राइँ गरी ज्यान मार्न नहुने कसुर उल्लेख छ ।
लापरबाहीपूर्ण काम गरी ज्यान मार्न नहुने कसुरमा तीनदेखि १० वर्षसम्म कैद र ३० हजारदेखि एक लाख रुपियाँसम्म जरिबाना हुने प्रावधान छ ।
पक्राउ पछि नेता लेखकलाई नेपाल प्रहरीले पक्राउ गरी २ नं गण महाराजगञ्जमा राखेको छ भने ओलीलाई त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख रामहरि काफ्लेले आइतबार सुरुमा अदालतबाट जरुरी पुर्जीको समर्थन गराउने र त्यसपछि मात्र अन्य प्रक्रियामा जाने जानकारी दिनुभयो ।
यता ओली र लेखकका तर्फबाट वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई लगायत कानून व्यवसायीहरुले गैर कानूनी रुपमा पक्राउ गरिएको दाबी गर्दे सर्वोच्च अदालतमा रिट दर्ताको तयारी गर्नुभएको छ ।












