३ असार २०८३, बुधबार
,
Latest
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, भुवनको अग्रता कायमै झलनाथले मागे प्रचण्ड र माधवको राजीनामा-पत्रसहित कुटनीतिक पहलमार्फत चिया निर्यातमा देखएिको अवरोध हटाउन माग ‘नागरिक चौतारी’: सरकारलाई सिधै सुझाव दिन मिल्ने डिजिटल प्लेटफर्म कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण जीवी राई सहकारी घोटाला प्रकरणको अभियुक्त भन्दा पहिले नेपाली नागरिक हुन्, उनको अवस्थाबारे राज्य गम्भीर…
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा ‘बर्डफ्लु’ पुष्टि, १८ हजार बढी कुखुरा नष्ट



अ+ अ-

चितवन। चितवनमा पन्छीमा देखिने बर्डफ्लु (एच–फाइभ एन–वान) सङ्क्रमण पुष्टि भएको छ । यहाँको भरतपुर महानगरपालिका–४ स्थित एक व्यावसायिक लेयर्स फार्म तथा नजिकैको एक लोकल कुखुरा फार्ममा बर्डफ्लु पुष्टि भएको हो ।

पशु सेवा कार्यालय चितवनका प्रमुख डा प्रभात न्यौपानेका अनुसार देशको पूर्वी क्षेत्रमा देखिएको बर्डफ्लु हाल चितवनमा पनि पुष्टि भएको छ । उहाँले यस रोगले व्यावसायिक रूपमा पालिएका कुखुरामा प्रभाव पारेको र अन्य चराचुरुङ्गीमा समेत सङ्क्रमण फैलन सक्ने बताउनुभयो ।

उहाँका अनुसार भाइरसजन्य रोग भएकाले यसको नियन्त्रणका लागि जैविक सुरक्षा अपनाउनु अत्यन्त आवश्यक छ । घरमा वा व्यावसायिक रूपमा पालिएका हाँस तथा कुखुराको नियमित स्वास्थ्य परीक्षण, फार्मको सरसफाइ तथा आवतजावत नियन्त्रणमा विशेष ध्यान दिन किसानलाई उहाँले आग्रह गर्नुभयो ।

बर्डफ्लु देखिएको स्थानमा सङ्क्रमण नियन्त्रणका लागि करिब १८ हजार लेयर्स कुखुरा नष्ट गरिएको छ भने नजिकैको अर्को फार्ममा करिब ९०० लोकल कुखुरा नष्ट गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चितवनमा २०७८ सालपछि बर्डफ्लु यस वर्ष पहिलोपटक देखिएको हो र हालसम्म अन्यत्र फैलिएको छैन ।” अघिल्लो पटक २०७८ सालमा बर्डफ्लु फैलँदा जिल्लामा करिब आठ लाख कुखुरा नष्ट गरिएको थियो ।

राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला चितवनका प्रमुख डा विजयकुमार श्रेष्ठका अनुसार हालसम्म अन्य स्थानमा बर्डफ्लु पुष्टि नभए पनि जिल्लामा जोखिम भने कायम छ । उहाँले रोग विभिन्न माध्यमबाट सजिलै सर्न सक्ने भएकाले यसको न्यूनीकरणका लागि उच्च सतर्कता अपनाउन आग्रह गर्नुभयो ।

फार्महरूबीच सामग्री तथा अन्य वस्तुको ओसारपसार गर्दा विशेष सावधानी अपनाउन तथा किसानहरू सचेत रहन आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हाम्रो कुखुरापालन क्षेत्रको अवस्था नेटवर्किङजस्तै रहेको छ । एउटै सवारीसाधनले विभिन्न फार्ममा अण्डा सङ्कलन तथा दाना आपूर्ति गर्ने गर्छ । यसरी सङ्कलन र आपूर्ति गर्ने क्रममा सङ्क्रमित फार्मबाट स्वस्थ फार्ममा जाँदा भाइरस सर्नसक्ने जोखिम रहन्छ ।”

जिल्लामा गत आर्थिक वर्षको तथ्याङ्कअनुसार करिब एक करोड आठ लाख कुखुरा रहेको पशु सेवा कार्यालयले जनाएको छ । रासस