२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा ट्रान्स पार्टीमा छापा: ३८ जना नियन्त्रणमा, ८ जनासँग लागुऔषध बरामद



अ+ अ-

काठमाडाैँ । पोखरामा विदेशी नागरिकसँग मिलेर ट्रान्स पार्टी आयोजना गरेको आरोपमा प्रहरीले ३८ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–१८ सेदीस्थित फेवातालमाथि जंगल नजिकै रहेको एकान्त घरमा नेपाली तथा विदेशी नागरिक मिलेर रात्रीकालीन ट्रान्स पार्टी गरिरहेको अवस्थामा मंगलबार राति छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

लागुऔषधको प्रयोग तथा कारोबार भइरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट डिएसपी नवराज भट्टराईको नेतृत्वमा खटिएको टोलीले उक्त स्थानमा घेरा हालेर छापा मारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नविन कार्कीले जानकारी दिए।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएकामध्ये ८ जनासँग विभिन्न प्रकारका लागुऔषध फेला परेको छ। तीमध्ये एक जना इजरायली, दुई जना भारतीय र पाँच जना नेपाली नागरिक रहेका छन्।

प्रहरीले घटनास्थलबाट एमडीएमए, चरेस, कोकिन, खैरो हिरोइन, ‘आइस’ (एम्फेटामिनजस्तो पदार्थ), गाँजा, ‘म्याजिक मसरुम’ र एलएसडीसहित ९ प्रकारका लागुऔषध बरामद गरेको जनाएको छ। साथै धेरै व्यक्तिले मादक पदार्थ सेवन गरेको अवस्थामा समेत फेला परेको प्रहरीले बताएको छ।

प्रहरी उपरीक्षक कार्कीका अनुसार लागुऔषध फेला परेका व्यक्तिविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ भने अन्य व्यक्तिहरूको हकमा विगतको आपराधिक पृष्ठभूमि जाँच भइरहेको छ। आवश्यक प्रमाण पुगेका व्यक्तिविरुद्ध कानुनी कारबाही अगाडि बढाइने र संलग्नता नदेखिएकाहरूलाई छाडिने प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार उक्त घर बमेन्द्र पुनले स्थानीय कृष्ण पराजुलीबाट भाडामा लिएर ट्रान्स पार्टी आयोजना गरेका थिए।