२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँमा वैशाख १ देखि रात्रिकालीन सार्वजनिक बस सेवा, दुई रुटमा विद्युतीय बस सञ्चालन हुने



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले साझा यातायात सँगको सहकार्यमा आगामी २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने भएको छ। महानगरले शहरी यात्रुलाई सुरक्षित, सहज र सुलभ यातायात उपलब्ध गराउने उद्देश्यसहित यो सेवा सुरु गर्न लागेको हो।

महानगरका अनुसार रात्रिकालीन सेवा अन्तर्गत दुई वटा मुख्य रुट सञ्चालन हुनेछन्। पहिलो रुट ललितपुरको लगनखेलबाट सुरु भई पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल र गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म पुग्नेछ। यो उत्तर–दक्षिण दिशाको करिब १६ किलोमिटरको एकतर्फी रुट हो।

दोस्रो रुट थानकोटबाट सुरु भई सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन र तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म सञ्चालन हुनेछ। यो पूर्व–पश्चिम दिशाको करिब २० किलोमिटरको एकतर्फी दूरी समेट्नेछ।

यी दुई रुटमा सुरुमा चार वटा विद्युतीय बस सञ्चालन गरिने महानगरले जनाएको छ। सेवा प्रारम्भसँगै साँझ ८ बजेदेखि राति ११ बजेसम्म बस सञ्चालन हुनेछन् भने प्रत्येक २० मिनेटको अन्तरमा बस उपलब्ध हुनेछ।

महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल ले बेलुका ८ बजेपछि सार्वजनिक यातायातको अभावका कारण यात्रुहरूले महँगो यात्रा गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै त्यसलाई सुधार गर्न रात्रिकालीन सेवा सुरु गर्न लागिएको बताउनुभयो। उहाँका अनुसार सार्वजनिक यातायातको अभावले विशेषगरी महिला, किशोरी र विद्यार्थीहरू बढी प्रभावित भएका छन्।

सेवालाई अत्याधुनिक, सुरक्षित, भरपर्दो र दिगो प्रणालीका रूपमा विकास गर्ने लक्ष्य महानगरले राखेको छ। बसहरूमा सीसीटिभी क्यामरा जडान गरिनेछ भने यात्रुको सुरक्षाका लागि नगर प्रहरीको व्यवस्था गरिने जानकारी दिइएको छ।