२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनमत सरकार चलाउन होइन, व्यवस्था बदल्न हो : रवि लामिछाने



रबि लामिछाने
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो दललाई प्राप्त जनमत सरकार सञ्चालनका लागि मात्र नभई राज्य सञ्चालन प्रणाली र कार्यशैलीमा परिवर्तन ल्याउनका लागि भएको बताएका छन् ।

प्रतिनिधिसभाको पहिलो बैठकलाई बिहीबार सम्बोधन गर्दै उनले रास्वपाप्रति व्यक्त मतलाई जनताको आशा र असन्तोष दुवैको अभिव्यक्ति भएको उल्लेख गरे। उनका अनुसार जनताले परिवर्तनको अपेक्षासहित दिएको जनादेशलाई जिम्मेवारीपूर्वक आत्मसात् गर्दै त्यसको भावना अनुसार अघि बढ्नुपर्ने आवश्यकता छ ।

सभापति लामिछानेले रास्वपाले प्राप्त गरेको मत केवल समर्थन नभई परिवर्तनप्रतिको स्पष्ट संकेत भएको धारणा राखे। उनले सिंहदरबारको नेतृत्व गर्ने मात्र नभई यसको कार्यशैली नै रूपान्तरण गर्ने दायित्व जनताले आफ्नो दललाई दिएको बताउँदै सो जिम्मेवारीलाई इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले पार्टीका जनप्रतिनिधिहरूले अब शब्दभन्दा बढी काममार्फत आफ्नो भूमिका प्रमाणित गर्नुपर्ने समय आएको उल्लेख गरे ।सरकार र संसद्को काम नै जनतासमक्ष आफ्नो औचित्य स्पष्ट रूपमा देखाउने माध्यम बन्नुपर्ने उनको भनाइ थियो ।

सभापति लामिछानेले सुशासनका विषयमा कुनै पनि किसिमको सम्झौता नगर्ने स्पष्ट प्रतिबद्धता पनि व्यक्त गरे ।